जेल !

बुधबार, जेष्ठ १५, २०७६



वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्णसेन ‘इच्छुक’ जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुकको पुर्खेयौल घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । दाङको लालमटियाबाट प्रारम्भिक शिक्षादिक्षा लिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । साम्यवादी आन्दोलनका अथक योद्धा, जनपक्षीय पत्रकार एवं विचारको कवि इच्छुक वर्गलेखकको रुपमा परिचित रहे(छन्) । इच्छुक जेलजीवन र शासकहरुको यन्त्रणाले गलाउन नसकेका शतिसाल स्तम्भ हुन् ।

इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख विक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए ।

शोकाञ्जली (२०४८), इतिहासको यस घडिमा (२०५५), बन्दी र चन्द्रागिरी (२०५७) उनको प्रकाशित कृतिहरु हुन् ।

प्रस्तुत: छ विद्रोही लेखक एवं जनकवि इच्छुकको ‘जेल’ शिर्षकको कविता:


जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहराबाहिर छौ
म यातनागृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ  काट्नु परे पनि त्यो जेल हुन्छ ।

जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरु बन्देज हुन्छन्
जहाँ हार्दिक भावनाहरुमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रीतबन्ध हुन्छ
बन्दूकको पहरा होस्
अथवा त्यो कानूनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बाजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम–बेमौसम बारुदहरु गर्जेर
सधैं रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र
मित्र, सधैं छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।

उही दिन सधैं उही रात सधैं
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank