नयाँ राजारानीको सम्पति माथि छानबिन हुनु पर्दछः सांसद लिङदेन

बिहिबार, असार २८, २०७५



काठमाडौं ।

प्रतिनिधि सभाको बैठकमा देशमा देखा परेका नयाँ राजारानीको खोजी गरी उनीहरुको सम्पत्ति माथि तत्काल छानबिन गर्न माग भएको छ । राप्रपाबाट निर्वाचित तर संंसदमा स्वतन्त्र सांसदको रुपमा रहेका सांसद राजेन्द्र लिङदेनले बिहीबारको विशेष समयमा बोल्दै सरकारसँग यस्तो माग राखेका हन् ।

सांसद राजेन्द्र लिङ्देनले विगतमा सम्पूर्ण देशको बजेट तत्कालीन राजपरिवारले मात्रै उपभोग गर्दै देशको ढुकुटी नै स्वीस बैंकमा जम्मा गर्ने गरेको भन्ने आरोप रहने गरेको कुरा स्मरण गर्दै देशमा हाल गणतन्त्र स्थापना भएको तथा राजतन्त्रको अन्त्य पश्चात् पनि नेपालीहरुले अहिले ३३ अर्ब नेपाली रुपियाँ स्वीस बैंकमा राखेको भन्ने खबरहरु संचार माध्यममा आएकाले स्वीस बैंकमा पैसा राख्ने नयाँ नेपाली राजारानीहरुको खोजी गरि उनीहरु माथि छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
विशेष समयमा बोल्दै सांसद लिङदेनले संघीय संसद अन्तर्गतको संयुक्त बैठक संचालन सम्बन्धि नियमावली, २०७५ अनुसार हालै गठन भएको संसदीय सुनुवाई समिति गठन प्रति पनि आफूहरुको असहमति रहेको बताएका छन् ।
त्यसैगरी विशेष समयमा बोल्दै नेकपा(नेकपा)का सांसद अमनलाल मोदीले हरेक वर्ष आईपर्ने बाढि, पहिरो र डुवानका समस्यालाई मध्यनजर गर्दै सरकारले विपद व्यवस्थापनको लागि समयमा नै पूर्व तयारी गर्नु पर्ने भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले अहिले मोरङ्ग–सुनसरी सिंचाइँ आयोजना क्षेत्रका बासिन्दाहरु बाढिका कारण त्रसित अवस्थामा रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि सरकारसँग माग गरे ।
विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले लोकतन्त्रमा जनता देखि सरकार डराउने र तानाशाही अवस्थामा सरकार देखि जनता डराउने दिन आउने भएकाले अहिलेको सरकारले जनतालाई आतंकीत पार्ने मात्र काम गरेको आरोप लगाएका छन् ।
संस्कृत विश्वविद्यालयका उपकूलपति कूलप्रसाद कोइरालालाई सरकारले विदेश जान रोक लगाएर विमानस्थलबाटै प्रहरी लगाएर बालुटार लगेपछि प्रधानमन्त्रीले उनलाई भेट समेत नदिएको विषय सामान्य रहे पनि कुरा भने गम्भिर रहेको भन्दै सांसद गिरीले सरकारको उक्त कदमको विरोध गरेका छन् ।
नेपाली कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुुले अहिले महाकाली नदिको पानीको सतह ज्यादै धेरै बढेको, डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा पहिरोको जोखिम उच्च रहेको तथा संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई विदेश जान रोक लगाएको विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराए । त्यस्तै विशेष समयमा राजपाका सांसद अनिलकुमार झाले अनसनरत डा.गोबिन्द केसीको सत्याग्रहलाई गम्भिरता पूर्वक लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा समेत आफ्नो धारणा राखेका थिए ।
यसैबीच, प्रतिनिधि सभाको बिहीबारको बैठकले ‘लेखा परीक्षण विधेयक’लाई पनि बैठकको सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७५, आर्थिक विधेयक, २०७५, राष्ट्र ऋण उठाउने विधेयक, २०७५ तथा ऋण तथा जमानत (बाईसौं संशोधन) विधेयक, २०७५ पारित गरी पठाइएको सन्देश टेबुल समेत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असार ३१ गते दिउँसो १ बजेका लागि बोलाईएको छ ।

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank