संविधानमार्फत संघीय व्यवस्था सुदृढ बन्दैः राष्ट्रपति

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उल्लेख गरेकी छन् ।

शुभकामना सन्देशमा उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले पनि शुभकामना व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata