सुखी ओली, समृद्ध प्रचण्ड !

नेपालपाटी टिप्पणी

बिहिबार, मंसिर ५, २०७६

- दीपेन्द्र पाण्डे



प्रधानमन्त्री ओली सपनावादी हुन् । उनको बुझाई छ- सपना देख्नुपर्छ । राजनीति गर्ने मानिसले सपना देखाउनु पनि पर्छ । असीमित मुर्छित सपनाका जन्मदाता प्रधानमन्त्री ओली आफ्ना सपना कार्यान्वयन गर्न रोगी शरीर घोट्दै छन् । दैनिक १८ घण्टासम्म एक मात्र लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्राप्तिको निमित्त खर्चेका छन् । विगत २१ महिनादेखि उनको नेतृत्वमा ‘सुखी नेपाली र समृद्ध नेपाल’को महाअभियान चलाइएको छ । तर प्रधानमन्त्री ओलीले चाहेको समृद्धिको सङ्केतसम्म कहिकतै देखा परेन । आफ्नो भावाना र स्प्रिटसँग हिँड्न नसक्ने मन्त्रीहरू प्रति उनको सार्वजनिक गुनासो मिडियामा आइरह्यो । अन्ततः मिडियाले पस्किएको गुनासो सही रहेको पुष्टि पछिल्लो मन्त्रीमण्डल पुनर्गठनले गरेको छ ।

संसदीय व्यवस्थामा मन्त्रीपरिषद् निर्माण, पुनर्गठन र सञ्चालन गर्ने विशेषाधिकार प्रधानमन्त्रीमा हुने सर्वसाधारणले समेत बुझेकै विषय हुन् । पार्टी पद्धतिमा आधारित लोकतन्त्रमा प्रधानमन्त्री बन्न पार्टी नै चाहिने, निर्वाचन पार्टीको घोषणापत्रको आधारमा लडिने कुरालाई विचार गर्दा पार्टी राजनीतिमा व्यक्ति गौण हुने र विचार प्रधान हुने मानिँदै आएको हो । मुलुकमा पछिल्लो समय अभ्यास गरिएको प्रधानमन्त्रीको मनोमानी हेर्दा पार्टीको घोषणापत्र भन्दा प्रधानमन्त्री ओलीको मुर्छित सपना हाबी भएको मान्नेहरू असङ्ख्य भेटिन्छन् ।

संसदीय राजनीतिमा प्रधानमन्त्रीले आफ्ना सपना, नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न कस्ता मान्छे उपयुक्त हुन्छन् ? कसलाई के जिम्मेवारी दिँदा मुलुक, पार्टी र उनको समेत भलाइ हुन्छ भन्दै जिम्मेवारी तोक्ने काम पनि प्रधानमन्त्रीकै मान्न सकिन्छ । पार्टीले प्रधानमन्त्री चुन्ने र प्रधानमन्त्रीले पार्टीका साथीहरूलाई कार्यक्षमता, कार्यकुशलता, लगनशीलता, योग्यता, निरन्तरता, त्याग, निष्ठाको आधारमा मन्त्री चयन गर्नु प्रधानमन्त्रीको दायित्व भित्र पर्दछ ।

विडम्बना ! प्रधानमन्त्री ओली आफ्ना सपनाको हत्या आफैँ गर्न विवश भएका छन् । मन्त्रीहरूले आफ्नो क्षमता देखाउन नसकेका,  जनता, पार्टी र उनको भावना अनुसार खरो उत्रन नसकेको, औसत काम मात्र गरेको निचोड पछि गरिएको पुनर्गठनले प्रधानमन्त्रीको बुझाई गलत भएको सन्देश गएको छ ।

नेपाल जस्तो देशमा आम जनताको मनसम्म पुग्ने र राष्ट्रले महसुस गर्न सक्ने अहम् जिम्मेवारी बोकेको गृह, अर्थ र परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीको सपनालाई अत्यन्त प्रभावित गर्ने कुरामा प्रधानमन्त्रीले आँखा चिम्लिएका छन् । आफ्नो कार्यकालमा हरेक जनताको घरघरमा स्वतःस्फूर्त फोटो झुन्डाउन पाउने अवसरलाई खेर फाल्दै प्रधानमन्त्री विचित्रको घेराबन्दीमा पर्न विवश भएका छन् ।

आफ्ना मानिसलाई संरक्षण गर्ने नाममा प्रधानमन्त्री ओली अलोकप्रिय कदम चाल्न राजी भएका छन् । उनको प्रिय अर्थमन्त्रीकै कारण निजीक्षेत्र, कर्मचारी र सामान्य व्यापार गर्ने मानिस समेत आतङ्कित बनिरहेका छन् । केवल कागजी वृद्धिदरलाई देखाउँदै आत्मसन्तुष्टि लिने आर्थिक प्रगतिले सरकारको लोकप्रियता नराम्रोसँग पातलिएको छ । सामान्य मानिसले समेत महसुस गर्न सक्ने आर्थिक परिवर्तनको सङ्केत कहिँकतै देखिएको छैन ।

गृह प्रशासन लथालिङ्ग छ, असङ्ख्य काण्डहरू छोपछाप पारेर राखिएका छन्, शान्ति सुरक्षा नाम मात्रैको छ, सामान्य मुद्दामा लाखौँ मानिस सडक उत्रने अवस्था गृह प्रशासनकै कारण सिर्जना भएका छन् । गृहमन्त्रीको कारण सरकारको लोकप्रियता र समृद्धिको नारामा धुलो जम्न पुगेको छ । दुई ठुला मुलुक भारत र चीनको समवेदना बुझ्दै दीर्घकालीन राजनीति शान्ति र स्थिरताको निम्ति परराष्ट्र मन्त्री बाधक बनेका छन् । केवल राम्रो अङ्ग्रेजी बोल्न जानेको भरमा गुटगत पुरस्कार प्राप्त गर्दै मन्त्री बनेका परराष्ट्र मन्त्रीले ‘इन्डो प्यासिफिक एजेन्डा’मा मुलुकलाई फसाउन राजी भएका छन् । छद्मभेषीहरू समेत राष्ट्रवादी बनेर निक्लिएको समयमा उनको मन्त्रालय बेनामी वक्तव्य निकालेर ‘कालापानी हाम्रो’ भन्दै बस्नमै राजी छ । यस्तो विषम परिस्थितिलाई प्रधानमन्त्रीले आँखा चिम्लिदिएका छन् ।

मुलुकको राजनीतिलाई दूरगामी प्रभाव पार्ने र समृद्धिको आधार निर्माण गर्ने मन्त्रालयका मन्त्रीलाई नछोएर मन्त्री परिषद् पुनर्गठन गर्न बाध्य प्रधानमन्त्री ओली विज्ञान, हिसाब र अङ्ग्रेजीमा कमजोर विद्यार्थीको शिक्षा सपार्न भन्दै सामाजिक, नेपाली र स्वास्थ्यको शिक्षक परिवर्तन गरे जस्तो काम गर्दै छन् । राम्रो नतिजा पस्कन झनै नराम्रो र अनुपयुक्त बाटो रोज्न बाध्य प्रधानमन्त्री ओलीले जीवनमा प्राप्त अत्यन्त सुनौलो अवसर खेर फालेका छन् ।

फेरी पनि प्रधानमन्त्रीको अपुरो, अधुरो र बाध्यात्मक कदमलाई मुलुकले केही समय पर्खनेछ । खुसी, सुखी र समृद्ध – ‘ओली प्रचण्ड’ फर्मुला जन्माउँदै चालिएको पछिल्लो कदमले ‘राम्रा भन्दा आफ्ना नै प्यारो’ भन्ने सिद्धान्तलाई संस्थागत गरिएको छ, जसले ओली सरकारको समृद्धिको सपना ‘एक कदम अगाडी, दुई कदम पछाडि’ पुगेको भन्न करै लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata