एमसीसी परिमार्जन हुनै नसक्ने दस्ताबेज हाेइन : अध्यक्ष प्रचण्ड

शनिबार, फाल्गुन १०, २०७६



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन सहित पारित हुने बताएका छन् ।

शनिवार बिहान नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन नवलपुर पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै एमसीसी परिमार्जन हुने बताएका हुन । उनले भने, एमसीसी पुरै नेगेटिभ पनि होइन । चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन । राम्रोसँग बुझेर, अध्ययन गरेर यसलाई राष्ट्रको हितमा हुने गरी मात्रै टुङ्ग्याउनुपर्छ भन्ने मत आएपछि हामीले कार्यदल बनाएको हो ।

हिजो मात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो । अमेरिकी टोली, दुवै पार्टी रिपब्लिकन र डेमोक्रेटिकको टोली आएका थिए । उनीहरुसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै यो एमसीसी भनेको केही पनि चेन्ज नै गर्न नहुने, जस्ताको त्यस्ता पास गर्नुपर्ने भन्ने कुनै बाइबल त होइन ।  यदि हामीकहाँ केही कन्सर्न आए भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको । र, उनीहरूले पनि त्यसलाई बाइबल हो त भन्ने कुरा आएन ।

अर्को कुरो, फेरि योबिचमा पहिले नै त्यो दुई चोटि संशोधन भइसकेको छ । यो सहमति पत्रमा हस्ताक्षर भएपछि पनि संशोधनै नभएको, जस्ताको त्यस्तै भन्ने कुरा होइन । त्यस कारण, यो परिमार्जन हुनै नसक्ने दस्ताबेज अथवा सम्झौता पत्र होइन । अब हाम्रो कार्यदलले पनि त्यही लाइनमा नेपालको सम्वेदनशीलतासँग सम्बन्धित केही विषयहरूलाई पुनव्र्याख्या गरेर, त्यसलाई परिमार्जन गरेर, केही कुरालाई परिवर्तन गरेर भए पनि यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा कार्यदलको ओरियन्टेसन आएको छ ।

अध्यक्ष प्रचण्डले भने, हामीले अध्ययन गरिसक्या छैनौँ । हिजो बेलुका मात्रै हामी दुइटा अध्यक्षले प्रतिवेदन बुझ्यौँ । अब आजदेखि त्यसको अध्ययन हुन्छ । एक–दुई दिनभित्र सचिवालय बसेर यसलाई टुङ्ग्याउँछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments