एमसीसीलाई अनावश्यक राजनीति गरेर तुहाउने कोशिस गरिँदै छ – कांग्रेस सहमहामन्त्री महत

शनिबार, पुस १२, २०७६



काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले एमसीसीलाई अघि बढाउन र संसदबाट अनुमोदन गराउने पक्षमा कांग्रेस रहेको बताएका छन् । उनले भने, ‘यो  हाम्रो पहलमा शुरु गरिएको हो, यसलाई संसदबाट अनुमोदन गर्ने पक्षमा हामी छौं । यो कांग्रेसले ठूलो पहल गरेर पाएको अनुदान हो । यसमा अनावश्यक राजनीति गरेर तुहाउने कोशिस नहोस् ।’ 

महतले नेपाल ट्रष्टको सम्पत्तिको व्यापक दुरुपयोग गर्न खोजिएको पनि आरोप लगाए । उनले भने,‘एउटै समुह जो यति समूह छ, यसलाई गोकर्णको रिसोर्टको नाममा होस्, वा कालिमाटीको जग्गाको पनि कुरा आएको छ, दरवारमार्गको जग्गा, लुम्बिनीको जग्गा छ, पहिलेको नियम नै परिवर्तन गरेर यस्तो निर्णय गरिएको छ, प्रधानमन्त्रीले रक्षामन्त्रीलाई अध्यक्ष बनाउनुभयो । गोकर्ण रिसोर्टको म्याद त ६ वर्ष बाँकी नै थियो, हतारमा अहिले नै २५ वर्ष म्याद थपियो, राज्यको बहुमुल्य सम्पत्ति न्यून मूल्यमा लिजमा दिने निर्णय किन गरियो ? नारायणहिटी दरबारअघिको जग्गाको पनि त्यस्तै गरियो, दिनु नै थियो भने प्रतिष्पर्धाको आधारमा किन दिईएन ?’

सरकारको यस्तो गलत कार्यको जनताले सुक्ष्म अवलोकन गरिरहेको र गम्भिरताको साथ लिएको पनि उनले बताए । आफ्नो पार्टीले सरकारको यस्तो गलत हर्कतको सदन, संसदीय समिति र सडकमा विरोध गर्ने पनि महतले जानकारी दिए । उनले भने, ‘राज्यको बहुमुल्य सम्पत्ति कौडीको भाउमा निहित स्वार्थ बोकेर निश्चित मान्छेहरुलाई दिने कुरा स्विकार्य हुँदैन् । कानूनको आडमा, बहुमतको आडमा तोडमोतोड गरेर विधि, विधानलाई आफ्नो अनुकुल बनाएर यो निर्णय गर्ने प्रवृत्ति छ, यो एकदमै गलत कुरा हो ।’

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments