कति पुस्तामा विकास !

बिहिबार, चैत्र २०, २०७६

- रामेश्वर चौलागाईं



प्रजातन्त्र चाहियो भनेछन्, हजुरबा लाग्नु भएछ।
पन्चायत नै चाहिन्छ भनेछन्, फेरि हजुरबा जानू भएछ।।

बहुदल ल्याउने भनेछन, मेरा बुवा लाग्नु भएछ।
काका, मामा अनि छिमेकी समेत, सबै जानु भएछ।
गणतन्त्र ल्याउने भने, कलेज छाडेर दाजु लाग्नु भएछ।
बिहे गरेर गएकी दिदी, बच्चा सहित उतै लागिछ्न।
हामी बुझ्दैनौ, दाजु मारिनु भो!
हामी दुवै तर्फबाट पीडित भयौ।
जसका कुरा सुन्यो त्यही ठिक लाग्छ, आफ्नो बुद्धि नभएकोले होला।

कोहि सरकारको विरोध गर्छन्, होकि जस्तो लाग्छ।
कोहि सरकारको समर्थन गर्छन्, होकि जस्तो लाग्छ।
जनअन्दोलनमा लाग्नु पर्छ, हिड् भने लागियो।
सडक आन्दोलनमा जानू पर्छ, भने फेरि लागियो।
जिन्दावाद, मुर्दावाद भन भने, त्यो पनि भनियो।
संविधानसभाको निर्वाचन गर्ने, मतदान गर भने, गरियो।
जनताको संविधान जारी गर्ने ! दिपावली गर, भने गरियो।

अब देश अगाडि बढ्छ भने, होला त भने बढेन।
भुकम्पले सडकमा ल्यायो, धैर्य गर्नुस गर्दैछौ भने गरेनन्।
म अलमलमा छु अहिले, विकास व्यवस्थाले गर्छ कि!
संविधान, नियम, कानुन या इच्छाशक्तिले।

हामिले लेख्न बाकी केही भएर, पो समृद्धि नआएको होकि?
या ल्याउनु पर्ने भन्दा,अधिक ल्याएकोले हो?
जे ले रोकेको छ, त्यो हटाउदै अगाडि बढ्ने कहिले हो?
भाइ कस्सिएको छ,आक्रोश सहित भन्छ, अब चुप बसिन्न।
अब खै कुन हो, वैज्ञानिक समाजवाद चाहियो रे।
के मेरो देश, म जस्तै सधै,बसिरहने नै हो?
अनि सबै पुस्ताले संघर्ष, युद्ध,आन्दोलन गरिरहने हो?
म यतिबेला गम्भीर भएर, सोच्न बाध्य भएको छु।
मेरो देशको मुहार ,कसरि फेर्ने हो सोचिरहेछु।

– रामेश्वर चौलागाईं 
raamesh2031@gmail.com

raamesh2031@gmail.com

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments