कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडा

बिहिबार, पुस १७, २०७६



पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्।

४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अहिले पनि राजनीतिक दलहरू मिलेर मुलुकको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राखे।

मुलुकमा हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसभित्रको विवाद र आन्तरिक कलहले आफूलाई पीडा भएको यादवले बताए। अहिले आफू कांग्रेस नभए पनि त्यही कुलबाट आएको बताउँदै उनले भने, ‘अहिले कांगे्रसको हालत देखेर चित्त दुख्छ, दर्द हुन्छ, कहाँ पोख्ने ?, तपाई कांग्रेसीलाई लाग्छ कि म फेरि फर्किएँँ। तर त्यसो होइन।’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देश बचाउन भारतमा गएर तत्कालीन विद्रोही नेकपा माओवादीसँग १२बुँदे सम्झौता गरेको स्मरण गर्दै यादवले राजाले २०१७ र २०५९ सालमा संसद् भंग गरेर लोकतन्त्रको हत्या गरेको बताए।

‘देशमा २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा हजारौैंले ज्यान गुमाइसकेका थिए। त्यस्तो बेलामा गिरिजाप्रसाद कोइरालाले भारत, अमेरिका तथा सम्पूर्ण मित्र राष्ट्रलाई साथ लिएर १२बुँदे सम्झौता गर्नुभयो र राष्ट्रलाई जोगाउनु भयो,’ उनले भने, ‘अहिले राष्ट्र, राष्ट्रियताका विषयमा राजनीतिक दलमा चिन्ता देखिएन।’

समाजका अध्यक्ष एबं केन्द्रीय सदस्य कुलबहादुर (केबी) गुरुङले बिपी कोइरालाले अवलम्बन गरेको विचार पार्टीले भुल्दै गएको गुनासो गरे। पार्टीमा बढ्दै गएको गुटउपगुटका कारण कांगे्रसमा निष्ठाको राजनीति गर्नेहरूलाई मुस्किल पर्न थालेको उनले बताए।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू’ नामक पुस्तक विमोचन गरे। पुस्तकमा तत्कालीन सरकारले हत्या गरेका रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दीवान सिंह राई, सरोज कोइराला, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिंह राना, दुर्गानन्द झाको सामग्री समेटिएको छ। पुस्तकमा नेता गुरुङका विषयमा पनि लेखिएको छ। नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments