राष्ट्रपति सी’ को आजको कार्यतालिका: महत्वपूर्ण भेटघाट साथै समझदारीमा हस्ताक्षर हुने

आइतवार, अशोज २६, २०७६



काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि हिजो(शनिबार) नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आज(आइतबार) पनि निरन्तरता दिने भएका छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् ।

नेपाल भ्रमणको दोस्रो दिन आज चिनियाँ राष्ट्रपति सी’सँग नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ ।

नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा नेतासँगको भेटवार्तापछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । दुईपक्षीय भेटपछि दुई देशका अधिकारीहरुबीच विभिन्न विषयमा समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

राष्ट्रपति सीले हिजो(शनिबार) राष्ट्रपति भण्डारीसँग दुईपक्षीय कुराकानी गरेका थिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए । त्यसपछि उनी रात्रिभोजमा सहभागी भएका थिए ।

राष्ट्रपति सी’ले राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा  सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरुङ मार्ग निर्माणका लागि चीन प्रतिबद्ध रहेको समेत जनाएका थिए । रेलमार्गको बारेमा अध्ययन गरिने संकेत चीनले दिएको छ भने सुरुङ्ग मार्गका लागि पनि सहयोगको वचन दिएको छ । त्यसैगरी अन्य केही समझदारीमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । आफूले विभिन्न महत्वपूर्ण विषयमा आज प्रधानमन्त्री ओलीसँग कुरा गर्ने चीनका राष्ट्रपतिले शनिबार साँझको सम्बोधनका क्रममा बताएका थिए ।

सो अवसरमा नेपालका राष्ट्रपति भण्डारीले पनि नेपाली जनता चीनसँग रेलबाट जोडिन चाहेको भनेर चिनियाँ राष्ट्रपतिलाई झकझकाउने प्रयास गरेकी थिइन् ।

कार्यतालिका अनुसार उनी आजै स्वदेश प्रस्थान गर्नेछन् । उनी दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata