बेरोजगार !

मङ्लबार, फाल्गुन २८, २०७५

- प्रचण्ड भास्कर



२०५१ साल पुष १० गते शर्माली, बैतडीमा जन्मिएका ‘प्रचण्ड भास्कर कलौनी’ हाल मझगाउँ, कन्चनपुर बसोबास गर्दै आइरहेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट बिबिए अन्तरगत स्नातकसम्मको अध्ययन सकिसकेका कलौनी साहित्यप्रति गहिरो रुचि राख्दछन् ।
प्रस्तुत: छ उनको कविता : बेरोजगार !

सपनाको सानो दियो बाल्न नसकेको
त्यो अन्धकार हो म
आशा र आत्मविश्वास गुमाएको
एक लाचार हो म
अरुको लागि त के आफ्नै लागि नि केहि गर्न नसकेको
हो त्यो बेकार हो म

वर्षहरु पनि वर्षायामको बाढीको वेग जस्तै विलाइरहेका
सँगै आशा र आत्मविश्वास पनि धमिलो हुँदै हराइरहेका
अनि कुनै बेला त शून्य जस्तै महसूस हुँदा सोच्ने
हो त्यो निराकार हो म

ठुला ठुला शहरमा लहर लगाउने रहर छैन मलाई
सानो सानो खुसिमा रमाउने मान्छे
जस्तो सक्छु त्यस्तो आफ्नै भूमिमा गर्छु भन्ने
हो त्यो अहंकार हो म

धेरै राम्रो बानी नभएर हो कि
थोरै नराम्रो आचरण भएर हो
भाववाणी उच्चारण गर्न डराएको
आफ्नै गन्तव्यको मन्तव्य बुझ्न नसकेको
हो त्यो दोधार हो म

संघर्ष त सधै गर्नु छदै छ सुस्त भएपनि
हरेक चोटी अस्वस्थ छैन भन्दै ढाँटी
परिस्थितिसँग अभिनय गर्दै आएको
हो त्यो कलाकार हो म

प्रकाश पार्न सजिलो त कहाँ ?
धर्तीबाट आकाशको सोच्नु पर्ने
तर हारेको पनि छैन अहिल्यै
बचेका केहि आशाका आशहरुसँगै
उज्यालो कुर्दै उदाउन नसकेको
हो त्यो भास्कर हो म

कतिबेला म मा पनि केहि छ जस्तो लाग्ने
थोरै हौसला पाउदा मैले पनि
आफ्नो सानो संसार न्यानो पार्छु जस्तो सोच्ने
प्रोत्साहन खोजिरहेको
हो त्यो “बेरोजगार” हो म

सपनाको सानो दियो बाल्न नसकेको
हो त्यो अन्धकार हो म   !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata