किन बहिस्कार गरे तीन दलले राष्ट्रपति निर्वाचन ?

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौं । नयाँ शक्ति, विवेकशील साझा र नेमकिपाले राष्ट्रपति निर्वाचन बहिस्कार गरेका छन् । राष्ट्रपति राष्ट्रिय जीवनमा ख्याती कमाएका व्यक्ति हुनु पर्नेमा एउटा पार्टी भित्रको गुट व्यवस्थापन गर्ने पद बनाइएकोले निर्वाचन बहिस्कार गरेको ती दलको दावी छ ।

नयाँ शक्तिले संसदीय लोकतन्त्रमा राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनुपर्नेमा उम्मेदवारमा त्यो गुण नभएकाले निर्वाचन बहिस्कार गरिएको जनाएको छ । ‘संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ । तर विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको देखिन्छ’ प्रवक्ता डम्वर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न सकेको देखिँदैन । यस प्रकारका अभ्यास भविष्यमा पुनरावृत्ति नहुने कुनै प्रत्याभूति छैन । त्यसैले यस्ता अभ्यासलाई समर्थन गरिरहनु वाञ्छनीय नदेखिएकाले नयाँ शक्ति राष्ट्रपति तथा उप–राष्ट्रपतिको निर्वाचन प्रक्रियामा सामेल हुने छैन ।’

विवेकशील साझाले राष्ट्रपतिमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गरेकाले बहिस्कार गरेको जनाएको छ । ‘संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष र दलीय आग्रहभन्दा माथि हुनुपर्ने भएपनि राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिन्छ’ पार्टी प्रवक्ता समेत रहेका प्रदेश नं ३ का संसदीय दलका नेता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गरेको देखिन्छ । अहिलेका राष्ट्रपतिका उमेदवारहरु जुन विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएकाले निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।’

नेमकिपाले पनि राष्ट्रपति निर्वाचन बहिस्कार गरेको छ । राष्ट्रपति सबैलाई स्वीकार्य व्यक्ति हुनुपर्ने भएपनि बहुमतको आडमा दलको नेतालाई उम्मेदवार बनाएको भन्दै निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको उसले जनाएको छ ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank