रिडर्स झापाको ‘कला साहित्य उत्सव’ फागुन दोस्रो साता हुँदै

बिहिबार, फाल्गुन ९, २०७५



झापा । रिडर्स झापाले चौथो संस्करणको कला साहित्य उत्सव १८ देखि २० फागुनसम्म काँकडभिट्टामा आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा आयोजना हुने उत्सवमा यसपटक पनि कला, साहित्य, राजनीति, समाजलगायतका विविध विषयमा विमर्श हुनेछ ।

‘यो सहर काठमाडौं वा पोखराजस्तो होइन,’ संस्थाका सदस्य उज्ज्वल प्रसाईं भन्छन्, ‘तर, सानो ठाउँमा पनि गम्भीर विषयमा छलफल गर्न सकिन्छ भनेर फेस्टिभल सुरु गरेका हौँ ।’ सानो ठाउँमा भएको कार्यक्रमले राष्ट्रिय बहसको वातावरण बनाएर अरू महोत्सवभन्दा फरक पहिचान स्थापित गरेको प्रसाईंले बताए । उनी भन्छन्, ‘बहसले राष्ट्रिय नीति निर्माणको तहमा रहेकाहरूलाई दबाबकै काम त गरेको छैन, तर सार्वजनिक छलफलको विषयचाहिँ बनेको छ ।’

उत्सव कार्यक्रम संयोजक हरि तिम्सिना उत्सव केवल लेखक, साहित्यकारका लागि मात्र नभई साहित्यिक अध्ययन र साहित्यिक कर्म गरिरहेका तथा सार्वजनिक रूपमा बहसमा आएका विभिन्न विषयमा रुचि हुने सबैका लागि भएको बताउँछन् ।

कला साहित्य उत्सवमा साहित्यको दलन, अभिव्यक्ति र बहिष्करण, समकालीन आख्यानमा वर्ग चेतना, काव्यमा विद्रोह, विश्वविद्यालयको पुनर्संरचना, सत्ता र लेखक, दलालीको दलदललगायत विषयमा अनेक कोणबाट बहस हुनेछ । यसपटकको उत्सवमा नारायण वाग्ले, शिव गाउँले, सुधीर शर्मा, झलक सुवेदी, अर्चना थापा, बन्दना ढकाल, सरस्वती प्रतीक्षा, प्रत्युष वन्त, सञ्जीव उप्रेती, आहुति, खगेन्द्र संग्रौला, प्रदीप गिरि, सिके लाल, राजेन्द्र महर्जन, युग पाठक, भाष्कर गौतम, महेन्द्र पी लामा, अखिलेश उपाध्याय, राम कार्की, संगीत श्रोता, दीपक सापकोटा, अभय श्रेष्ठ, विनोदविक्रम केसीलगायतका लेखक उपस्थित हुने बताइएको छ ।

आयोजक ‘रिडर्स झापा’ विगत एक दशकदेखि विभिन्न किसिमका सार्वजनिक विमर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो।

download

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata