आर्थिक क्रान्ति नै अवको मुख्य एजेण्डा हो- नेता सिंह

शुक्रबार, मंसिर २०, २०७६



विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जनताले समृद्धि खोजेको भन्दै आर्थिक क्रान्ति नै अवको मुख्य एजेण्डा भएको बताएका छन् । गणेशमान सिंह फाउण्डेसन विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले  सबै राजनीतिक दल अव समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

पटक-पटकको आन्दोलनबाट प्राप्त परिवर्तन सहि अर्थमा संस्थागत नभएको भन्ने गुनासो जनताले गरिरहेको बताउँदै उनले भने, “परिवर्तन सही अर्थमा संस्थागत भएन भन्ने जनताको गुनासो छ । दलहरुले जसरी राजनीतिक परिवर्तन मिलेर गरे, आर्थिक परिवर्तन ल्याउन पनि त्यसैगरि लाग्नुपर्छ । ”

०४६ सालको जनआन्दोनपछि गणेशमान सिंहको राजनीतिक आन्दोलनबाट प्राप्त परिवर्तन टिकाइराख्न आर्थिक क्रान्तिमा जोड दिनुपर्छ भन्ने भनाई अहिले थप सान्दर्भिक भएको उनले बताए । सबै दल मिलेर ल्याएको परिवर्तन संस्थागत गर्न आर्थिक क्रान्तिको आवश्यक्ता रहेको उनको भनाई थियो ।

“आर्थिक क्रान्ति जुन पार्टीले गर्न सक्छ जनताले त्यही पार्टीलाई साथ दिन्छन् । आर्थिक क्रान्तिमार्फत देशलाई सम्पन्नताको बाटोमा लैजान समृद्धिको अभियानमा सबै दल लाग्नुपर्छ,” उनले भने ।

त्यस्तै उनले आज पार्टी प्रवेश गरेर भोली नै अवसर खोज्ने चलन बढेको भन्दै चिन्ता पनि व्यक्त गरे । राजनीति सेवाका लागि लाग्नुपर्छ भन्ने कुरा गणेशमान सिंहबाट आजको पुस्ताले सिक्दा राम्रो हुने उनको सुझाव थियो ।

फाउण्डेसनको कार्यक्रममा सहभागि हुन विराटनगर पुगेका उनले कार्यक्रम अघि आधारभूत विद्यालय विराटनगरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments