चीनले १० लाख डलर दिन लिष्ट माग्यो तर हामीले दिन सकेनौँ, अव त्यस्तो नहोस्ः पूर्वराजदूत आचार्य

शनिबार, बैशाख १५, २०७५



काठमाडौँ । चीनका लागि पूर्व राजदुत एवम् परराष्ट्रविद् राजेश्वर आचार्यले वर्तमान सरकारले समृद्धि र सुशासन हाँसिल गर्नेगरि काम गरिरहेको बताए । नेपालको अर्थ नीति निर्यातमुखी हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने ‘नेपालको सार्वभौमिकता अनुसार नै देशका आर्थिक योजनाहरू बनाउनुपर्छ ।’

सन् २००१ म चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा नेपाललाई दश लाख डलर दिन्छौं भनेर लिष्ट माँग्दा नेपालले दिन नसकेको दयनीय अवस्था स्मरण गर्दै आचार्यले भने, ‘उनीहरुले हामीलाई सहयोग गर्छौं भन्छन, तर लिष्ट माँग्दा हामीले दिन सकेनौं, त्यसैले हामीले हाम्रा प्राथमिकताहरू पनि निर्धारण गर्नुपर्छ ।’

नेपालले आफ्ना अर्थतन्त्रका आधारहरूलाई बढाउनुपर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सफल भारत भ्रमण गरेको उल्लेख गर्दै उनले भने,‘प्रधानमन्त्री ओलीजीले सफल भारत भ्रमण गर्नुभयो, अब १०÷१२ दिनभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, फाईदा लिनको लागि नेपालले कति होमवर्क गरेको छ ? त्यो त हेर्न बाँकी नै छ ।’

सरकारको सुरुवाती अत्यन्तै सराहनीय रहेको आचार्यको तर्क छ । उनले भने, ‘सरकारको सुरुवातीकरण धेरै राम्रो छ, पूर्व–पश्चिम रेलमार्ग बनाउने कुरा होस्, या बीरगन्ज–काठमाडौं रेल सञ्चालन गर्ने कुरा नै किन नहोस्, यी कामहरू सम्पन्न हुन कम्तिमा १० वर्ष लाग्ला, तर हुन्छ ।’ त्यस्तै उनले चीनले धेरै कुरा बोल्दै नबोल्ने तर बोलेपछि गरेरै छाड्ने बताए ।

‘चीनले धेरै ढिलो भएपनि ल्हासासम्म रेल कुदायो, तर बोलेको कुरा पूरा गरेरै छोडेको छ’ आचार्यले भने,‘रिभर डाईभर्सन प्रोजेक्ट(साउथ–टु–नर्थ) पुर्याएर छाड्यो।’ कुटनीतिमा आपसी विश्वासले धेरै अर्थ राख्ने उनको भनाई थियो ।

नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिन नहुने उनको भनाई छ । उनले भने ‘नेपालले भारत र चीन दुवैको राष्ट्रिय सुरक्षालाई ध्यान दिएर नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिनुहुँदैन्, चीन र भारतसँग नेपालले ‘ट्रष्ट गेन’ गर्नुपर्छ, हामी उनीहरुको गुड बुकमा हुनुपर्छ ।’

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank