रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष

सोमवार, चैत्र १७, २०७६



प्युठान । कोरोना भाइरस (कोभिड—१९)को सङ्क्रमण फैलन नदिनका लागि प्युठान अस्पतालले रूघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सजगता अपनाउनका लागि अस्पतालले रूघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।

रूघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट सङ्क्रमित देखिएमा उनीहरूलाई उपचारका लागि आइसोलेसन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिए । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित बिरामी नआएको उनले बताए ।

निमित्त सुपरिन्टेन्डेन्ट डा.पन्थीले अस्पतालले ४ वटा आइसोलेसन बेड बनाएर तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आवश्यकता परेमा त्यसलाई विस्तार गर्दै लैजाने बताए ।

मौसमी रूघाखोकीका बिरामीहरूले पनि कोरोना भाइरसको आशंकामा बढी त्रसित हुने गरेको उनले बताए । सो अस्पतालमा छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीलगायत बिरामी उपचारका लागि आउने गरेका छन् ।

ज्वरोका बिरामी बढ्दै

ज्वरोका दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । मौसम परिवर्तनसँगै अहिले रूखाखोकी र ज्वरोका बिरामी बढी देखिने गरेको डा.पन्थीले बताए ।

ओपीडी तथा ल्याव सेवा निःशुल्क

लकडाउनको समयमा अस्पतालमा आएका बिरामीहरूका लागि ओपीडी तथा ल्याव सेवा, औषधिसमेत निःशुल्क प्रदान गरिँदै आएको अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. पन्थीले बताए ।

कोरोना सङ्क्रमणको समयमा सरकारले गरेको लकडाउन शुरू भएदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । साथै जिल्लामा रहेका दीर्घरोगीलाई आवश्यकताका आधारमा घरमै गएर उपचार गरिने डा. पन्थीले बताए । रासस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments