एमाले–माओवादी एकता, ओलीसँग प्रचण्ड सशंकित

बुधबार, बैशाख १९, २०७५



काठमाडौं। पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ।

पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ।

ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन। दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन्।

ओली र प्रचण्डले पार्टी एकता हुने दाबी गर्दै आएका छन्। एकता प्रक्रियाबाट पछाडि फर्किने विकल्प नै नभएको बताए पनि पार्टी एकता गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डको बीचमा पछिल्लो समयमा आशंका र अडानका कारण वार्ता फलदायी हुन सकेको छैन। नेपाल समाचारपत्र

744 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank