फुटपाथ एक, समस्या अनेक !

नेपालपाटी टिप्पणी

सोमवार, साउन १३, २०७६

- राजेन्द्र भट्ट



“चोकचोकमा हरियाली पार्क बने । साइकल र पैदल मार्गको सञ्जाल बढे । ठाउँ-ठाउँमा पुस्तकालय खोलिए । भरपर्दो सार्वजनिक यातायात चल्न थाले । शहरले सास फेर्न खुला स्थान पायो । जमिनले रिचार्ज हुन पायो । सिमेन्ट र अलकत्राबाट शहर जोगाउन जनस्तरदेखि क्रियाशीलता बढ्यो ।”… काठमाडौंवासीले काठमाडौंको बारेमा यस्ता कुरा गरे भने ? छोड्नुहोस्, यो ज्यादै काल्पनिक प्रसंग हुनेछ ।

एउटा वास्तविक प्रसंगबाट कुरा शुरु गर्यौं क्यारे- एक व्यक्ति शहर आएछ । बसबाट ओर्लिएछ । फुटपाथ हुँदै हिड्न खोजेछ तर सकेनछ । बाध्यतावस मूल सडकको बाटो समातेछ । त्यति नै खेर उसलाई  ट्राफिक प्रहरीले समातेछ ।

ट्राफिक प्रहरी- “के हो भाइ फुटपाथबाट हिँड्नुपर्छ भनेर थाहा छैन ?”

व्यक्ति – ” थाहा नभएर होइन हजुर ।

ट्राफिक प्रहरी – “अनि किन नहिडेको त ? हिड्न पर्दैन ?

व्यक्ति- “पर्थ्यो ! “

ट्राफिक प्रहरी- “खुरुक्क फुटपाथमा जानुहोस् । फुटपाथबाट हिड्ने बानीको विकास गर्नुहोस् ।”

व्यक्ति – “बानी त विकास गरौंला  तर  फुटपाथमै अट्दैनौं, अनि के गर्नु त ?

हो, काठमाडौ यस्तै छ। यहाँका फुटपाथमा पैदल यात्रीहरु अट्दैनन् । अपांग/अशक्तहरुलाई  ह्विलचियर गुडाउन मनाही छ  ।  एक-अर्कासँग नजुधिकन, नठोक्कीकन हिड्नु असम्भवप्राय भइसकेको छ । अफिस टाइममा फुटपाथमा हिड्दा बिजुली/खानेपानीको लाइन बसे भन्दा किमार्थ फरक छैन, शहर ।

मुलुकको मुटु हो- राजधानी । अन्तर्राष्ट्रिय एयरपोर्ट देखि केन्द्रिय कार्यालयहरुसमेत यहि छन् । रहरले होइन बाध्यतावस  उपत्यका बाहिरका आममानिसले आउजाउ गर्नैपर्ने ठाउँ हो राजधानी । त्यसबाहेक उपत्यकाको व्यस्त दैनिकीको थिचोमिचो सहेर बाचीरहेको छ, राजधानी । कुनै समय पनि शान्त रहँदैन् काठमाडौं शहर अर्थात् राजधानी । अबेर राति पनि चिया उमालेर जागाराम बसिरहेको हुन्छ । लामो/छोटो दुरीको यात्रा र यात्रुले बिहान ४ बजे देखि राती ८ बजेसम्म सास फेर्न सम्म दिँदैन् यस शहरलाई  । दिनभर सडक देखि फुटपाथसम्म मानिसको हानथाप चल्छ । हताशा र अत्यासलाग्दा दैनिकीको चपेटा लगातार चेपिइरहेको छ राजधानी ।

भाँडा पसल, लुगा, इलेक्ट्रोनिक ग्याजेट, जुत्ता/चप्पल/ खानाका ठेला देखि जुत्ता सिउने/मेहन्दी लगाईदिने/ दाँत टल्काइदिने/कार्पेट सफा गरिदिनेहरुको मात्र होइन सामान्य नागरिकको जीवनयापन शहरिया बनाइदिने सुपथ वा सस्तो  ‘मुल्य व्यपार’ले मच्चाईरहने  स्वरसरावाको  संगीतमा झुमिरहने शहर हो-काठमाडौं ।   चोक, गल्ली र फुटपाथमा  दिउँसो ३ बजेपछि पाइलो राख्ने ठाउँ भेट्न मुस्किल छ । फुटपाथ व्यापारीले कोटेश्वर, कलंकी, त्रिपुरेश्वर, चाबहिल, बौद्ध लगायतका क्षेत्रहरुको फुटपाथ पुरै कब्जा गरिदिन्छन् । बिहानको ५:०० बजेदेखि ९:०० बजेसम्म र दिउँसोको ३ बजेदेखि रातको ८:०० /८:३० बजे सम्म यी क्षेत्रहरु फुटपाथ व्यापारीहरुको कब्जामा रहन्छ ।

फुटपाथ पसल व्यवस्थापनका लागि खटाइएका काठमाडौ महानगरपालिका अन्तर्गत नगरप्रहरी पनि फुटपाथको भीडमा देखिन्छन् । तर उनीहरू फुटपाथ व्यापार व्यस्थापन गर्न भन्दाआफ्नै दैनिकी चलाउन तीनिहरुकै भर परिरहेको भेटिन्छन् । सित्तैमा पाए चुक पिउँछन् भन्ने उखानलाई मर्न नदिन नगरप्रहरीहरु हरदम कोसिस गरिरहेको भेट्ने घटना फुटपाथे व्यापारीबाट प्राप्त पान/पराग चपाउँदै  विभित्स ढंगले थुकीरहेका भेटिन्छन्  ।

फुटपाथ व्यापारका कारण चोक अशोभनीय त देखिएको छँदै छ, अस्वस्थ, वृद्धवृद्धा, गर्भवती, केटाकेटी र शारीरिक अपांगता भएकाहरुलाई निकै कष्टकर जीवन व्यतित गरिरहेका छन् । यति मात्र होइन फुटपाथको दोहन सडक अगाडीका पसलेहरुले समेत अचाक्ली ढंगले गरिरहेका छन् । यात्रुका लागि निमार्ण गरिएको फुटपाथ व्यपारीहरुको व्यापार थलो बनेपछि पैदल यात्रु मूल सडकबाट हिड्न बाध्य छन् ।

नेपालको सडक मापदण्ड, २०७० (संशोधित) भएको छ । नयाँ मापदण्ड अनुसार व्यस्त ठाउँमा कम्तिमा १.५ मिटर फुटपाथ हुनुपर्ने छ । फुटपाथमा मान्छेको चाप अनुसार चौडाई बढाउनु पर्ने हुन्छ । ५ सयभन्दा बढी मानिस आवतजावत गर्ने सडकमा १.५ मिटर चौडाईको फुटपाथ हुनुपर्ने मापदण्ड रहेको छ । त्यस्तै १५ सय जना हिँड्ने सडकमा भने २ मिटरको फुटपाथ हुनुपर्ने व्यवस्था छ । ३५ सय मानिसले प्रयोग गर्ने ठाउँमा ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विश्वव्यापी रुपमा फुटपाथको चौडाई ४ मिटर हुनु पर्ने मापदण्ड रहेको छ । तर, हरेक ठाउँमा सोहि मापदण्ड अनुसार फुटपाथ निर्माण सम्भव नभएकाले कम्तिमा १.२ देखि १.५ मिटरको सम्मको फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ ।

एक अध्ययनअनुसार राजधानीमा ४० प्रतिशतभन्दा बढी पैदलयात्रु छन् । उसो त चीन सरकारको सहयातामा भर्खरै निर्माण सम्पन्न भएको कलंकी-कोटेश्वर सडकखण्ड स्थानीय र पैदलयात्रुका लागि बनाइएकै होइन भन्दा फरक पर्दैन । यस चोकमा ५० कि.मी. को दरले गाडी हाक्न मिल्ने व्यस्था अनुरुपको सडक डिजाइन भइ निर्माण सम्पन्न भइकन सरकारलाई हस्तान्तरण समेत भइसकेको अवस्था छ अहिले । जसको कारण बेलाबेलामा दुर्घटना समेत हुने गरेको पाइन्छ ।

कानुनत: सडक पेटीमा व्यापार गर्न नपाइने भएपनि प्रशासनको आँखा छलेर व्यापारीहरुले मनलाग्दी चलाएका छन् ।  ठेला, साइकल त कतै भुइमै पसल थापेर सामान बेचिरहेका छन् । यसरी व्यापार गर्नेहरुलाई हटाउन प्रशासनले विगतमा पटक पटक प्रयास गरेपनि  सन्तोषजनक नतिजा प्राप्त गर्न सकेको छैन ।

आम मानिसको आग्रह र सरकारी तवरको दबाब पश्चात ०७१ सालको मंसिर महिनामा सरकारले काठमाडौंलाई अस्तव्यस्त बनाएको भन्दै फुटपाथ पसलहरुलाई फुटपाथबाट हटाउन पहलकदमी शुरु गर्दै केहि स्थानहरुमा जबर्जस्ती गर्न बाध्य भयो । तर फुटपाथ व्यापारीहरु टसको मस भएनन् । पटक–पटक कारबाही गर्दा पनि फुटपाथ व्यवसायीले नटेरेपछि नयाँ नियम जारी गर्दै जफत गरिएको सामान फिर्ता नदिइ ति सामानहरुलाई लिलाम समेत  गर्यो । महानगरपालिकाले युद्ध जितेको  शैलीमा १७ हजार फुटपाथ पसल हटाउन सफल भएको घोषणा समेत गर्यो  । तथापी त्यसको केहि समयपछि नै फुटपाथ  पुरानो अवस्थामा फर्कदै अस्तव्यस्ततामा रमाउन थालिहाल्यो ।

महानगरको आंशिक सक्रियता पछी फुटपाथ व्यापारीहरु नयाँ स्थानको खोजि गर्दै काठमाडौंको रत्नपार्क, सुन्धारा, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कालिमाटी, स्वयम्भु, बालाजु र गोंगबु क्षेत्रमा बाटो पुरै छेकेर फुटपाथ पसल थाप्ने प्रवृत्ति झनै फैलन पुग्यो ।  त्यस यता पैदलयात्रुहरु मूल सडकबाट हिड्न बाध्य हुँदा लगातार यी क्षेत्रहरुमा ट्राफिक व्यवस्थापन कठिन बन्दै   गइरहेको छ ।

सानो लगानीमा सजिलै परिवारको आवश्यकता पूरा गर्न सकिने भएकाले काठमाडौंमा फुटपाथ व्यवसायीहरू दिनानुदिन बढिरहेका छन् । सडकमा व्यापार गर्दा भाडा तिर्नु नपर्ने र सरकारलाई कर पनि तिर्नु नपर्ने भएकाले अधिकांश निम्नवर्गीय नागरिकहरू फुटपाथको व्यापारमा आकर्षित भएका हुन् । सानो पुँजीबाट पनि सडक व्यापार गर्न सकिने र पारिवारिक आवश्यकता त्यसैबाट पूरा गर्न सकिने भएपछि निम्न आय भएका मानिसहरू यस व्यवसायमा संलग्न हुनु स्वाभाविक नै हो ।

व्यापारीहरु सडकमा पसल थापेर बस्नु आफुहरुको रहर नभई बाध्यता भएको भन्दै सरकारसँग उपयूक्त स्थानको व्यवस्था मिलाईदिन आग्रह गरिरहेका छन् । फुटपाथ व्यापार नै जिवीकोपार्जनको आधार भएको भन्दै सरकारले वैकल्पीक स्थानको व्यवस्था नगरुन्जेल सम्म फुटपाथ नछाड्ने बताउछन् ।

एकातर्फ सरकारी दबाब अर्कोतर्फ बाध्यता ! आजको दिनसम्म फुटपाथ व्यापारीहरु आन्दोलित बनिरहेका छन् । आन्दोलनमात्रै निकास हैन । सधैँ आन्दोलन गरेर समयलाई बर्वाद पार्नुभन्दा जिम्मेवार व्यवसायी बनी राज्यलाई विकसित र समृद्ध बनाउने अभियानमा लाग्नु व्यवासायी र राज्यको हितमा हुनेछ । सरकारले पनि अविलम्व निश्पक्ष छानविन गरी देशभर रहेका फुटपाथ व्यापारीहरुको विवरण संकलन गर्दै उनीहरुको मागको यथोचित सम्बोधन गर्न पहल  गर्नु पर्दछ । व्यापारीहरु पनि सरकारसँग जिम्मेवार ढंगले प्रस्तुत हुँदै आफ्नो कमजोरीहरु र आचरणमा सुधार गर्न आजैबाट तयार हुनु अत्यावश्यक भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata