ओली प्रचण्ड सम्बन्ध: भित्र एउटा-बाहिर अर्को !

मङ्लबार, चैत्र १, २०७३



दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्य दुई नेता पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको सम्बन्धमा अडिएको छ । दोस्ती, दुस्मनी फेरि दोस्ती निकै उतार चढावमा प्रचण्ड ओली सम्बन्ध अगाडी बढीरहेको छ । प्रचण्ड कांग्रेसको साहारामा पुगेपछि टुटेको सहकार्यले ओलीले मुख समेत हेर्न चाहेका थिएनन तर पछिल्ला दिनमा छलफल बाक्लिएको छ । के अब एमाले माओवादी फेरि मिल्न लागेका हुन ? टुटेको भनिएको ओली प्रचण्ड सम्बन्ध फेरि जोडिन लागेको हो ? नेपाल साप्ताहिकले दुई दलका दुई नेतासँग गरेको संक्षिप्त वार्तालापलाई पठनीइ ठानेर हामीले साभार गरेका छौ ।  

‘सम्बन्ध अझै टाढा’
— शंकर पोखरेल, नेता, नेकपा एमाले

प्रचण्डको मुखै हेर्दिनँ भन्ने एमाले अध्यक्ष ओली प्रचण्डसँग भेट्न थाल्नुभएछ, सम्बन्ध सुध्रिन लागेको हो ?
अहिले टाउको फोराफोरको स्थिति छैन । तर, सम्बन्ध निकै टाढा छ ।

सुधार हुन सक्छ कि सक्दैन ?
सम्बन्ध सुधारका लागि उहाँहरूले विगतमा गरेका गल्ती–कमजोरी ‘रियलाइज’ गर्नुपर्छ ।

भित्रभित्रै एमाले–माओवादी गठबन्धन बनाउने तयारी त होइन ?
यसका लागि कि त माओवादीले कांग्रेसलाई धोका दिनुपर्छ कि त कांग्रेसले माओवादीलाई । तत्काल यो सम्भावना छैन ।

ओलीले प्रचण्डलाई चुनावी सहकार्यको प्रस्ताव गरेको भन्ने छ, हो ?
पहिलाको सहकार्यले निरन्तरता पाएमा त्यो पनि सम्भावना थियो । चुनावी सहकार्यको कुरा भएको पनि हो । तर, अहिले तीव्र रस्साकसी छ ।

संविधान संशोधनमा एमाले कुन हदसम्म लचिलो बन्न सक्छ ?
हाम्रो मान्यता त प्रदेशसभाको निर्वाचन नभएसम्म सीमांकन हेरफेर गर्नु असंवैधानिक हो । असंवैधानिक विषयमा छलफल गर्नु अनुचित हुन्छ । सर्वोच्च अदालतको फैसलाले पनि त्यही भन्छ ।

यसैमा अडिरहेर त राजनीति जहाँको त्यहीँ रहन्छ नि ?
सरकारले विधेयक फिर्ता लिनु सबभन्दा उत्तम विकल्प हो । त्यो नभए सीमांकनको विषय थाती राख्दा हुन्छ । त्यो पनि नभए हामीसँग मतदानबाट पराजित गर्ने मत छँदै छ । तर, संसद्मा असंवैधानिक विषयमा छलफल हुँदा प्रतिपक्षी त्यसमा सहयोगी बन्यो भन्ने सन्देश दिन चाहँदैनौँ ।
***

‘सहकार्यको भाव बढेको छ’
— नारायणकाजी श्रेष्ठ, नेता, नेकपा माओवादी केन्द्र

अहिले राष्ट्रिय कार्यभार भनेकै संविधानको कार्यान्वयनको प्रक्रियालाई संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गरेर अगाडि बढाउनु हो । यो भएन भने भोलि के हुन्छ भन्दा पनि अहिले नै प्राप्त उपलब्धि गुम्ने डर हुन्छ । त्यसैले जसरी पनि चुनाव र सकेसम्म सबैलाई सामेल गरेर चुनाव गर्नुपर्छ भनेर हामी ध्यानकेन्द्रित गरिरहेका छौँ ।

यसको मतलब केही असन्तुष्ट पक्ष नआए पनि चुनावमा जाने हो ?
हाम्रो पहल त सम्बोधन गरेर समावेश गरेर लैजाने हुन्छ । तर, एउटा वा अर्को कारण देखाएर चुनावमा आउँदै नआउने हो भने देशलाई चुनावमा नलगी, ०७४ माघ त्यसै गुजार्ने पक्षमा हामी हुँदैनौँ ।

असन्तुष्ट पक्षले चुनावबिना समय गुजार्न खोजेजस्तो देखिन्छ ?
पछिल्लोपल्ट मधेसी मोर्चा नरम देखिन्छ । ठीकै छ, यही संविधान संशोधन पक्रेर आलोचनात्मक समर्थन गरेर भए पनि अगाडि बढौँ भन्ने औपचारिक धारणा आएको छ । हामी आशावादी छौँ ।

एमालेसँग खास के कुरा भइरहेको छ ?
निर्वाचन विधेयक, महाभियोग प्रस्ताव र संविधान संशोधन विधेयक सँगै अघि बढाऔँ । सदनको अवरोध खोलौँ भन्ने कुरा भइरहेको छ । सर्वोच्चको फैसला आउनुअगाडिको छलफलले पनि २२–२४ गतेपछाडि सदन खुल्छ भन्ने लागेको थियो । फैसला आएपछि त अवरोध नहुने निश्चित नै भयो ।

यसमा एमाले सहमत छ ?
निर्वाचन विधेयक र महाभियोग प्रस्ताव अघि बढाउन एमाले सहमत छ । संविधान संशोधन प्रस्तावमा पनि निर्णय प्रक्रियामा तपाईंहरूको आफ्नै भूमिका हुने गरी अगाडि बढाउन दिनूस् भनिरहेका थियौँ । सर्वोच्चको आदेश आइसकेको परिप्रेक्ष्यमा कांग्रेस र अन्य दलसमेत बसेर छलफल गर्नुपर्नेछ ।

त्यो भनेको प्रमुख तीन दलबीच सहमति हुने हो ?
तीन पार्टीमध्ये कुनै एक जतासुकै जाओस् भन्नु वा तीन पार्टी एक भए भइहाल्छ भन्नु गलत हुन्छ । नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय हितलाई कुण्ठित नगर्ने गरी सबै उत्पीडित समुदायलाई सम्बोधन र सामेल गरेर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनुपर्छ ।

अब एमालेसँग सम्बन्ध बढाउने सुर हो ?
कांग्रेससँग जुन सम्झौता गरेका छौँ, त्यसलाई उसैले उल्लंघन गरेको अवस्थामा बाहेक हामी त्यसलाई उल्लंघन गर्दैनौँ, हुबहु लागू गर्छौं । तर, कांग्रेससँगको समझदारीको पक्षमा उभिनुको अर्थ एमालेलाई अझ टाढा धकेल्नुपर्छ भन्ने होइन ।

प्रचण्ड सरकारको नौ महिनाभित्र स्थानीय चुनाव त नहुने नै भयो, होइन ?
चैतमा हुन गाह्रो भयो, वैशाखमा जान्छ अब ।

प्रचण्ड–ओली सम्बन्ध सुधार हुन थालेको हो ?
राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेमा फेरि पनि मित्रता हुन सक्छ । अहिले उहाँहरूबीच सहकार्यको भाव बढेको देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments