रामदेवको पैसा बारे खोजी सुरु, ‘बदमासी’ पाइए रामदेवलाई कारवाही

सोमवार, मंसिर १३, २०७३



काठमाडौं, १३ मंसिर । पतञ्जली योगपीठका नाममा नेपालमा गरेको लगानीका विषयमा सरकारले छानविन गर्ने भएको छ । योगगुरु रामदेवले अनुमति नै नलिइ पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएपछि सरकारले त्यसको छानविन गरेर यथार्थ बुझ्ने भएको छ ।

उद्योग विभागमा दर्ता भएको कागजातमा कहीपनि रामदेव नाम नेदिएको र सञ्चालनका हिसावले उनको नाम जोडिएको भए कारवाही हुने सरकारले बताएको छ । उद्योग विभागमा महानिर्देशक महेश्वर न्यौपानेले रामदेवका नाममा कुनैपनि उद्योगको अनुमति नलिएको र अनुमति लिएको उद्योगको उनको नाम पनि नरहेको बताए ।

लगानी गर्नु अगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई उनले आर्थिक कारोबार गरेका हुन् । रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वे्दिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ ।

तर उद्योग विभागका महानिर्देशक न्यौपानेले विदेश पतञ्जली योगपीठ अन्र्तगतको उद्योगमा सबै स्वदेशी लगानी देखाइएको जानकारी दिए । रामदेवले गता साता काठमाडौंमा पत्रकार सम्मेलन गरी डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको र १० हजार नेपाली यवालाई रोजगारी दिने जानकारी दिएका थिए । उद्योग विभागका महानिर्देशक न्यौपानेले त्यो उद्योगमा रामदेवको कुनै साइनो नरहेको र उनले उद्योगमा लगानी गर्ने अनुमति नै नलिएको बताए ।

‘लागानी र लगानी कर्ता दुइटै स्वदेशी देखिन्छ त्यसै अनुसार उद्योग दर्ता भएको छ’ न्यौपानेले नेपालपाटीसँग भने, ‘यदी नीतिबाहिर रहेर काम गर्न खोजिएको छ भने जो भएपनि कारवाही हुन्छ ।’

उनका अनुसार गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानी भनिएको पतञ्जली आयुर्वेद प्रालिमा उनकी श्रीमती समता प्रसादको मात्रै लगानी छ । २०७१ भदौ २४ गते समताको नाममा स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता भएको छ ।

उद्योग मन्त्रालयका एक अधिकारीले रामदेवको लगानीका विषयमा खोज्न उद्योग विभागलाई निर्देशन दिइसकेको छ । ‘विदेशी लगानी बारे अनुमति लिएको छैन’ ती अधिकारीले भने, ‘अनुमति नलिई रामदेवले लगानीको घोषणा कसरी गरे, कुन च्यानल मार्फत त्यो पैसा नेपाल भित्र्याए खोजी सुरु भएको छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments