रियलमाथि बार्सिलोनाको अर्को जित: रामोस र मेस्सीबीच टकराव

आइतवार, फाल्गुन १९, २०७५



काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत सिजनको दोस्रो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई स्तब्ध बनाएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा लिग लिडर बार्सिलोनाले आफ्नो कट्टर प्रतिस्पर्धी रियललाई उसकै घरमा ०–१ ले पराजित गरेको हो ।

यससँगै बार्सिलोनाले ३ दिनको बीचमा रियल मड्रिडलाई लगातार दुई खेलमा उसकै घरमा पराजित गरेको छ ।

उपाधि होडमा दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको लिगको २६औं साताको खेलमा बार्सिलोनालाई अवे मैदानमा जिताउन क्रोएसियन खेलाडी इभान राकिटिक नायक बने । उनकै १ मात्रै गोलको मदतमा बार्सिलोनाले रियलमाथि कठिन जित निकाल्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि खेलको २६औं मिनेटमा राकिटिकले गोल गरेका हुन् । उनले रियलका गोलरक्षक थिबाउन कोर्टुवा अगाडि बढेको अवस्थामा सर्जी रोवेर्टोको पासमा गोल गरेका थिए । सोही गोलको मदतमा बार्सिलोनाले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

दोस्रो हाफमा खेलमा फर्किन सुरुबाटै कडा संघर्ष गरेको रियलले खेल अवधिभर गोल फर्काउन सकेन । र, बार्सिलोनाले सुरुआती अग्रता जोगाएर खेल ०–१ ले जित्यो ।

खेलक्रममा रियलका कप्तान सर्जियो रामोस र बार्सिलोनाका कप्तान लिओनल मेस्सीबीच टकराव पैदा भएको थियो । रामोसले बल हेडिङ गर्नेक्रममा जानी–जानी मेस्सीलाई कुइनाले हानेको भन्दै दुई कप्तानबीच हात हालाहालको स्थितिसमेत पैदा भएको थियो ।

यो जितपछि बार्सिलोनाले २६ खेलबाट कूल ६० अंक बनाएको छ । रियल भने समान खेलबाट ४८ अंकमै खुम्चिएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank