देउवा विरूद्व एकजुट हुन कार्यकर्ताहरुलाई वरिष्ठ नेता पाैडेलकाे आह्वान

बिहिबार, साउन २, २०७६



काठमाडौ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध एकजुट हुन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई तरुण नेताहरुले दबाब दिएका छन् । बिहीबार नक्सालमा भएको गोप्य भेलामा तरुण दलका करिब ४ दर्जन बढी पूर्वनेताहरुले पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई एकैठाउँ राखेर देउवाविरुद्ध एक भएर उभिन दबाब दिएका हुन् ।

उनीहरुलाई  ‘म होइन हामी’ भनेर अघि बढ्न पौडेल, कोइराला र सिंहलाई दबाब दिँदै नेताहरुले आ–आफ्नो डम्फु बजाउने हो भने आउँदो महाधिवेशनमा पनि देउवा नै हाबी हुनेतर्फ सचेत गराएको एक तरुण नेताले जानकारी दिए । सहमतिका नाममा तरुण दललाई समाप्त गर्ने काममा सभापति देउवाको सहयोगी बनेको भन्दै वरिष्ठ नेता पौडेलको उनीहरुले चर्को आलोचना समेत गरेको एक सहभागीले बताए ।

पौडेलको प्रस्तावमा भुपेन्द्रजंग शाही हाल तरुण दलका महासचिव छन् । उनीहरुले तीन नेताहरुलाई एकै ठाउँमा राखेर तरुण दलका सयौं नेता, कार्यकर्तालाई बेरोजगार बनाएको, सहमतिका नाममा जे पनि गरेको भन्दै नेतृत्वविरुद्ध आक्रोश पोखेका थिए । “शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध लड्न एक ठाउँमा उभिन दबाब दियौं,” तरुण दलका एक पूर्वपदाधिकारीले गोप्य भेलाबारे जानकारी दिँदै भने, “सहमतिका नाममा तरुण दललाई ४ जनामा सीमित गरियो । संगठन समाप्त गरिएकोमा धेरैको आक्रोश थियो ।” अहिलेको तरुण दल केन्द्रीय समितिले काम गर्न नसकेकोमा पनि उनीहरुले असन्तुष्टि पोखे ।

तरुण दलका अध्यक्षमा देउवा समूहका जीतजंग बस्नेत, कृष्ण सिटौला समूहका उत्तम चापागाई. उपाध्यक्ष, पौडेल समूहका शाही महासचिव र खुमबहादुर खड्का समूहका विद्वान गुरुङ कोषाध्यक्ष छन् । केन्द्रीय समितिको कार्यकाल सकिनै लाग्दा समेत कार्यसमिति विस्तार हुन सकेको छैन । स्रोतका अनुसार सो बैठकमा तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरुण नेताहरु हुर्मत न्यौपाने, कमल शाह, दामोदर कोइराला, लक्ष्मी खतिवडासहित करिब ४ दर्जन नेताहरु थिए । उनीहरुले अब पनि पौडेल, कोइराला र सिंह नमिल्ने हो भने अबको महाधिवेशनमा पनि देउवाकै नेतृत्व दोहोरिने भन्दै सचेत गराएका थिए ।

तरुणहरुको चर्को दबाबपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल गठन गर्दा कमजोरी भएको स्वीकार गरे । “अहिले पार्टी सञ्चालन नियमावली पनि अप्रजातान्त्रिक खालको आएको छ । केन्द्रमा देउवाविरुद्ध हामी लडिरहेका छौं,” पौडेलको भनाई उद्धृत  गर्दै एक सहभागीले भने, “जिल्ला र क्षेत्रमा पनि देउवाविरोधीहरुलाई एक ठाउँमा ल्याउनुस् । केन्द्रमा लडेर मात्र पुग्दैन तपाईँहरु जिल्लामा पनि लड्नुस् ।” कोइराला र सिंहले पनि पौडेलले जसरी नै धारणा राखेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata