राज आशातीतका तीन कविता

शुक्रबार, फाल्गुन १०, २०७५

- राजु झल्लु प्रसाद



पिता स्व. जय प्रसाद दंगाल र माता राधादेवी दंगालको सुपुत्रको रुपमा २०४१ साल भदौ ११ गते इटहरीमा जन्मिएका राज आशातीत नेपाली संकाय अन्तर्गत एम. ए. अध्यनरत छन् । ५० को दशकदेखी निरन्तर कवितालेखन लागिरहेका आशातीतसँग समाकालिन नेपाली कविताको वरिपरी रहेर कुराकानी गरेका थियौं ।

प्रस्तुत:छ उक्त कुराकानीको संक्षिप्त अंश:-

 

  • तपाईंको कविताको केन्द्र के हो ? परिवर्तित देश ? विकृत राजनीति ? आन्दोलित नेपाली मन ? या नैतिक मुल्यको स्खलन ? तपाईं  वर्तमान नेपाली समाज लेखिरहनु भएको छ । कत्तिको चुनौतीपूर्ण लाग्छ ? सहज पनि छ र ?

वास्तवमा कुनैकुराको केन्द्र हुन्छ/हुनुपर्छ यो कुरा मलाइ चाहिँ लाग्दैन, तपाईंको सिंगो मस्तिष्क तपाईंको केन्द्र हो । रह्यो कुरा कविताको … म त जम्मा आत्मसन्तुष्टिका लागि लेखन गर्ने मान्छे। सामयिकतालाइ दर्शनको तराजुमा राखेर जोख्दा यावत् मध्यमार्ग मात्रै समस्या हुन् नेपाली कविताका जो आफूले उचालेका भरमा कसैलाइ केही बनाउन सकिन्छ भन्ने भ्रम पालेर बसेका/ बाँचेका छन्। सहजताकै कुरा गर्दा त म मेरा अफ्ट्याराहरुलाइ निस्तेज पारिसकेर निस्केको मान्छे … संसार सजिलै छ नि ।

 

  • एक पक्ष भन्छन, “सामाजिक जिवनको एउटा कमजोर र  अव्यावहारिक मान्छे कवि हो ।” अर्को पक्ष पनि छन, “कवि एक अहमवादी मान्छे हो ।”  कवि को हो त तपाईंको विचारमा ?

हेहे झल्लु बाबू … ब्यबहारिकतालाई गज्जबले धानेर म पनि कविता नामको केही अभ्यास गरीरहेछु । अहमकै कुरा गर्दा त कतिले आफ्नोपनलाइ त्यसको नाम दिइरहेका हुन्छन् । म त भन्ने हो भने सकेको अवस्थामा निकाला गरिसक्नुपर्ने मान्छे हो यो ढोंगी समाज / संस्कारले आफूबाट! अब अहिलेको उल्का समयमा सैधान्तिकताको आड लिएर फ्याट्ट कसैलाइ फलानो चैं कवि हो भन्ने अवस्था नै कहाँ रह्यो र?

  • शान्ति र संविधान, सहमति, रास्ट्र र रास्टृयता, मानवता या नैतिकता; अहिलेको राजनीतिक वृत्तमा सर्वाधिक चर्चित शब्दहरु हुन् । उसो त नेपाली कविता वृतको चर्चित शब्दहरु पनि यिनै हुन ? साहित्यले राजनीतिलाई पीडित बनाएको हो या राजनीतिले साहित्यलाई निन्दित गराइरहेको हो ? समकालीन नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

समकालीन नेपाली साहित्यको अवस्था त हिजोभन्दा पनि नाजुक पो देख्छु/ देखिरहेछु म त । सबैथोकमा ट्रेन्ड चलेको छ … चल्तिका शब्द खेलाएर like, comment बटुल्नुमात्रै साहित्य हो ठान्ने नवजमातले जिम्मेवर हुनु जरुरी छ । (कू) राजनीतिको हावाले छोएको साहित्य पनि अहिले आफूलाइ राजनितिकै हाराहारीमा उभ्याउन प्रयासरत छ तर नितिहरुको राजा नितिको यो स्वभन्जना खेदपूर्ण छ । साहित्य राजनीतिलाई दिशानिर्देश गर्ने मूल तत्व हो तर दल/उम्मेद्वारको चुनावी प्रचारको माध्यमका रूपमा साहित्यले आफ्नो हैसियत गुमाइसकेको अवस्था छ । सामयिक नेपाली बौद्धिकताको कन्तबिजोक हेरीरहँदा समकाल च्याउजस्तो भएका कारण हाम्रो साहित्यको भविष्य मौसमले इङीत गर्छ यत्ती चैं म भन्नसक्छु ।

प्रस्तुत: छ उहाँको तीन कविता:-


“आकाश शोक मनाउँदैन”

मोतीदाना झैं झल्मलाउंदै ओर्लने

जूनेली बर्षात,

कुना-कुनाको दृश्यमापनमा

अभ्यस्त तस्वीरांकन्,

यस्तो लाग्छ म बाटै खसीरहेछन् …

समयको योजनाले

सिंगै खुसीको पहाड भत्काइदिएको छ!

शिरमाथी थपक्क बसेको प्रेरणाको

अवसान हेरीरहेको छ … मन

एउटा घुम्तीमा मोडिएपछी ….

अनन्त लाग्ने त्यो मुहार अलप भएको छ,

वास्तविकता नामको मझेत्रो ओढेर मान्छे,

मान्छेकै उछितो काढ्दैगरेको संस्कृतिमा

पलापीन बानी परेका आंखाहरु …

अतीत र प्रेमले भरीएर आउने श्रद्धा ..

अस्तित्व र प्राणले धानेको जिन्दगी …

सम्पुर्णताको अर्को अध्याय,

यसरी खसेको छ शान्त नदीमा पहिरो झैं!

हृदय जड बनाउन बानी गरेर जीवन…

निजि बाटो आफ्नो यात्रामा छ …

“आकाश जस्तो बिशाल हुनुपर्छ छाती”

:- यिनै शब्दहरु दोहोरीन्छन् अघिल्तिर!

त्यो सर्वश्वले अपनाएको बिशालता

समेट्ने सामर्थ्य राख्ने प्रयत्नमा …

म बुझ्दैछु बा !

जिन्दगीको सिंगै जून झरेपनी …

आकाश कहिल्यै शोक मनाउंदैन!!


“गाउँको बिजुवा”

रन्किएको पत्थरकोइला झैं

गोलभेंडे आँखा

फलाक्दा निस्किने थुकका छिटाहरु

संगै

आराखाको तीखो हरक

ढ्याङ ढ्याङ, ढ्याङ ढ्याङ

ढ्याङ्रो

अनि

झर्के थालको मनोरम संगीतमा

काटेको बोको झैं

एकनास उफ्रिरहने

ए बिजुवा!

खै त!

बोलाउ न तिम्रो

खोला देउ

अनि

घरघर पस्ने

यो

बेइमानी खोला थुन्देउ।

लु त बोलाउ

तिम्रो वायु देउ

र छोपिदेउ

धुरीसहित उडिगएको छानो।

खै तिम्रा !

सिमे

भुमे

अनि

वन देउ!

जो सपेराले बीन बजाउंदा झैं

तिम्रा अघि नाचिदिउन!

ए मेरो गांउको बिजुवा

तिमि यत्ति जान्नेभा

किन?

निख्खुर कालो भाले खोज्थ्यौ

अनि बोका, सुँगुर र परेवा मन्साउंथ्यौ

मैले था पाउंदै

तिम्री स्वास्नी पोइल गएकी हो

तिम्रो हरिलाइ हैजाले लगेको

मेरै आँखा अगाडि हो

अनि

तिम्री फुलजस्तै फुलमाया

निमोठिएकी हो बेखबर

कुनै कोठरीमा।

ए मेरो गांउको विजुवा!

के अझै तिम्रो रगत तातै छ?

तिम्रा सांप्रामा

गुजुल्टिएको नसाको डल्लो

तिम्रै विचार हो?

खै!

कसको के प्राप्तिका लागि हो

थुकका छिटाहरुसंगै

आराखाको तीखो हरक छोडेर

ढ्यांग्रो अनि झर्के थालको तालमा

नाचिरहन्छौ … नाचिरहन्छौ!


“रंग”

ए सांइली!

मेरो बाटोबाट किन तर्किंदै हिंड्छेस?

छेउ पर्दा नि

छोइन्छ झैं गर्दै परपर हुन्छेस।

के मात्रै बिगार्देको छु र मैले

आज म बाट टाढाटाढा जान्छेस हं?

कोकुले छान्देको जांडको डबको

कहिल्यै एक्लै सिध्याउन दिइनस।

मेरा हजुर्बाले खान हुन्न भनेको

सुंगुरको जोडि कान

जति हत्ते गरेपनी

जहिल्यै …

एउटामात्र भाग पर्थ्यो मेरो।

आज कसरी,

तेरो नाक थेप्च्याएर

मेरो नाकको उचाइ बढेको अनुभुती गरिस?

उधौली-उभौलीमा संगै नाच्दा

मैले समाएको आफ्नै हात अपवित्र संझिस!

बालापनका दुरुस्त सपनाहरू कसरी

चटक्क बिर्सन सकिस तैंले?

अनि कसरी तेरो प्यारो म बाट

असमानता र थिचोमिचोको अनुभुत गरिस?

भन्न, ए सांइली…..

तेरो र मेरो रगतको ‘रंग’

कुन चैं गाढा छ हं??


Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata