आइपुगे अयोध्याका जन्ती, स्वागतका लागि राष्ट्रपति भण्डारी जनकपुर जाँदै

बिहिबार, मंसिर १२, २०७६



जनकपुर  । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ ।  भारतको अयोध्यावाट जनकपुरधामका लागि निस्केको भगवान् श्री रामको जन्ती गएराती नेपाल प्रवेश गरेको छ । ५ सय संख्यामा रहेका ती जन्तीहरूलाई महोत्तरीको मटिहानी नगरपालिकामा भव्य स्वागत गरिएको छ । जन्तीमा अयोध्याका साधुसन्तहरु  समावेश रहेका छन् ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

मटिहानीमा लक्ष्मीनारायण मठका महन्थ, पुजारी, जनप्रतिनिधि स्थानीयवासीले जन्तीको स्वागत गरेका थिए । जन्तीको आगमनलाई लिएर मटिहानीलाई झिलीमिली बत्तीले सजाइएको थियो । जन्ती आजै जनकपुरधाम आउने छन । जनकपुर आउने बाटो पर्ने गाउँहरुमा पनि जन्तीलाई विशेष स्वागत गर्ने कार्यक्रम छ ।

जन्तीको उपस्थितिमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह हुनेछ । जन्तीलाई भोलि औपचारिक कार्यक्रम गरेर राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ । स्वागत कार्यक्रमका लागि ऐतिहासिक रंगभूमि मैदानलाई विशेषरुपले सजाइएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ ।

बुधबार फूलबारी लीला र मटकोर विधि पूरा गरिएको छ । राजा जनककी छोरी सीता फूल टिप्न गएको बेला रामसँग पहिलो भेट भएको सम्झनास्वरुप फूलबारी लीला कार्यक्रम गरिन्छ । यसैगरी मटकोर विधिमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर तलाउबाट माटो खनेर त्यही माटोले विवाहको बेदी (यज्ञस्थल) बनाउने परम्परा रही आएको छ ।

गत विहीवार अयोध्यावाट जनकपुरधामका लागि जन्ती निस्केको थियो । त्रेता युगमा सीता स्वयंवरको बेला गुरु विश्वामित्रसंँग रामलक्ष्मण जुन बाटो भएर आएका थिए, त्यही वाटो भएर जन्ती आउने गर्छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata