खाद्य सङ्कट टार्न वडा कार्यालयले बाँड्यो, २५ क्विन्टल चामल र ५ क्विन्टल नुन

आइतवार, चैत्र २३, २०७६

- दयाराम पण्डित



बाजुरा । नेपालकै कान्छा जनप्रतिनिधि  बडिमालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावलले शनिवार दिउँसो वडावासीलाई राहत सामाग्री वितरण गरेका छन् ।

विश्व कोरोना भाइरस कोभिड- १९को सङ्क्रमणबाट बच्न लकडाउन भइरहेको बेला वडा अध्यक्ष रावलले चामल, नुन, र साबुन सहित राहत वितरण गरेका हुन् । बडिमालिका नगरपालिका वडा नं ८ का  ५९० परिवारको पारिवारिक स्थिति हेरी ५ देखि २५ किलो चामल एक केजी  नुन र एक चक्की साबुन बाँड्ने काम सुरु भएको वडा अध्यक्ष रावलले बताए। देशमा भइरहेकाे  लकडाउनको अवस्थालाई मध्यनजर गर्दै एक पटकमा बडीमा १० देखि १५ जना जम्मा गरेर राहत सामाग्री वितरण गरेको हो । वडावासीको खाद्य सङ्कट टार्न २५ क्विन्टल चामल, ५ क्विन्टल नुन र परिवार एक चक्की साबुन वितरण गरेका छन् ।

वडाको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी बस्ती बस्तीमा पुगेर राहत वितरण गर्न थालिएको वडा सदस्य नरबहादुर अयडीले बताए। लकडाउनका कारण दूध, दौरा गिट्टी बालुवा बेचेर पनि पेट पाल्न नपाएको भन्दै वडा कार्यालयमा जनताको गुनासो आएकाले उनीहरूकाे जीवन रक्षाका लागि राहत स्वरूप उपभोग्य सामाग्री वितरण गरेको वडा सदस्य अयडीले जनाएका छन ।  खाद्यान्न अभावका कारण गरी पेट पाल्नेको बिहान बेलुकी चुलोमा आगो बल्न छोडेपछि थोरै भए पनि राहत महसुस भएको स्थानीयले बताएका छन् ।

चैत्र महिनामा घरको अनाज सकिने र हिउँदे वाली पाकेको छैन । यसै पनि बाजुराका अधिकांश क्षेत्रमा यो समयमा खाद्यान्न सङ्कट हुने गर्दछ । कोरोना महामारीका कारण दैनिक ज्यालादारी काम पनि ठप्प भएपछि थप सास्ती ब्यहाेर्नु परेको छ ।

लकडाउनका कारण रोजगारीका सबै बाटा बन्द भएपछि बाँच्न मुस्किल परेको अवस्थामा थोरै भए पनि राहत मिलेको स्थानीय युवा वीर बहादुर थापाले खुसी व्यक्त गरेका छन् । उक्त सामग्री एक लाख पचास हजार रुपैयाँ बराबरको रहेको छ । राहत सामग्री धनगढी र मार्तडी बजारबाट  खरिद गरी सिधै वडामा पु¥याएको वडा सदस्य अयडीले बताए । मार्तडीमा अरुवा मोटो चामल ४ हजार चार सय रुपैयाँ प्रति क्विन्टल पर्छ । वडा अध्यक्ष रावलले गत साता पनि वडावासीलाई २ हजार थान मास्क वितरण गरेका थिए ।

त्यसै गरी बाजुराका विभिन्न स्थानीय तहमा साबुन र मास्क वितरण गरेका खबर प्राप्त भएका छन् । कोरोनाबाट बच्न बाजुराका नगरदेखि गाउँ बस्तीसम्म जनचेतना फैलाउने,हेल्पडेस्क , क्वारेन्टाइन तथा आइसोलेसन कक्ष व्यवस्थापन र राहत सामाग्री वितरण लगायतका कार्य तीव्र रूपमा भएका छन् । कोरोनाबाट बच्न सुरक्षा संयन्त्रको एकीकृत कार्य बाहेक अन्य स्थानीय वडा , प्रदेश र सङ्घीय तहबाट आआफ्नै तौरतरिकाबाट एकल कार्य भइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments