भारतीय प्रधामन्त्री मोदी आउँदा प्रदेशभर सार्वजनिक विदा

मोदीको भाषणमा ५० हजार जनता उतार्न सर्कुलर

बिहिबार, बैशाख २०, २०७५



जनकपुर । प्रदेश २ सरकारले भारतीय प्रधामन्त्री नरेन्द्र मोदी आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश २ सरकारले वैशाख २८ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । २८ वैशाखमा मोदी जनकपुर भ्रमणमा आउँदैछन् ।

मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार जनता उतार्न प्रदेश सरकारले ८ वटै जिल्लामा सर्कुलर समेत जारी गरेको छ । जनकपुरको वाह्रविघामा नागरिक अभिनन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको थियो।

टोलीले प्रदेश २ का मुख्यमन्त्री, जनकपुर उपमहानगरपालिका मेयर तथा सुरक्षा अधिकारीसँग भ्रमण तयारीको जानकारी लिएको छ । टोलीले नेपाली पक्षलाई मञ्च व्यवस्थापनदेखि सुरक्षाको विषयमा सुझाबसमेत दिएको छ ।

मोदी गाडीमै जानकी मन्दिर जाने
मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।

पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए ।

मोदीसहित मञ्चमा चारजना मात्रै
मोदीले सम्बोधन गर्ने मञ्चमा चारजना मात्र राखिने भएको छ । मोदीसँगै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह मञ्चमा बस्नेछन् ।

160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank