मेरो सहरमा एउटा यस्तो मान्छे छ

सोमवार, फाल्गुन २६, २०७६



मेेरो यो सहरमा एउटा यस्तो मान्छे छ
जो लगाएर विभूती र गेरु वस्त्र
बोकेर चन्दन, अक्षता र फूलको झोली
हानिन्छ एकाबिहानै पशुपतितिर
फलैँचामा बसेर फलाकिरहन्छ नबुझिने शास्त्रका श्लोक
ग्रहदशा र भाग्यरेखा हेर्ने निहुँमा
मुसारिरहन्छ युबतीका नरम हत्केला
अनि हेरेर टुँढालहरुका रतिक्रिया
बाफिँदै ओर्लन्छ गौरीघाटतिर
अनि नाङ्गो लास हेर्दै
गर्दछ हस्तमैथुन
पोलेको मासुको गन्धको लामो सास तान्दै
उक्लन्छ गौशालाको महम्मद महसुरको होटल
दन्काउछ `बिफ बिरयानी´ र फर्कन्छ कोठामा ।

मध्यान्ह तिर,
मगन्तेको हुलिया फेरेर हुईँकिन्छ रत्नपार्क तिर
रातो मलम दलेर बेदाग कुर्कुचा भरि
लमतन्न सुतिरहन्छ
ओछ्याएर भुईँमा बटुवालाई बटुको
र टाँसेर आँखामा आर्तनादको आहत
मागिरहन्छ भोकको भिख ।

समसाँझै
पस्छ भोटेनीको भट्टि भित्र
तनतनी तन्काउछ दुई बटुको तोङबा
उडाइदिन्छ धुरितिर नशालु धुमौरो धुवाँ
र कान छोपेर कुनामा
निदाईदिन्छ नशालु निद्रामा ।

मध्यरातमा,
टिलिक्क टल्कने कोट र चमक्क चम्कने बुट लगाएर
हानिन्छ ठमेलको सातघुम्ति तिर
`नेपाङ्ग्रेजी´मा बोल्छ विदेशीहरुसँग अनि
सासै-सासमा साउती गर्छ
रातमा चारो खोज्न निस्केका चराहरुलाई
कानमै मुख जोतेर सोध्छ
`माल´खोजेको हो माल?
आउनुस म मिलाउछु आउनुस
कस्तो चाहियो भन्नुस
तान्ने कि खाने?
बस्ने कि लाने?

मेरो सहरमा एउटा यस्तो मान्छे छ
जो बिहानभरि भगवानलाई बेच्छ
दिनभरि ईमानलाई बेच्छ
साँझभरि आफैलाई बेच्छ
र रातभरि सप्पैलाई बेच्छ

के तपाईं चिन्नुहुन्छ उसलाई ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments