रेहान खानका तीन कविता

शनिबार, चैत्र ९, २०७५

- राजु झल्लु प्रसाद



२०५५ साल माघ १६ गते पर्सा गाविस, सर्लाही जिल्लामा पिता समी अहमद खान र माता साकिला खातुनको काइलो छोराको रुपमा जन्मिएका रेहान खान हाल हाडीगाउँ, काठमाडौंमा बसोबास गर्दछन् ! जेभियर इन्ट्रनेशनल कलेजबाट विज्ञान विषयमा ‘प्लस टू’ उर्तिण खानले तुलसी साहित्य सम्मान, N-Pabson कविता प्रतियोगिता पुरस्कार, मातृभाषा कविता वाचन सम्मान, Poetry Slam competition सम्मान जस्ता सम्मान एवं पुरस्कार ग्रहण गरिसकेका छन् ! निरन्तर कविता साधना गरिरहेका खानसँग समकालीन नेपाली साहित्यको वरिपरी रहेर नेपालपाटीका लागि राजु झल्लु प्रसादले कुराकानी गरेका छन् ! प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:-

एक्लोपन कत्तिको प्रिय लाग्छ ? एक्लै हुँदा रंगमञ्च बृहत हुन्छ, आफूमात्रै देखिन्छ । आफैलाई नै खोजिन्छ । अरुको निम्ति पुर्णतः अगोचर र अदृश्य । कविता सृजन गरिरँहदा आफैसँग टड्कारो स्वरले कत्तिको कुरा गर्नुहुन्छ ? र फेरि कविताले कोलाहल गर्नु जरुरी कि शान्त रहि बस्न ? तपाईंको लागि कविता के हो ? आत्मसंवाद कि स्वैच्छिक स्वैर कल्पना ? या अर्थोक नै केही ?

-सायद एक्लोपनले मलाई नसताइरहेको भएँ मैले कविता लेख्न सक्दिन्थेँ होला । एक्लोपनले मलाई कवितातर्फ डोर्‍याउने काम गर्‍यो । परिवार, मित्र, आफन्तहरूसँग जमघट भएको बेला सायदै कविता फुर्छ । कविता त्यतिखेर फुर्छ जतिखेर म आफूसँग भेट्छु । आफूसँग भेट्ने समय एक्लोपनले दिन्छ । मलाई लाग्छ एउटा कविको लागि एक्लोपन बैज्ञानिकको लागि प्रयोगशाला जस्तै हो । त्यसैले मलाई एक्लोपन प्रिय लाग्छ ।
कविता सृजन गर्दा… खासै गरिन्न । मेरो बानी त्यस्तो छैन् । हो जब कतै वाचन गर्नुपर्ने दिन आउँदा म घरभित्रै ट्वार्को स्वरले बोल्ने गर्छु जस्तै एउटा खेलाडीले खेल सुरु हुनुअघि ‘वार्म अप’ गर्छन् । कविताले कोलाहल गरियोस् तर कवि चाहिँ शान्त रहून् । मेरो लागि कविता कल्पना र यथार्थको बौद्धिक र कलात्मक प्रस्तुति हो ।

“टुप्पोबाट लेखिएको छ नेपाली ईतिहास, जसले सीमान्तकृतलाई समेट्न सकेन, इतिहास निष्ठुर छ”, भन्ने गरिन्छ ।  तपाईं लामो समय देखि कविता साधानामा लागिरहनु भएको छ, दिग्गज, अग्रज देखि समकालीन कविहरुसम्म आइपुग्दा नेपाली साहित्य चाहिँ कत्तिको इमानदार देख्नुहुन्छ ? नेपाली साहित्य नेपाली समाज प्रती साच्चै निष्ठुर छ र?

-मेरो हितमा यो प्रश्न एकदम जटिल छ ।
अङ्ग्रेजीमा एउटा भनाइ छ, “रोम वाज नट बुल्ट इन वन नाइट। ” इतिहास निष्ठुर छ भनेर पनि नभनौँ । नेपाली साहित्यको इतिहास नै कति लामो छ र ? आआफ्नो समयमा जन्मेका कविहरूले साहित्यमा योगदान दिंदै आए उनीहरूको लेखनको कदर गर्नु हाम्रो कर्तव्य हो। जेजसले जति लेखे । नेपाली साहित्यकै समृद्धिको लागि लेखे । प्लेटफर्म खुल्यो नि नयाँ पिढीहरूलाई । यसबाट म धन्य छु । यदि टुप्पोबाट नै लेखिएको छ भने जराबाट अब हामी लेख्दै जाऔँ न त  । हामी नयाँ सुरुवात गरौँ न । नयाँ इतिहास लेखौँ न त । के हामी गर्न/ लेख्न सक्दैनौँ ? यदि गर्न/लेख्न सक्दैनौँ भने किन आलोचना गर्नुपर्यो ?

साहित्यलाई जोगाइराख्ने काम ईमानदार स्रष्टाको हो । मैले इमानदारिता देखेको छु । तर नयाँपनको कमी महसुस गरेको छु । आशावादी लेखनको कमी महसुस गरेको छु ।

नेपाली साहित्य नेपाली समाजप्रति निष्ठुर छ कि नेपाली समाज नेपाली साहित्यप्रति ? मैले बुझ्न सकेको छैन् ।

कविता सुत्र हो कि व्याख्या ? कवितामा बिम्बात्मक संयोजन र अभिव्यञ्जनामूलक कथ्य कत्तिको आवश्यक हुन्छ ? समकालीन कविहरु कपोकल्पित संसार, इन्द्रेणी, क्षितिज, जुनतारा जस्ता कुराहरुमा घुंडा धसेर लागिपरेका देख्छौ ।  यो कत्तिको निको लाग्छ ? कविताले समेटन सक्ने उत्तरोत्तर बौद्धिकता कहाँसम्मको हो ?
-कवितालाई व्याख्यासँग कुनै लेनदेन छैन् । व्याख्याले आख्यानतिर लैजान्छ । सुत्र पनि छन्द कविता लेख्नेलाई मात्र हो । मैले अघि भने नि समग्रमा कविता यथार्थ र कल्पनाको बौद्धिक र कलात्मक प्रस्तुति हो । कविताको गहना भनेको बिम्बको संयोजन हो । कवितामा अभिव्यञ्जनामूलक कथ्यभन्दा बिम्ब संयोजन आवश्यक छ ।

पाठक/समालोचकले सधैं नयाँ आवाज सुन्न खोजिरहन्छन् । ‘इको’ सुन्न खोज्दैनन् । ‘कविहरू… ‘ यी कुराहरू इको भैसके । यसले न त पाठक/समालोचकलाई खुशी दिन्छ न त कविलाई अगाडि बढ्ने नयाँ बाटो दिन्छ । इन्द्रेणी, क्षितिज, जूनतारा… कै चित्रण गरियोस् तर पृथक शैली र पृथक भावमा जहाँ क्लिसी नदेखियोस् । ‘कपोकल्पित संसार, इन्द्रेणी, क्षितिज, जूनतारा जस्ता कुराहरुमा घुंडा धसेर लागिपरेका देख्छौँ !’ यो मलाई निको लाग्दैन । यसले बरू मलाई निराश बनाउँछ ।

मलाई लाग्छ, एउटा कविको सानो मस्तिष्क हुँदैन । अथवा सानो मस्तिष्कले कवि बन्दैन् । कविको मस्तिष्कमा बौद्धिकताको सीमा हुँदैन् । त्यसैले कविताले समेट्न सक्ने उत्तरोत्तर बौद्दिकताको कुनै सीमा हुँदैन् । कविताले प्रकृति, विज्ञान, दर्शन, आध्यात्मिकता, वाङ्यम , आदिलाई सीमाविहीन समेट्न सक्छ । आँखाले देख्न सक्ने कुरालाई मात्र होइन् , कानले सुन्न सक्ने कुरालाई मात्र होइन् । आँखाले देख्न नसक्ने, कानले सुन्न नसक्ने कुरालाई पनि कविताले समेट्न सक्छ ।

प्रस्तुत: छ उनको तीन कविता


====अन्तराल====

हिजो मलाई मेरो
मृत्युले बचाएको थियो
आज मलाई मेरो
जिन्दगीले मारेको छ ।

हिजो म
चिहानको अँध्यारो कोठाभित्र
आफूलाई उज्यालो महसुस गर्दै थिएँ
आज म
घरको उज्यालो कोठाभित्र
आफूलाई अँध्यारो महसुस गर्दै छु
त्यहाँ
बिछ्यौना थिएन
तर आराम थियोे
यहाँ
बिछ्यौना छ
तर आराम छैन

त्यहाँ
कसैको ओहोरदोहोर थिएन
म एक्लो थिएँ
तर एक्लोपना थिएन
यहाँ
प्रायः को ओहोरदोहोर हुन्छ
म एक्लो हुदिनँ
तर एक्लोपना हुन्छ

त्यहाँ
मेरो शरीर लोप हुँदै थियो
माटोसँग मिल्दै, घुल्दै
जसबाट यो बनेको छ
तर आत्मा मेरो प्रकटन हुँदै थियो
परमात्मासँग बोल्दै, डुल्दै
जसको लागि यो बनेको छ

यहाँ
शरीर मेरो प्रकटन हुँदै छ
पाप-पुण्य, अन्याय-न्याय, रीती-कुरीति,
हिंसा-अहिंसा, प्रेम-घृणा,
करुणा-क्रूरता, पवित्रता-अपवित्रता,कर्म-कुकर्म,
धर्म-अधर्मसँग मिल्दै, घुल्दै
तर आत्मा मेरो लोप हुँदैछ
आफैँस्ँग बोल्दै, डुल्दै…।

 


====बाल्यकाल====

यहीँ त हो त्यो धरती
जहाँ बाल्यकाल मैले यसरी बिताएँ
जसरी स्वर्गले मलाई अपनायो
या मैले स्वर्गलाई अपनाएँ

यहाँको शान्तमा
एकान्तमा
मेरै प्रान्तमा
मैले बनाएको मेरो बालुवाको घर
खै! कसले भत्कायो

खै! कसले भाँच्यो
मलाई नचाउने
मेरो पुतलीको प्वाँख
खै! कसले काटिदियो
मलाई डोर्‍याउने
मेरो घामकिरीको डोरी
खै! कसले डुबायो
मलाई सयर गराउने
मेरो कागजको ढुंगा

खै! कहाँ हराएर गए
औंसीको रातमा पनि चम्किने
मेरी जूनकिरीहरू
खै! कहाँ हराएर गए
मेरी आमा बितिसकेपछि
लोरी गाएर मलाई सुताउने
मेरी सुगा र मैनाहरू
आज हजार सुक्कामा पनि
एक खुशी किन्न सक्दिनँ म
खै! कहाँ हराएर गए
एक सुक्कामा किनिएका ती हजार खुशीहरू

काहीँ त्यो लुकामारी खेलमै लुके कि ?
काहीँ त्यो कट्टीसँगै रिसाए कि ?

म नि:शब्द हुन्छु
म स्तब्ध हुन्छु
अनि फेरि सोच्छु
काहीँ त्यो स्वर्गीय नै भए कि ?

 


====आँसु र नदी====

चुमेर तातो बगरलाई चैतबेला
कमजोर नदीहरू खेलिरहेछन्
बग्नेहरूको क्लान्त खेल
मेरा आँसु प्यारले बोले
मलाई पनि समाहित गर ।

मृत्युशैथ्यको सबैभन्दा कमजोर प्राणले
विशाल भीडमा नाहक नारा लगाए झैँ
सूर्य साम्राज्यले पग्लिरहेको दक्षिण दूरतिर
जहाँ बढ्दैछ रोग, भोक र शोकको सालिक
सगरमाथा झैँ
उतैतिर भीख माग्न धेरै टाढा-टाढा
एक हुलियाँ भिखारी लम्किरहे झैँ
र,
नर्क निर्माताको रापिलो कञ्चटमा
पृथ्वीका सारा पापीहरूको
नालनाल आँसुहरू पोखिए झैँ
रगतको टाट पल्टिएको सेतो सिन्की कायामा
नीला आँखाहरूले जसोतसो
बाँचिरहेकी युवती झैँ
बगर किनारका तातो पत्थरतिर
पोखिन् लम्किरहेकी कमजोर छालले
आँसुमा आँसु मिसाएर भनिन्

प्रिय आँसु,
तिमीले त
देवताको लाचार सालिक पछार्न
बिरानो तटमा चपाउन पर्दैन
मैले झैँ

तिमीले त
पृथ्वी माताको भयानक अस्थिरपञ्जर
भताभुङ्ग / लथालिङ्ग पारेर
उनकै काखमा सुम्पनु पर्दैन
मैले झैँ

तिमीले त
अग्नि साम्राज्यको उष्ण मैदानमा
जलयोद्धा भई होमिनु पर्दैन
मैले झैँ

तिमीले त
जगतको खरानी , घाट, दुर्गन्ध पखाली
राजा रैती भुतका
दिनमा रातमा रिझाउनु पर्दैन
मैले झैँ

मैले त
पृथ्वीलाई रसिली, हँसिली, कसिली बनाएँ
प्रतेक नशा-नशामा रस भई पसेँ
तर, सधैँकी रापिली, तापिली, वाफिली मरुभूमि
सकिनँ रिझाउन मैले
चम्किदी, टल्किदी, मुस्कुराउँदी
चाँदनी – जुन किनारकी
चम्कन्छे प्यासले ज्वाला हपहपले
खाउँला झैँ , टोकुँला झैँ , पोलुला झैँ
स्वर्गकी चाँदनीलाई
तर यो भयानक अनिष्ट देखि -देखि
पृथ्वीमा रुनु परेन वर्षा भई बेलाबेला
मैले झैँ

तिमीले त
नचलेको कञ्चटको मुटु पग्ली
जंघार साम्राज्यको उँचो पुञ्जमा
छहरा भई दिल खोली – खोली
रमाउनु पर्ने भाग्य नि मेरो
तर अन्त्य छ मेरो महासागरमा बन्दी
कम्पनमा के आनन्द छ जति तुफानमा छ
सुसाउन नपाई ढल्छु ताल भई
स्वर्ग श्रृङ्गार्थेँ, नर्क पखाल्थेँ
भिजाउँथेँ मरुभूमि
तर अफसोच!
निस्सासिरहेछु जमेर पोखरी भई सदियौँदेखि

आँसु बोलिन्

म त ढिका नुनिलो मोती
भन्छन् र पो लिन्छन् प्राणी सारा
बरबर कतै तप्प भई
हर्ष फुट्दा पट्ट भई
तापमा रापमा शीत भई
पाउँदिनँ सुक्न , पाउँदिनँ लुक्न
पुछिन्छु, पखालिन्छु
प्राणीभित्रका देवता राक्षस भर्छन्

मेरो तरङ्ग
विशाल वेदना , क्रोध , लोभ , रिस , डाहा
तर सानो दु:खले
सानो हर्षले बनाए नतर्की
पोखिन्छु , पखालिन्छु , तातो उम्लिन्छु , पछारिन्छु नयनद्वारमा
म सक्दिनँ तङ्गृन
म सधैंकी यस्ती

प्रिय माता
ब्रह्माण्ड डुली स्वर्ग चहारी
सृष्टिका जरा नसा रसाई तिमी मनमौजी
बिन्ती मलाई पनि समाहित गर
लैजाऊ डुलाई
नियाल्छु विश्व व्यथा ब्रह्माण्डको
वाफ विमान तिम्रो निजी
चढ्छु डुल्छु स्वर्ग हेर्छु
नर्क पस्छु
पातल पस्छु
भन्दै बरर…बरर… रोइन् आँसु तटमा

यत्तिकैमा
कमजोर जलका क्लान्त हात
रोइरहेकी आँसु मुसार्छिन् सम्हाल्दै
र, बग्दै भन्छिन् सम्झाउँदै
हर्ष एउटै हो , वेदना एउटै हो
स्वर्ग , नर्क , सृष्टिको व्यथा
बताउँछु एक शब्दमा
मेटिदैन , छेकिदैन , सकिँदैन
तमाम बराबर

आँसुले सुनिन् मनमनै गुनिन्
चुमेर आँसु कमजोर नदीलाई बगिन् तलतल
लड्न , पोखिन , बर्सिन पृथ्वीमा
आँसुले कम्मर कसिन् ।

Rehaan Khan

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata