शहीद रत्न कुमार वान्तवालाई सम्झदा

नेपालपाटी विशेष

बिहिबार, चैत्र २७, २०७६

- राजु झल्लु प्रसाद



निरङ्कुश पञ्चायति सत्ता विरुद्ध आन्दोलनमा साहादत प्राप्त गरेका शहीद रत्नकुमार वान्तवाको आज ६९ औं जन्मजयन्ती तथा ४१ औं स्मृती दिवस मनाइदैछ । नेपालका वामपन्थी राजनीतिज्ञ वान्तवा पञ्चायती व्यवस्थाको मध्यतिर राजनीतिमा सकृय भएका बेला पञ्चायती प्रहरीको गोली लागी मारिएका थिए ।

वि.स.२००८ साल चैत्र २७ गते गरिब किसान परिवारमा जन्मिएका बान्तवाले उही मितिमा २०३५ मा सहादत प्राप्त गरे । उनको जन्म इलाम चमैताको चित्रे गाउँ ( हाल देउमाइ नगरपालिका–१) मा र्गजमान र पुष्पमाया राईका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रुपमा भएको थियो । २७ वर्षको उमेरमै सामाजिक तथा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्‍याएका उनले बाँचेका दिनसम्म परिवारदेखि राज्यप्रणाली परिवर्तनको आन्दोलनलाई समेत अभिभावकत्व प्रदान गरे ।

प्रारम्भिक चरणको शिक्षा चमैतामा पूरा गरेका वान्तवाले कक्षा सातसम्म इलामको नारायणस्थानमा आफ्ना मामा गणेश राईको घरमा बसेर पढे । कक्षा ८, ९ र १० पढ्नका लागि पाँचथरको फिदिम हाइस्कुल पुगे । त्यतिबेला बुबा फिदिममा प्रहरीको जागिरे भएकाले रत्नकुमार पनि बुबासँगै पाँचथर पढ्न पुगेका थिए ।

वि.स. २०२८ सालमा उनी उच्च शिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर आइ. ए. पढ्न थाले । तुलरामका छोरा बम देवानसँग वान्तवाको राम्रो मित्रता कायम रह्यो । उनले धरानमा पढे पनि त्यसको वार्षकि परीक्षा भने इलाम क्याम्पसबाटै दिए । आई. ए. उत्रीण गरेर बी.एड. पढ्न २०३० सालदेखि उनी काठमाडौँ आए । काठमाडौंमा उनले दुई वर्ष बिताए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट २०३२ सालमा बी. एड.उत्रीण गरी उनी इलाम फर्किए । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग ६ महिना अध्यापन गरी पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि उनले आफ्नो अध्यापन कार्यलाई छोडेर रत्न जनताको माझमा आए ।

धरानमा आई. ए. पढ्दै गर्दा २०२८ सालमा झापामा विद्रोह शुरु भयो । झापा विद्रोहले रत्नकुमारमा गम्भीर छाप छाड्यो । वामपन्थी विचार राख्ने बम देवानले पनि बान्तवालाई कम्युनिज्मका बारेमा लेखिएका किताब, पत्रपत्रिका तथा अन्य सामग्री पढ्न दिएर सहयोग गरे । उनीभित्र बढ्दै गरेको कम्युनिष्ट मोह काठमाडौँमा आएपछि झाँगियो । वि.स. २०३० साल असार १५ गते कीर्तिपुरमा बान्तवाको भेट वर्तमान नेकपा एमालेका महासचिव इश्वर पोखरेलसँग भयो । पोखरेल र बान्तवा एउटै कक्षा र एउटै विषय अध्ययन गर्ने सहपाठी थिए ।

इश्वर पोखरेल र रत्न कुमार बान्तवा

वि.सं. २०३२ सालमा अखिल नेपालको अडिनेसन केन्द्रको इलाम जिल्ला कमिटी गठन भयो । यसको सचिव थिए- झलनाथ खनाल । अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, भाइ बमप्रसाद बान्तवा र वसन्त पराजुली थिए । र्बुजुवा शिक्षा बहिस्कार र्गदै गाउँ-गाउँमा गएर जनतालाई सङ्गठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन पुगेका हुन् ।

रत्नकुमार बान्तवाले वि.स. २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाए । रत्नकुमार बान्तवा वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त थिए । बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र ६ र ७ जना बसेर छलफल गर्न सक्ने ठाउँ छ । सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्काे मुख जङ्गलको बीचमा थियो ।

तेस्रो शक्तिको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको २०३५ पुस ११ गते संस्थापक केन्द्रीय सदस्य भएका रत्नकुमार बान्तवा पूर्व उत्तर क्षेत्रको इन्चार्ज थिए । उनको कार्यक्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र सङ्खुवासभा जिल्ला रहेको थियो । वि.स. २०३५ साल माघमा नेकपा माले इलाम जिल्ला कमिटी गठन भयो र त्यसका सचिव पनि रत्नकुमार बान्तवा नै भए ।

पाँचथरको सुकेपोखरी प्रहरी चौकीबाट २०३५ साल मङ्सिरमा गस्तीमा गएका एक प्रहरीलाई चमैताका किसानले नियन्त्रणमा लिएर कुटपिट गरे । प्रहरीलाई नियन्त्रणमा लिएर किसानले कुटेपछि त्यो विद्रोहको पछाडि रत्नकुमार बान्तवाको हात छ भन्ने कुरा प्रशासनले थाहा पायो । यसपछि चमैता, चित्रे, इभाङमा प्रहरीले व्यापक सर्च अभियान चलाउन थाल्यो ।

वि.स.२०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर इलामभरि व्यापक पर्चा छरियो । यसको प्रत्यक्ष नेतृत्व रत्नकुमार बान्तवाले गरेका थिए । त्यस समयमा झलनाथ खनाल झापा जेलमा थिए भने तत्कालीन नेकपा मालेको केन्द्रीय कमाण्डरका रुपमा रत्नकुमार बान्तवा इलाम लगायतका पूर्वी पहाडी क्षेत्रमा शहिदको बदला लिन पञ्चायती शासन ढाल्ने,राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छर्दै थिए ।

सङ्गठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ्ग पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङ्गका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो । त्यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा परे । रातको समयमा प्रहरीको आँखा छलेर रत्नकुमार बान्तवा भाग्न सफल भए र साथीहरुलाई पनि भगाए ।

रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ साल चैत २४ गते इभाङ्गमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा र्शेपालाई गोली हानेर हत्या गर्याे । निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो । सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो तर पछि रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप खोजीमा निस्कियो ।

इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे चार बजे उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ्ग हिँडेका थिए । अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरुको झम्काभेट भयो । प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने । रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे । दोस्रो गोली पनि छलिएर अर्काे प्रहरीलाई लाग्नपुग्यो । तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो । यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गरेर २८ वर्षमा प्रवेश गर्दैगर्दा जन्मदिनमै प्रहरीको गोलीद्धारा मारिए ।

रत्नकुमारले सहादतप्राप्त गरेको १ महिना नबित्दै भाइ बमप्रसाद बान्तवाको २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरियो । रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि अर्थात् वि.स.२०७२ फागुन २२ गते उनलाई सरकारले सहिद घोषणा गरेको थियो । वान्तवाको स्मृतीमा इलाम नगरपालिका–१ साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट समेत बनाइएको छ । उनकै स्मृतिमा रत्न-बम स्मृति प्रतिष्ठानको स्थापना भएको छ।

बान्तवाको जीवनकथामा आधारित रही उपन्यासकार सञ्जय थापाले देउमाईको किनारमा (उपन्यास) लेखेका छन्। यो उपन्यासको कथानकमा देउमाईको किनारमा (चलचित्र)को रूपमा पनि निर्माण भएको छ।

बान्तवाकै जीवनकथामा आधारित वृतचित्र ‘बलिदान कहिले मर्दैन’ जसकुमार राईको निर्देशनमा निर्माण भएको छ ।

Sacrificed Never Dies : Nepali Documentary - YouTube

रत्नको रानीतिक र साहित्यिक ब्यत्तित्वबाट प्रभावित भएर सन्जय थापा, यु. कार्की, इश्वर पोखरेलले रत्नलाइ नायक बनाएर कृति लेखेका छन् । यीनै कृतिका आधारमा चलचित्र र डकुमेन्ट्रीहरु पनि बनेका छन् ।

ratna kumar bantawa, रत्न कुमार बान्तवा, साहित्य

बान्तवाको नाममा इलामको फिक्कल – पशुपतिनगर सडक खण्डलाई रत्नकुमार बान्तवा राजमार्ग नामाकरण गरिएको छ।  उनको फोटो अड्कित हुलाक टिकट प्रकाशित भएको छ ।

बान्तवाको साहित्यिक योगदान :

बान्तवा नेतामात्र नभएर, एक प्रखर प्रगतिवादी स्रष्टा र द्रष्टासमेत थिए । उनले कविता, गीत, निबन्ध, समालोचना र चित्रकारितामा कलम चलाएको देखिन्छ ।  राई बान्तवा भाषामा कविता सिर्जना गर्ने प्रथम स्रष्टा पनि रत्नकुमार बान्तवा नै रहेको कुरा पुष्टि भइसकेको गोरखापत्रले उल्लेख गरेको छ । उनले साहित्यका विविध विधामा सिर्जना गरेका दर्जनौँ रचना भए पनि हत्यासँगै उनका रचनासमेत तत्कालीन प्रशासनले नष्ट गरेको रत्नको राजनीतिक जीवनबारे लामो खोज गरेका डा. देवी क्षेत्री दुलाल बताउँछन् । उनी रत्न–बम प्रतिष्ठानका अध्यक्ष पनि हुन् । दुलालद्वारा संकलित यी कविताका पंक्तिहरू पढ्नुहोस्,

हामी एउटै ताँदोबाट छुट्टिएका तीरहरू
जब्बर फलामे भित्ताहरू छेड्न
प्रचण्ड वायुवेगमा सन्सनाउँछौँ
आँधीहुरीको सृष्टि गर्दै
अटल–अमर विश्वास लिएर
अवश्य छेड्नेछौँ शत्रुका छातीहरू ।

कवि रत्नको कविताको एक अंश हो यो ।  यस्तै अर्को कविताको अंश पढ्यौं,

एनाखानै मजदुर यावाच्यो
भूमिहीन गरिब किसानच्यो
देशा खान्नुओ ममाओ
शहीदाच्यु सेन्माड्लो
टाट्मा लामाओ कामा आन्कोडा ।
यो कविताको नेपाली भावार्थ यस्तो हुन्छ ः
सुन है सुन मजदुर साथी हो
भूमिहीन गरिब किसान हो
देशलाई सुन्दर बनाउने
शहीदको सपना
साकार पार्ने कर्तव्य हाम्रै हो ।

यस्तै अर्को कविताको अंश पनि हामीले भेटेका छौं,

के पाटीमा लेखिएका
हामी खरी अक्षर हौँ ?
तर, हामी त्यस्ता अक्षर होइनौँ
जसलाई हो
जति पनि हो
लेखेर मेटे हुन्छ ।

यो उनीद्वारा रचित एउटा गीतको अंश हो ।

यस अतिरिक्त चित्रकारितामा पनि उनि रम्रो पकड राख्थे । उनले आफ्नो घरको भित्ता र कोठाहरु सुन्दर चित्रले सजाएका थिए । रत्नको हत्यासँगै चित्र र घर नष्ट पारियो । उ

यसरी उनको सृजनासत्वको आलोकमा हेर्दा रत्नकुमार बान्तवा सिद्धहस्त स्रष्टा हुन् भन्ने देखिन्छ । जीवनको जम्मा २७ वसन्त मात्र बाँचेका रत्नले नेपाली साहित्यमा पुर्याएको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । उनाका विचार र सिर्जनाहरूलाई लोकका सामु पुर्याउँन सक्दा मात्रै पनि उनको सम्मान हुनेछ ।

नेपालपाटी परिवार शहीद रत्नकुमार बान्तवाप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments