रिक्शा म्यान

शनिबार, भदौ २३, २०७५

- अनल गौतम



वेलायती महिला म्यागी कुपर नेपालमा निकै लामो समय देखी ग्रामीण क्षेत्रका बिपन्न बालबालिकाहरुको लागी बिभिन्न कार्यक्रम गर्दै आईरहेको कुनै एक संस्था जसलाई आर्थिक सहयोग गर्ने कुनै अर्को बैदेशिक संस्थाको डोनर थिइन् ।

झण्डै ६० बसन्त अनि उत्तीकै शिशिर झेलिसकेकी झैं लाग्ने ति महिला अत्यन्त सालिन, भद्र र जिवनको त्यो कालखण्डमा पनि अति आकर्षक लाग्थीन ।

बेलायती भन्ना साथै गोरी हुने त भइ नै हालीन् । मोटो अनि ठिकैको उचाईको कद । छोटो खैरो कपाल । तेजीला निला आँखा अनि निकै चम्कीलो थियो उनको व्यक्तीत्व । बडो दिप्त तेज थियो उनको गोलो र उज्यालो मुहारमा ।

म्यागी र अर्कि एक करीब ३५ बर्षकी अत्यन्त सुन्दर बेलायती महिला तान्या स्मीथ, उनि पनि शायद डोनर नै थिइन् । उनको सौन्दर्यको बखान गरी साध्यै नै थिएन । असाध्यै राम्री थिईन उनि ।

हुनत मेरो उमेर नै के भएको थियो र त्यस्ता व्यक्तीहरुलाई देख्न वा भेट्न पाउन । त्यसैमाथी म नेपालको सानो अनि पिछडीएको शहरको मान्छे ,भर्खरै युवावस्थामा प्रवेश गर्न लागेकोले त्यस्ता व्यक्तीहरुलाई प्रत्यक्ष देख्ने सुअवसर कहाँ पाउनु र !

तापनी केहि महिना अघि देखी पर्यटनको क्षेत्रमा काम गर्न सुरु गरेको मैले आजका मिति सम्ममा देखेको मध्येमा सबैभन्दा सुन्दर थिईन उनी ।

उनीहरु संगको मेरो पहिलो भेट सन् १९९९ को जनवरीमा भएको थियो । जतीबेला उनीहरु प्हिलो पटक आफ्नो डोनेसन दिएको रकमको उपयोगीताको बारेमा अध्ययन गर्न नेपाल आएका थिए ।

हाम्रो भेट हुनु स्वभावीक थियो किनकि उनीहरु जुन संस्थाको निमन्त्रणामा आएका थिए । त्यस संस्थाले उनीहरुको बसाईको लागी म कार्यरत रहेको होटलमै प्रबन्ध गरेको थियो ।

जसै स्थानीय उक्त संस्थाका कर्मचारी संगै उनीहरु होटल भित्र छिरेर मेरो छेउ (फ्रन्ट डेस्क) आईपुगे मलाई कता कता कौतुहलता, उमंग, खुसी सबै एकै पटक हल्का तरंगीत भएको जस्तो भान भयो । भलै म उनीहरुलाई पहिलो पटक देख्दै थिए ।

अतिथि देबो भव: भन्ने हाम्रो नेपाली संस्कार । त्यस माथी पनि म पर्यटन क्षेत्र अन्र्तगत होटलमा काम गर्ने भएकोले उहाँहरुलाई स्वागत गरीनु त थियो नै । निकै हर्षित हुँदै बिशेष स्वागत गरीयो उनीहरु लाई वेलकम ड्रिंकको साथमा ।

न त धेरै सानो न त ठुलो, मध्यम स्तरको, म करीब ८/ १० महिना अघि देखी मात्रै फ्रन्ट अफिसमा कार्यरत रहेको उक्त होटलमा दैनिक हुने धेरै पाहुनाहरुको बीचमा करीब १० दिनको उनीहरु को बसाईको पुबार्ध मेरो निमित्त अन्य पाहुनाहरुको झैं सामान्य रह्यो ।

मनमा त केहि हलचल हुन्थ्यो नै उहाँहरुलाई देख्नासाथै तर पनि कुराकानी गर्न वा वहांहरु संग सम्बन्ध अघि बढाउन अवसर मिलिरहेको थिएन ।

होटेलको र आफ्नै अनुशासन अनि सम्मानको संस्कार बमोजिम बिहान बेलुकीको गुड मर्निङ र गुड ईभिनिङ को अभिभादनमा मात्रै सिमित बनिरहेको बेला उनीहरुको बसाईको उत्तरार्धताका भने मेरो सम्बन्ध अचानकै बडो सुमधुर र आत्मीय बन्न पुगेको थियो ।

उनीहरु आफुले सम्बन्धीत संस्थालाई प्रदान गरेको डोनेसनको रकमको व्यबस्थापनको बिषयमा निकै सचेत रहेको जस्तो लाग्यो ।

गाउँ गाउँ पुगी घुम्दै संस्थाले गरेका कार्यहरुको समिक्षा तथा अवलोकन गर्ने र बालबालिकाहरुसँग खेल्ने अनि उनीहरुलाई पढाउनमै व्यस्त रहन्थे ।

बालबालिकाहरुका लागी, कहाँबाट ल्याएका हुन् , थाहा भएन तर ठुला ठुला झण्डै बोरा जत्रा झोलाहरुमा पोको पारेर ल्याएका अनेकौं अनि भिन्न प्रकारका खेलौनाहरु बाँड्ने गर्दथे ।

उनीहरुको आँखामा बालबालिकाहरु प्रतिको माया र स्नेहको भाव प्रष्टै पढ्न सकिन्थ्यो ।

उनीहरुको आगमनको केहि दिनमा तान्या बिरामी परीन् ।

म्यागी सधैं र्निधारीत समयमा होटलबाट निस्कीन्थीन र उस्तै समयमा फर्कन्थीन ।

तान्या भने सन्चो नभएको कारण कतै पनि ननीस्की होटलको कोठा भित्र नै बसीरहेकी रहिछिन ।

पहिलो दिन त मैले ख्याल गरीन् तान्या बाहिर निस्के ननिस्केको । दोश्रो दिन म्यागी एक्लै बाहिर जाने अनि फर्कदा समेत एक्लै र्फकने गरेको देखेर सोधेको थिए । म्यागीलाई तान्या कहाँ छिन्, मैले देखेको छैन केहि दिन देखी भनेर ।

त्यसपछि बल्ल थाहा पाए म्यागीबाट । तान्यालाई सन्चो नभएकोले उनी होटलकै रुममा आराम गरीरहेकी छिन् ।

मलाई मन परेको मेरो पाहुनालाई सन्चो नभएको सुनेर निकै नरमाईलो लाग्यो ।

के भएको होला, कस्तो अवस्थामा छिन् । कतै निकै नै बिरामी भएकी त होईनन् भनेर चिन्ता लाग्नु स्वभावीकै थियो ।

थाहा पाउना साथै मन लाग्यो तुरुन्तै गएर उनलाई भेटी हालु । के भएको रहेछ भनेर उनको अवस्था बुझीहालु तर अहिले उनको साथमा म्यागी छिन ।

अहिले नै के सोध्नु भोली म्यागी निस्के पछि उनको रुममा नै गएर बुझ्नु पर्ला जस्तो लाग्यो ।

उनको दिनभरीको एक्लोपनामा केहि कमी आउला भन्ने लाग्यो ।

भोली पल्ट दिउसो लन्चको समयमा पुगें म ,तान्याको रुममा ।

ढोका हल्का केहि बेर नक गरीसकेपछि तान्याले बल्ल ढोका थोरै मात्रै खोलेर भित्रबाट टाउको मात्रै हल्का देखीने गरी चिहाएको शैलिमा “हु ईज दिस” भनिन् ।

मैले “इट्स मि म्याडम” भनेर परिचय दिएर उनको मुहार हेर्न खोजें ।

उनले आफ्नो रुमको पर्दा लगाएकी र बत्ती पनि नबालेकीले भित्र अध्यारो थियो । हत्तपत्त केहि देखीदैनथ्यो ।

उनले ढोका थोरै अरु खोलेर “ह्वाट हयाप्पेन ” भनिन् ।

म बल्ल केहि देख्न सक्थें उनलाई अब ।

ओहो, उनि त मात्रै तौलियामा, त्यो पनि आफ्नो शरीर लुकाउनको लागी मात्रै हातले छातीमा च्यापेको अवस्थामा पो रहिछिन् ।

झण्डै झण्डै नग्न अवस्थामा ।

मैले पहिलो पटक कुनै महिलालाई यो अवस्थामा देखेको थिएं । त्यस माथी मेरो कल्पना भन्दा बाहिरको कुरा , बिदेशी महिलालाई ।

फेरी राम्ररी उनीमा नजर पु¥याउनै सकिन । उनको त्यो अवस्थाको एकै झलकले मेरो आँखाको शक्ती क्षीण भएझैं भयो ।

एक त अर्धनग्न अवस्थामा उनको खाईलाग्दो शरीर , त्यस माथी पुरै फिजीएको खैरो गुन्द्रुके कपालमा । मैले सधैं देखेको तान्या भन्दा बिल्कुलै भिन्न अति सेतो, मानौं दुधमा थोरै रातो रंग वा मह मिसाएको जस्तो रगंको चम्कीलो देहको तेज अनि राता भएका उनका ठुला आंखा ।

म कता कता नर्भस हुन पुगें ।

उनको यो अवस्थामा मैले उनको रुममा पुगेर उनलाई बोलाउंदा डिस्टर्ब गरेको महसुस भयो ।

नआउनु आई त सकियो । नबोलाउनु बोलाई त सकियो । यत्तिकै फर्कनु पनि त भएन तर मैले न त उनको मुहारमा हेर्न सकें न त उनको अति आकर्षक, पुष्ट, अर्धनग्न कामुक शरीरमा नै ।

जसोतसो बल्ल तल्ल आफ्नो हेराईको सन्तुलन मिलाउँदै सोधें, “आई एम सो सरी टु डिस्टर्ब यु म्याडम बट आई हर्ड यु आर नट वेल सो आई जस्ट वान्टेड टु सि यु” भनें ।

उनी मेरो कुराबाट वा मेरो उपस्थीतीले किञ्चित  पनि खुसी देखीइनन् ।

उनले “नो इट्स ओके, आई एम गुड” भन्दै ढोका लगाउन खोजिन् ।

उनी  होटलको रुममा नै ३ दिन देखी कतै ननीस्की बसीरहेर पनि कुनै खाने कुरा खाएको थाहा पाईन मैले ।

उनले कुनै खाना नै अर्डर गरेकी थिईनन् ।

त्यसैले उनले झर्को मान्दा मान्दै पनि ढोका पुर्ण रुपमा नलाग्दैं मैले म्याडम “मे आई सेन्ड यु समथिङ टु इट योर ड्रिंक” भनि सोधें ।

उनले केहि झर्किएको शैलीमा “नो, आई डन्ट निड एनिथिङ ” भन्दै ढोका बन्द गरीन् वा सायद उनले बोली सक्दा नसक्दै ढोका बन्द भईसकेको थियो ।

मलाई निकै नमज्जा लाग्यो ।

उनको रुममा जानु वा उनलाई बोलाउनुमा मेरो कुनै गलत उद्देश्य वा नियत थिएन ।

मैले त सन्चो नभएको मेरो पाहुनालाई केहि केयर गर्न खोजेको पो थिएं त । किन उनि यसरी कठोर बनेकी होलीन भन्ठान्दै म नमज्जा मान्दै फर्केर आफ्नो कार्यतर्फ लागें ।

म सोच्दै थिए, म पक्कै उनको रुममा गलत समयमा गएको उनलाई मन परेन । एक पटक उनको रुममा फोन गरेर जानु पर्ने म पनि यत्तीकै गएछु ।

उनले त्यसबेला म प्रति जे जस्तो व्यवहार गरेता पनि मैले आफुले भने सक्दो हेरचाह गर्ने कोसिस भने गरीरहें ।

उनलाई के भएको थाहा पाउन सकिन तर केहि न केहि कारणले पक्कै बिरामी भएकी थिईन् ।

बिरामी पर्दाको समय भएकोले मैले उनको रुममा उनले अर्डर नगर्दा पनि जुस तथा सुपहरु पठाईरहन्थें बेला बेलामा ।

यस्तो गर्नु मेरो कर्तव्य पनि थियो । मेरो पाहुना भएको नाताले र सायद एक किसीमले उनि प्रतिको मेरो आकर्षणको कारण पनि ।

मैले उनको रुममा पठाएका सबै खानेकुराहरु “नो आई डिड नट अर्डर, टेक इट व्याक” भन्दै र्फिता पठाउंथिन् ।

आफ्ना आफन्त कोहि नभएको अन्जान , ठाउंमा बिरामी हुँदाको अवस्था भएको ठानी मैले उनको त्यो बतार्वलाई सामान्य रुपमा लिन थालें तर उनलाई के भएको होला भन्ने कौतुहलता र उनि प्रतिको चिन्ता क्रमश बढदै गयो ।

म्यागी बाहिर संस्थाकै काममा मलाई “गुड मर्निङ ” भन्दै निस्कन्थीन  ।

बिहान ब्रेकफास्ट गरेर र साँझमा मात्रै र्फकन्थीन तर तान्यालाई मैले नदेखेको केहि दिन भईसकेको थियो ।

उनी एक्लै पर्थिन दिनभरी । आफ्नो कोठामै रहन्थीन ।

शायद बेलायतीहरु सकेसम्म आफ्नो कुरा आफैमा मात्र सिमीत राख्न चाहन्छन् । अन्य व्यक्तीहरु संग खुलीहाल्दैनन् वा विश्वास गरीहाल्दैनन् हम्मेसी ।

त्यसैले पनि होला उनी मसँग त्यत्ती सहज रुपले प्रस्तुत भइनन् । मैले उनको हेरचाह गर्ने कोशिस गर्दा गर्दै पनि खुल्न चाहिनन् ।

यस्तै घटनाहरु हुँदाहुँदै केहि दिनमै उनि स्वस्थ भइ सकिछिन् ।

केहि दिन पछि बिहान म्यागीसँगै तान्या पनि बाहिर जाने क्रममा देखा परिन् । उनले मलाई देख्नासाथै मुसुक्क मुस्कुराउँदै “गुड मर्निङ” भनिन् ।

म उनको खुलेको मुहार देखेर खुब खुसी भए र उनको अभिवादनको कारण अचम्भीत पनि ।

अब उनि मसँग राम्रो व्यवहार गर्न थालेको जस्तो लाग्यो ।

उनी सन्चो भईसकेपछि भने केहि खुल्न र बोल्न थालीन म सँग । उनलाई उनी बिरामी पर्दाको बेलामा मेरो आतीथ्यको प्रभाव हुनु पर्छ पक्कै पनि ।

उनीहरुको यहाँको बसाईको उत्तरार्ध तथा प्रस्थानको समयताका हामी निकै नजिक भएका थियौं । उनीहरुले म प्रति देखाएको सदभाव र प्रेम देखेर म गदगद भएको थिए ।

हाम्रो सम्बन्ध राम्रो बन्नै लाग्दा सम्ममा त उनीहरुको फर्कने समय पो भईसकेछ ।

उनीहरु औधि खुसी भएका रहेछन् मेरो व्यवहार देखेर ।

भर्खर १८ बर्षको ठीटो मलाई उनीहरुले औधि स्नेहका साथ अकंमाल गर्दै म सँगै धेरै फोटो तथा भिडीयो खिचाई केहि उपहारहरुका साथमा आ आफ्ना ठेगाना छोडेर मलाई नियमित रुपमा सम्पर्कमा रहन भन्दै पुन छिट्टै भेट्ने बाचा गर्दै फर्किए उनिहरु बडो भावुक हुदै ।

तान्याले त उनको ईमेल ठेगाना दिएकी थिइनन् तर म्यागीको ईमेल ठेगाना भएकोले म्यागीलाई ईमेल गरेको थिए उनीहरु फर्केपछि ।

म्यागीले मेरो ईमेलको जवाफ एक पटक फर्काइन । आफुहरु घर आईपुगेको अनि आफुसँगै उनको घरमा रहेका २ वटा बिरालाहरु पनि स्वस्थ्य छन भन्दै ।

उनको बिरालो प्रतीको मोह देखेर छक्क पर्दै थिए म ।

त्यसपछि पठाईएका मेरो पछिल्लो ईमेलहरुको जवाफ भने फर्काइनन् उनले ।

समय यस्तै त हो बित्दो छ र बित्दो थियो ।

मैले आफुमा पनि निकै परिर्वतनको महशुस गर्दै थिए बिस्तारै बिस्तारै ।

अर्को बर्ष करीब उस्तै समयमा, सन् २००० मा म्यागीको पुन नेपाल आगमन भयो । मलाई उनी पहिला आएकै संस्थाबाट एक जना बिदेशी पाहुना आउनुहुन्छ भनेर रुम बुक गराईएको थियो तर पाहुनाको नाम भने खुलाईएको थिएन् ।

करीबन बेलुकी पख अचानक उनलाई आफ्नो आँखा अधि देखेर म खुब खुसी भए । मेरो खुसीको कुनै सिमा नै रहेन ।

उनि पनि मलाई देखेर दंग परीन् । अंकमाल गरीन् होटलको फ्रन्ट डेस्कमै ।

केहि पल आलिंगनमै बितायौं हामिले ।

मैले मेरो पछिल्लो ईमेलको जवाफ नफर्काएकीमा केहि गुनासो पनि व्यक्त गरीहालें । उनले आफ्नो ईमेलको पासवर्ड बिर्सेकीले अर्को ईमेल ठेगाना बनाएको त्यसैले जवाफ दिन नपाएको भनिन् ।

उनले सोचेरै आएकी रहीछीन मलाई भेट हुन्छ कि हुन्न ? मैले यो होटलको जागीर छोडी सकें की कतै भनेर अलि चिन्तीत पनि थिईन रे ।

मलाई देखे पछि उनको सारा चिन्ता हटेको महशुस मैले पनि गर्न सक्दथें ।

मेरो आँखा र मनले म्यागी संगै तान्यालाई पनि खोज्दै थियो तर यसपाली म्यागी एक्लै आएकी आएकी रहिछिन् ।

मैले सोधें म्यागीलाई किन आईनन् तान्या यस पाली भनेर ।

उनले केहि जिस्काएको जस्तै आँखा सन्काउँदै हाँस्दै भनिन्  । उनको अहिले अर्को काममा भएकोले आउन भ्याईनन् र उनको नयाँ व्याईफ्रेण्डले आउन अनुमती पनि दिएन रे ।

म छक्क परें उनको कुराले ।

नेपालको पनि पिछडिएको शहरको ठिटो म । मलाई देश दुनियाँको खबर केहि थाहा छैन । वास्तवमा संसार यति अघि बढीसकेको रहेछ । मान्छेमा स्वतन्त्रताको लहर यो मात्रामा छाईसकेछ ।

म्यागीलाई मैले नै रिसीभ गरेर आफैंले रुममा लगें ।

उनलाई होटलको दोश्रो तल्लामा रहेको उनि पहिला बसेको रुम नै प्रीय थियो त्यसैले त्यहि रुममा नै लगेर बसाए ।

हामि दुबैले उनको रुममा बसी भलाकुसारी गर्दै सँगै कफी पियौं ।

उनलाई फ्रेस हुनको लागी उनलाई कोठामा छोडेर आफ्नो काममा आए ।

उनि केहि बेर लगाएर फ्रेस भईसकेपछि बेलुकिको डिनर पनि सँगै लियौं ।

उनले मेरो लागी म्युजीक क्यासेट, कार्ड अनि अरु के के उपहार पनि ल्याएकी रहिछिन् ।

म सँग के नैै थियो र उनलाई दिन अहिले तर आदर सत्कारका साथ माया छदै थियो जसमा मैले कुनै कसर बाँकी राखिन् ।

उनको अत्यन्त व्यस्तताको करीब १ हप्ताको बसाईमा मसँगको सामिप्यता निकै नै बढेर गयो । सायद पहिलो बसाईको प्रभाव नै हुनु पर्दछ ।

अब उनि आफ्नो मनको कुराका साथै आफ्नो घरायसी कुराहरु समेत सम्पुर्ण रुपमा समेत मसँग खुलस्त रुपमा गर्ने भएकी थिईन् ।

मैले उनलाई झण्डै आफ्नै आमाको स्थान दिएको थिए । यो सम्बन्धले म मा निकै उत्साह थपेको थियो ।

उनि यस पटक मेरो बारेमा निकै सोध खोज गर्न थालेकी थिईन् ।

मेरो परिवारको बारेमा समेत सम्पुर्ण जानकारी राख्न चाहान्थिन ।

मलाई माया गर्नुका साथै मेरो केहि कुराहरुको ख्याल समेत गर्न थालेकी थिईन । मलाई धेरै कुराहरु सम्झाई रहन्थीन ।

मलाई उनि मेरो पाहुना नभै मेरो अभिभावक झैं लाग्दैथियो । मलाई देश दुनियांका अनेक उदाहरणहरु दिंदै यो सानो शहरबाट उम्केर बाहिर निस्कन उकास्दै थिईन् ।

म सधै बिहानै होटल आईसकेको हुन्थें । उनि बाहिर निस्कन तयार भैसकेपछिको बिहानको कफी हामि सँगै पिउथ्यौं भने आफ्नो काम सकेर आएपछि कहिले काहिँ बेलुकीको डीनर समेत म सँगै लिने गर्थिन होटलमै ।

उनी एक पटक मेरो घर जान चाहान्थिन । शायद मेरो घर हेर्न चाहन्थीन । मेरो बारेमा अझै धेरै जान्न चाहन्थिन ।

उनले पहिला पनि अप्रत्यक्ष रुपमा नभनेकी त होईनन् तर यस पाली भने आजको हाम्रो बिहानको कफीको समयमा खुलेरै आफुलाई मेरो लैजान भनिन् ।

मेरो घर निकै पुरानो थियो जहाँ म कसैलाई पनि लैजान चाहन्नथें ।

यसपाली भने के भयो कुन्नी मैले तुरुन्तै मेरो घरमा भोलीपल्टको बेलुकीको खानाको निमन्त्रणा दिइ पो हालें ।

उनले खुसी हुदैं मलाई बाई गर्दै आफ्नो काममा निस्कीन् ।

उनलाई भोली घरमा डिनर पश्चात दिनका लागी मैले उनका लागि तुरुन्तै बाँसको अत्यन्त कलात्मक कृती उपहार बनाउन लगाए । जो मैले नै डिजाईन गरेको थिए मेरा बिषेश पाहुनाहरुको निमित्त ।

एक जना राई मित्रले कलात्मक शैलीमा तयार गर्नु हुन्थ्यो मेरा बिबिध डिजाईनहरु तर उनको लागी तयार गर्न लगाएको यो डिजाईन भने राईजिले अन्यका कसैको लागी पनी बनाउनु हुन्न थियो किनकी बिशेष डिजाईन थियो यो मेरो आफ्नो नेपाल र नेपालीपन झल्कने ।

यहि उपहार मेरा खास दिल्ली र अर्को काठमाण्डौंका पाहुनाहरुलाई पठाईसकेको थिए यस भन्दा अघि पनि ।

म बेलुकी पख म्यागीलाई कुर्दै थिए घर जानु अघि तर त्यस दिन के भयो कुन्नी उनि डिनर बाहिरै गरेर आईछिन शायद संस्थाबाट नै उनलाई रात्री भोजन गराईएको थियो ।

उनी र्फकदा ढिला हुने भएको देखेर उनलाई नभेटेरै घर फर्कें म ।

भोलिपल्ट बिहानको कफीमा मात्रै भनिन् उनले मलाई । उनी आएको संस्थाको प्रमुख र त्यहांका अन्य कर्मचारीहरुले निकै जोड गरेर बाहिर कतै डिनर गराए त्यसैले आफु आउन सकिन समयमा । आफु आउंदा म गैसकेकोले नरमाईलो लागेको बताईन् ।

एक दिन बेलुकी नभेट्दैमा के फरक पर्नेवाला थियो र ? आखीर हामि आज मेरै घरमा नै त डिनर जाँदैछौं भनि उनलाई सम्झाए ।

कफी लिई सकेर भरे भेटौंला भन्दै उनी निस्कीन् ।

करीब ४ः३० बजे राईजीले मैले भने झैं डिजाईनको बांसको उपहार मेरो घरमा छोडेर मलाई भेटन आउनु भयो सुचना दिनका लागि ।

यति छिटै उपहार तयार गरेकोमा मैले राईजीलाई धेरै धन्यबाद पनि व्यक्त गरें । अन्य उपहारहरुको भन्दा केहि बढी नै रकम भुक्तान गरेर बिदा गरें ।

अब म होटलमै बसी म्यागीलाई कुर्दै थिए ।

उनी झण्डै ५ बजे आफ्नो कामबाट होटल फर्किईन ।

म उनकै प्रतिक्षामै त थिए ।

होटल आईपुगेर केहि बेर लगाई फ्रेस भई सके पश्चात डिनरको लागी करीब ५ः३० बजेको समयमा हामी  दुबै जना होटलबाट मेरो घर तर्फ लाग्यौं ।

मसंग त्यस समय कुनै सवारी साधन नभएकोले म संधै घर अफीस प्याडल रिक्शामा नै ओहोर दोहोर गर्ने गर्थे ।

हामी रहेको होटल देखी मेरो घर सम्मको दुरी २/३ किमी थियो । रिक्शा वालाले एकतर्फी भाडा १० रुपैयां लिने गर्दथ्यो ।

हामी होटलबाट  २०० मीटर जति पैदल हिंडीसकेपछि मेरो अनुरोधमा नै रिक्शा चडेर  घर तर्फ लाग्यौं ।उनी केहि अन्कनाउंदै थिईन । रिक्शा चढ्न मैले निकै अनुरोध गरेपछि बल्ल तयार भईन् तर घर केहि पर भएको र अन्य कुनै साधन नभएकोले त्यसको बिकल्प पनि त थिएन ।

उनको निमित्त  रिक्शाको सवारी बडो अनौठो थियो ।  रिक्शा चढिसकेपछि  उनी केहि रोमाञ्चित देखीइन  ।

आफ्नो ६० बर्ष नाघेको जीवनमा पहिलो पटक यसरी  रिक्शा चढेको भन्दै केहि डराउँदै रमाउँदै अनौठो रुपमा रिक्शाको डण्डी समातेर बसेकी थिईन ।

रिक्शावालालाई मैले बिस्तारै चलाउन भन्दै थिए । बिदेशी महिला चढेको देखेर होला अर्धबैंसे उमेरको रिक्शावाला भने कस्सीएर चलाउंदै थियो,  नआत्तिनुस न सर भन्दै ।

मेरो घरको चोकमा पुगे पछि मैले रिक्शावालाई रिक्शा रोक्न लगाए ।

उ प्रशन्न मुद्रामा बिजयभावमा रिक्शा रोकेर आफ्ना बत्तीसै दाँत देखाउन खोजेझैं गरी हाँस्दै आफ्नो काँधमा बोकेको रुमालले मुख पुछ्न थाल्यो ।

म  रिक्शाबाट ओर्लेर म्यागीलाई उत्रन भनें ।

म्यागी  रिक्शामा हावाले उडाएको खैरो व्वाईज कट कपाल सुम्सुम्याउँदै  रिक्शाबाट हाँस्दै झरीन् “आई रियली इन्जोइज गौतम” भन्दै ।

मैले  रिक्शावालाई पैसा तिर्न खोज्दा उनि मान्दै मानिनन् ।

म जिद्दी गर्दै थिए रिक्शाको भाडा तिर्न पाहुनालाई लगाउनु हुंदैन भनेर तर उनि कुनै पनि हालतमा मान्न तयार भईनन् ।

उनको एक हातले मैले पर्स च्यापेको हात समातेर जबरजस्ती म र्तिछु भनि अर्को एक हातले मात्रै ब्याग खोल्न थालेपछि मैले भनें  Ok madam you pay but please pay Rs.10.

उनले Its ok, Gautam let me pay myself भन्दै 100 रुपैंयाको नोट झीकेर रिक्शावालाको हातमा थमाईन् ।

मलाई उनले नेपाली रुपैंया राम्रो चिनिन् जस्तो लागेर भनें, Madam, this is Rs.100, it does not need. Just pay Rs.10 ।

उनले पुन एक हातले मेरो हात समातेर अलि जोडले दवाउँदै मुसुक्क मुस्काउँदै भनिन्, Gautam I know nepali rupees now. I was not confused. You read a book, “RIKSA MAN” written by a British Author then you will start to respect RIKSA MAN and you will never repeat such word again।

उनको आशय प्रष्टै बुझें मैले ।

तर म कहाँ रिक्शावालाको सम्मान नगर्ने मान्छे हो र ? म त सबै परिश्रमी र श्रमजीबीहरुको उच्च कदर गर्ने मान्छे हुँ जस्तो लाग्छ ।

आफ्नो दक्षता र क्षमता बमोजीमको साह्राे गाह्राे गुजारा गर्दै आएको म सँग सम्मानको नाममा आवश्यकता भन्दा बढी खर्च गर्ने क्षमता भने पो छैन त ।

मलाई कसैलाई सम्मान गर्न मैले मेरा अग्रजहरुबाट पाएको मेरो संस्कार काफी छ । कुनै पुस्तक पढिरहनु पर्छ जस्तो लाग्दैन भन्ने अभिमानको आवेग निस्कन खोज्दा खोज्दै पनि रोकें मैले ।

सम्हालें आफुलाई ।

तैपनि उनको मन राख्नकै लागी भए पनि It’s ok madam, I’ll try to get that book “Rikshaw Man” if I will not find here you please send me from United Kingdom भनें ।

उनले don’t worry gautam if you will not get ”Rikshaw Man” here just let me know, I will send that to you भनिन् ।

उनले  पैसा तिरीसके पछि रिक्शावालालाई कुरी राख्न र केहि घण्टा पछि उनलाई फिर्ता लैजान भन्यौं हामि दुबैले एकै पटक ।

रिक्शावालालाई भन्न मैले खोजेको थिए ।  तर संयोगले मेरो नेपाली र उनको अंग्रेजी भाषामा दुबैले एकै पटक भनेछौं ।

रिक्शावाला आफ्नो साविकको ज्याला १० रुपैयाको सट्टा १०० रुपैया पाएकोले दंग थियो,  फुर्कदै हुन्छ भनिहाल्यो ।

शायद उसले पहिलो पटक यती धेरै पैसा हात पारेको थियो यो छोटो दुरीमा ।

हामी हाँस्दै घर तर्फ लाग्यौं ।

रिक्शाबाट झरेर त्यहांबाट २ मिनेटको पैदल दुरीमा रहेको मेरो घर जाँदै गर्दा बाटोमा म्यागीले भनिन् Gautam, do you know why I paid more than enough to that rikshaw man? Firstly, I am inspired from that book “Rikshaw Man” and started respect them lot and also I made him happy by paying him more so I know he will wait for me to go back to hotel.

मैले भनें  Its ok madam, you respect them lot. I also respect them but I can pay within my capacity only and you know madam I don’t believe that he will wait for us to go back, as per the nature of them here but lets hope we can see him when we will back.

यति कुरा गर्दा नगर्दै हामी घर पुग्यौं ।

मेरी दिदिले उनको स्वागत गरीन् ।

उनि खुब खुसी भईन् ।

हामि मेरो घरमा करीब २/३ घण्टा संगै बस्यौं । होटलमा काम गर्ने भएकोले मैले पाहुनाको सम्मान गर्न थोरै सिकेको थिएं भनौं वा जानेको थिए । केहि हद सम्म थाहा थियो उनिहरुको कल्चरको बारेमा र उनीहरुको खानपानको बारेमा त्यसैले मैले वाईन ल्याएको थिएं उनको लागी ।

उनले खुसी भई वाइन लिइन् ।

केहि मेरो, मेरो घर परीवारको, मेरो घरको र वरीपरीको वातावरणको बारेमा कुराहरु गरीन् र खुसी लागेको बताईन् ।

म मेरो पुरानो घर भएकोले केहि संकोच मान्दै थिए तर उनले उल्टै मेरो घर र वरीपरिको हरीयाली वातावरणको तारीफ गर्न थालेकीले मेरो संकोचको लेसभर पनि बाँकी थिएन अब ।

उनी खुलेर कुरा गर्दै थिईन आज । निकै उत्साहित हुँदै ।

उनी आफ्नो क्षेत्रको सरकारी उच्च तहमा काम गर्थिन, सोहि अनुसार आफ्नो घर, पेशा र साथीभाईका कुरा गरीन् ।

कुरै कुराको बिचमा मैले फेरी तान्याको कुरा निकालें ।

तान्यालाई यसपाली पनि ल्याएको भए साह्रै रमाईलो हुने थियो है भन्दा उनी फेरी मलाई जिस्काए झैं गरी हाँस्न थालिन् ।

मैले किन हांसेको भनी सोध्दा म्यागी अझै हाँस्दै पुरानो कुरा निकालीन् ।

तान्या पहिला आउँदा बिरामी भएको बेला म उनको रुममा उनको अवस्था बुझ्न गएको भनेकी रहिछिन म्यागीलाई अनि उनी झर्केको कुरा पनि गरीछीन । पछि ग्लानी भएछ तान्यालाई त्यहि सम्झंदै हाँसेकी रहिछिन म्यागी अहिले ।

म पनि अब केहि लज्जा मिश्रीत हाँसो हाँस्न थालें । तान्याको अर्धनग्न कामुक देह आफ्नो आंखा अघिल्तीर घुम्न थाल्यो ।

उनको त्यत्ती गोहे शरीर अरु बेला म कहिल्यै देख्दीनथें, अहिले मौका परेर कुरा निस्केको बेला सोधि हालें म्यागीलाई ।

होईन, त्यो दिन कत्ती धेरै र अर्कै किसीमको गोह्राे थिईन तान्या तर अघि पछि त त्यस्ती कहिल्यै लागेन मलाई भन्दै ।

म्यागी भन्दै थिईन् तान्यालाई धेरै गोहे भएको मन नपर्ने भएकोले बाहिर निस्कदा केहि कालो देखीइने क्रीम लगाएर हिंड्छिन् ।

छक्क पनि के के कुरामा पो पर्नु र । केहि कालो देखीईन पनि क्रीम लगाउंदा रहेछन मान्छेहरु ।

यस्तै रमाईला गफ गर्दा गर्दै केहि नेपाली खाजाका परीकारहरु सँगै वाईन सकिए पछि हामिले खाना खायौं ।

साच्चैं तान्यालाई पनि धेरै सम्झंदै थिए म ।

मेरी दिदिले बनाएकाे नेपाली बिविध परिकारहरुको खानाको खुब तारीफ गरीन् । अत्यन्त मिठो मान्दै हर्षित हुँदै सबै खाना खाईन् अब मलाई पेट दुख्ने भयो, यती धेरै खाना कहिल्यै खाएको थिईन भन्दै । उनले एक दाना पनि खाना खेर फालीनन् ।

उनले किन खाना खेर फालिनन् उनको आफ्नै कुरा होला तर मलाई भने उनको यो खाना नफाल्ने कार्य खुबै घत लाग्यो । मैले पनि सफाचट बनाएर खाँए ।

म आफ्नै हिसाबले सोच्दै थिए ।

जमीनमा अन्न उब्जाउने किसानको मेहेनत देखी खाना बनाउने मान्छे समेतको गरी कत्ति धेरै परिश्रम, समय र धन लागेको हुन्छ खानामा । यदि खाना खेर फालियो भने खानाको मात्र अपमान नभै ति सबै सम्बन्धीत तत्वहरुको अपमान ठहर्छ । खाना खान नपाएर मरेका मानिसहरु अनि भोक भोकै रात काट्न बाध्य भएका मानिसहरु र एक छाक अन्नको लागी असाध्य दुख गरेका मानिसहरुको सम्झना आयो मलाई ।

अब आईन्दा कहिल्यै खाना खेर नफाल्ने बिचार आयो मेरो मनमा ।

बडो सोहार्दपूर्ण वाताबरणमा हाम्रो समय बित्यो ।

त्यो सुखद समय निकै छिट्टो बितेको भान भयो ।

खाना खाई सकेर उनलाई मेरो घरबाट बिदा गर्ने क्रममा मैले

उनका लागि बनाउन लगाएको अत्यन्त कलात्मक बाँसको बिशेष उपहार दिए । जुन राईजिले दिउँसै मेरो घरमा छोडेर गएका थिए ।

उनी मलाई अकंमाल गर्दै म संग गाला जोडेर चुम्दै औधि खुसी भइन् । मेरो उपहारको निकै प्रशंसा गरीन् ।

त्यो पल मेरा निमित्त अन्यन्त हर्षित र महत्वपुर्ण रहयो , अनि अविस्मरणीय पनि ।

हामी , मेरो घरबाट करीब ८ः४० बजे होटल फर्कियौं ।

म उनलाई पुर्याउन निस्कें ।

हामि अघि रिक्शाबाट ओर्लेको चोकमा पुग्दा अघिको रिक्शा त्यहाँ थिएन् । न त अन्य कुनै रिक्शाहरु नै थिए ।

हामी बडो फसादमा परेका थियौं , अब के गर्ने भनेर ।

म्यागी पाहुना थिईन । उनको निमित्त सबै बन्दोबस्त गर्नु मेरो कर्तव्य थियो ।

कता कता म कर्तव्य परायणतामा चुकेको आभाष भयो । कुनै बैकल्पीक साधनको बन्दोबस्त गर्न नसकेकोले । मलाई लाज लाग्यो उनको अगाडी ।

कुनै साधन आई हाल्छ कि भनी हामि केहि बेर सम्म त्यो सुनसान चोकमा कुरिरहयौं ।

उक्त समयमा त्यहां अन्य कुनै सवारी साधन नपाइने हुनाले अब पैदल हिंड्नु बाहेकको अन्य बिकल्प थिएन्  । तर उनलाई फेरी पैदल हिंड्न भनौं भनेर चिन्तीत बन्दै थिए ।

अब कसरी म्यागीलाई होटल पुर्याउने होला भनेर सोच्दै गर्दा उनैले बेलुकीको पैदल हिंडाई स्वास्थ्यको लागी निकै राम्रो हुने भएकाेले ईभिनिङ वाक गर्दै जाउँ भनिन् ।

उनको भनाई वास्तवमै उनको ईच्छा बमोजीम थियो वा वाध्यात्मक थियो उनी नै जानुन् ।

तर उनको भनाईले मेरो मनलाई भने निकै शान्त बनायो ।

मैले मलाई पनि हिंड्न नै मन पर्ने भएको बनावटी कुरा बनाए ।

अन्तमा मैले उनलाई पैदलै होटल सम्म पु्याएर फर्कें ।

बाटोमा हिंड्दै होटल तर्फ उनलाई पुर्याउन जाँदै गर्दा उनले मलाई सोधेकी थिइन् ।

Gautam, I paid more then enough to that RIKSA MAN and he was also agreed to wait so he had to wait for me right ?

उनले  रिक्शाम्यानकै कुरा झिकेकीले मैले अघि उनलाई उसले कुर्छ भन्ने कुरामा विश्वास नभएको भनेको कुरा मिलेकोले भित्र भित्रै जीतेको महशुस गर्दै थिएं ।

उनलाई देख्नु भयो मैले भनेको भयो की भएन भन्न मन लागेको थियो तर त्यस्तो भन्नु कदापी उचित हुंदैनथ्यो ।

तैपनि व्यंगात्मक उत्तर भने दिएरै छोडें,Mam, I will read “RIKSA MAN” first .

369 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank