प्रदिप रोदनका तीन गजल !

मङ्लबार, जेष्ठ १४, २०७६



वि.स. २०४३ साल जेष्ठ १० गते पालुङ्टार -९, पाण्डे बेशी, गोरखामा पिता देवनिधि पाण्डे र माता शान्ता पाण्डेको जेठो छोराको रुपमा जन्मिएका प्रदिप रोदनको वास्तविक नाम प्रदिप पाण्डे हो ।


प्रदिप रोदन

गोरखा क्याम्पसबाट स्नातकसम्मको अध्धयन गरेका रोदन मुलत: अहिले शिक्षण पेशामा आवद्द छन् । नेपालि गजल क्षेत्रको  प्रस्ट अनुहार रोदनको तीन गजल यहाँ प्रस्तुत गर्दछौं ।


सरकार तेरो सयौं घडेरी ,दर्जन घर ठिक छ!

मेरो दुई मृगौला छन् एक जफत गर ठिक छ!

मनाउन गार्हो हुन्छ नखोस बच्चाको खेलौना,

आमाले बुझ्छिन राख बरु च्यादर ठिक छ!

सबैभन्दा बनेको के हो? मेरो देश हो भन्यौ,

म प्रश्न अर्को बनाउँला तिम्रो उत्तर ठिक छ!

यी बुद्धिजीवीले बोकेर हिँडेका झोला भन्दा

एउटा मुर्खले बोकेर हिँडेको पत्थर ठिक छ!

कति गर्नु भो के के गर्नु के सोधेँ देखेकै छु,

के छ हजुर ?हजुरको हाल खबर ठिक छ!


सोचे अब छोराले शहरमा घर लिन्छ भनेर!

बा ले सोचेनन् आफू गाउँमै मरिन्छ भनेर!

तिमीलाई पोल्छ भनेर आगो नदिएको हुँ,

लोभ गरेको होईन आगो सकिन्छ भनेर!

रुवाउनु पनि त कहिल्यै छोडेन उसले,

के खुशी हुनु र आँसु पुछिदिन्छ भनेर!

कसैले चिन्दैनन् यो पीर लाग्दैन मलाई,

मुख छोप्न नपरोस कसैले चिन्छ भनेर!

तिमी कसरी मट्याङ्ग्रा बन्न राजी भयौ?

एकछिन गुलेलीमा बस्न पाइन्छ भनेर!


पछि छाती टेकेर हिँड्छ मुटु जलाएर हिँडछ!

यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिँड्छ!

कसको लागि किनेथ्यो सम्झिन नसके पछि,

एक प्रेमी अचेल आफै पोते लाएर हिँड्छ!

यो सानो अनाथ बालक को पर्छ यो शहरको,

कुन प्रेमले दुनियाँको जुठो खाएर हिँड्छ!

हिजोसम्म छोइन्छ भन्दै हिँड्थ्यो गाउँको मुखिया,

आमा किन ऊ अचेल मलाई सुमसुमाएर हिँड्छ!

देशको झन्डा च्यातिएको देखिन्छ पृष्ठभूमिमा,

एक जोर जुत्ता रातो कार्पेट ओछ्याएर हिँड्छ!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata