प्रदेश ४ को मुख्यमन्त्रीमा दुई गुरुङबीच प्रतिस्पर्धा

बिहिबार, माघ १८, २०७४



प्रदेश नं. ४ मा एमालेका दुई नेता मुख्यमन्त्रीको प्रतिष्पर्धामा छन् । राष्ट्रिय सभाको निर्वाचनलगत्तै संसदीय दलको नेता छनोट प्रक्रिया थालिने भएपछि केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आन्तरिक हिसावमा लागेका छन् । पृथ्वीसुब्बा पार्टी अध्यक्ष केपी ओली र किरण उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन् ।

एमालेका १२ जना पार्टी पदाधिकारीमध्ये प्रदेश ४ मा आफू मात्र रहेको र सबैलाई समेटेर लैजान सक्ने भएकाले आफु नै दलको नेता र मुख्यमन्त्री बन्ने दावी पृथ्वीसुब्बाको दाबी छ । पार्टीमा सिनियर नेता भएको र प्रदेश संयोजकसमेत रहेकाले मुख्यमन्त्रीमा आफ्नो स्वाभाविक दाबेदार रहेको किरणको तर्क छ ।

६० मध्ये एमाले २७, माओवादी १२ र जनमोर्चाको तीन सांसद रहेका छन् । यस प्रदेशमा वाम गठबन्धनको बहुमत रहेको छ । त्यसैगरी कांग्रेस १५, नयाँ शक्ति २ र स्वतन्त्र १ सांसद रहेका छन् ।

पृथ्वीसुब्बा गुरुङको दावी

प्रदेश ४ मा पार्टी पदाधिकारीमध्ये म एक्लो हुँ । प्रदेशका सबै जिल्ला नेता तथा कार्यकर्ताले मलाई समर्थन गरेका छन् । पार्टीको पनि सबै तहबाट मलाई पूर्ण समर्थन छ । म निश्चिन्त छु कि म संसदीय दलको नेता हुन्छु । संघीय शासन–व्यवस्थाअनुसार प्रदेशले प्राप्त गरेको अधिकारअनुुसार प्रदेश ४ लाई आर्थिक रूपमा समृद्ध, सुन्दर र सुरक्षित बनाउन लाग्नेछु । सबैलाई समेटेर लैजानेछु । यो प्रदेशमा स्रोत–साधन पर्याप्त छ । जसले समृद्ध बनाउन सकिन्छ । सबैभन्दा योग्य प्रदेश बनाउनेछु । खानीमा हामी अगाडि छौँ, औद्योगिकीकरणमा पछाडि छौँ । यसकारण खानीको उपयोग र औद्योगिकीकरणमा जोड दिनेछु । कोरला नाका र त्रिवेणी धामले दुई छिमेकी देशलाई जोडेर विकासलाई अघि बढाउने योजना छ । विदेशबाट आउने विप्रेसनलाई उपयोग गर्ने योजना बनाएको छु ।

किरण गुरुङको दावी

म मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ । राष्ट्रिय सभाको बैठकपछि मात्र पार्टीले संसदीय दलको नेता बनाउने प्रक्रिया थालनी गर्दै छ । यसकारण २४ माघपछि पार्टीको आन्तरिक छलफल र तयारीअनुसार अघि बढ्नुपर्नेछ । सहमतिबाटै पनि म छानिन सक्छु । नयाँ संरचनाको थालनी भएको छ । संघीयताको मूल्य–मान्यताअनुसार अघि बढ्ने काम हुनेछ । स्थानीय तहलाई बलियो बनाउने, सुशासन कायम गर्ने काम प्राथमिकतामा छ । त्यसपछि विकास निर्माण पूर्वाधार तयारीको काम गर्नुपर्नेछ । प्रदेश ४ लाई पर्यटनको राजधानी बनाउने, संसारभरकै पर्यटकीय गन्तव्य बनाउने काम हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments