घुम्ने कुर्सी र महाअभियोग

कविता

बिहिबार, बैशाख २१, २०७४

- राकेश कार्की



मान्छे

जन्मदा सबै बराबर हुन्छन्
नानीहरु सबै मिलेर खेल्छन्
जब हुर्कदै जान्छ
थाहा पाउँछ
देख्छ
त्यो घुम्ने कुर्सी
ठाउँ ठाउँमा
तल्लो तह देखि माथिलो तहसम्म
अनि शुरू हुन्छ
खुरापाति
त्यसको भर्याङ हो राजनीति

आफै सक्नेले आफै
छलकपटले झुक्याउदै
लुड्याउदै
उक्लदै जान्छ
आफै नसक्नेले उकास्छ
अरु सिधासाधा मान्छेहरु
अनि शुरू गर्छ
जबर्जस्ति
करकाप
धम्काउने
तर्साउने
जसरी पनि पुगिछाड्छ
त्यो घुम्ने कुर्सी

अनि सोच्छ
सारा देश र देशवासी
उसकै मुठ्ठीमा छ
उसकै पैतालामुनि छ
डुक्रन्छ
हकार्छ
बेस्सरी रिसाउछ
अनि लगाइदिन्छ
महाअभियोग
ठूलो घुम्ने कुर्सीले
सानो घुम्ने कुर्सीलाई
ठुलो माछाले
सानो माछालाई जस्तो
अत्ताइदिन्छ
हुत्ताइदिन्छ
२०१५ सालको विनाशकारी भूकम्प जस्तो
ठूलो झटकाले
हल्लाइदिन्छ

ऊ यति
अभिमानी बन्छ
सोच्नै सक्दैन
आफूलाई सर्वोपरि ठान्छ
हूकुम जमाउछ
तर
त्यति पनि थाहा पाउदैन
अर्काको कुर्सी हल्लाउदा
आफ्नो कुर्सी पनि हल्लन्छ
आखिर उ पनि त्यही देशमा छ
उ पनि एउटा देशवासी हो

676 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank