हार्ने निश्चित हुँदा कांग्रेसबाट जनजाती महिला उम्मेदवार

बुधबार, फाल्गुन २३, २०७४



काठमाडौँ । आगामी पाँच वर्षका राष्ट्रपति निर्वाचत हुन वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ ।

राईको प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन् । राष्ट्रपति निर्वाचनमा सर्वसाधारणले मतदान गर्न पाउँदैनन् । किनकी दलगत आधारमा राष्ट्रपति छनोट गर्ने मतदाता छन् ।

दोस्रो राष्ट्रपति निर्वाचनको बेलामा पनि अवस्था यस्तै थियो । हार्ने निश्चित भएपछि कांग्रेसले कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । पहिलो राष्ट्रपतिका लागि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले इच्छा देखाएका थिए । तर, तत्कालिन नेकपा माओवादी ठूलो दल भएको र माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि कांग्रेसले रामबरण यादवको नाम अघि सारेको थियो । जतिबेलासम्म एमालेले पनि राष्ट्रपतिको उम्मेदवार छनोट गरिसकेको थियो । एमालेले उम्मेदवार फिर्ता लिएर यादवको पक्षमा भोट हालेपछि यादव नेपालको पहिलो राष्ट्रपति बनेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि यो तेस्रो पटक निर्वाचन हुन लागेको हो । एमालेले मंगलबार राति राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपति उम्म्मेदवार बनाउने निर्णय गरेको थियो भने नेत्री राईलाई काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दुवै उम्मेदवार भोजपुरवासी
राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा जन्मेकी हुन् भने राईको जन्म २००६ साल असार १८ गते भोजपुरको सिनामकमा भएको हो । भण्डारी एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष हुनाका साथै एमालेका तत्कालीन महासचिव स्व मदन भण्डारीकी धर्मपत्नी हुन् । काँग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद् राई शहीद दिवानसिंह राईकी छोरी हुन् ।

आयोगका अनुसार निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने निर्वाचन तालिका छ । संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

निर्वाचन आचारसंहिता लागू
उम्मेदवारी मनोनयन दर्तासँगै बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । यो निर्वाचन आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने उल्लेख छ । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । तर, दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन । संविधानले राष्ट्रपति हुनका लागि संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नठह¥याएको भनी योग्यता निर्धारण गरेको छ ।

राष्ट्रपतिले संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने संविधानले व्यवस्था गरेको छ । संविधान धारा ६६ अनुसार राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिशमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संविधानमा उल्लेख छ । त्यस्तो सिफारिश र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ ।

निर्वाचनमा ८८० मतदाता
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक रहेको छ ।

संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संविधानबमोजिमको निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।

निर्वाचनको सिलसिलामा आयोगले मंगलबार मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको थियो । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरिदिएको छ । यसअनुसार एक जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा रु चार÷चार लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । तर, उम्मेदवारका लागि दर्ता शुल्क भने राखिएको छैन ।

471 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank