प्रदेश सभाको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन पाउने

शनिबार, माघ ६, २०७४



काठमाडौँ । प्रदेश सभाका सदस्यहरुको सपथको समय तोकिएसँगै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको समेत चर्चा हुन थालेको छ । प्रदेश सभाका सदस्य मात्र होइन, प्रदेश सभामा सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ । तर, त्यसरी नियुक्त मन्त्रीले शपथ ग्रहण गरेको मितिले छ महीनाभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्नु पर्ने हुन्छ ।

सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रदेश सभाको कार्यकालमा निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन । तत्काल कायम रहेको प्रदेश सभाको निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रदेश सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि भने योग्य हुने छैन ।

प्रदेश सदस्यको शपथ
प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments