राष्ट्रियसभा निर्वाचनः अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह आजै

शुक्रबार, पुस २५, २०७६



काठमाडौं  । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन हुँदै छ ।

निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँन लागेको हो ।

संविधान निर्माणपछि बनको पहिलो राष्ट्रिय सभाको कार्यकाल भने गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण गरिएको छ । स्थायी सदनका रूपमा परिकल्पना गरिएको राष्ट्रिय सभामा ५९ सदस्यीय हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments