प्रयत्न

बुधबार, पुस २३, २०७६



ए रूकु ! ” अझै तयार भएकी छैनस् ! , ल यसले बिताउने भई ” भन्दै पार्वती फत्फताइ रहेकी थिई ।
उमेरको हिसाबले उस्तै भए पनि रूक्कु भन्दा पार्वती परिपक्व देखिन्थी ।

” हेर न आज मलाई कलेज जानै मन छैन , पढ्ने कुराले मनै दिक्क भएको छ , कलेज र कलेजका शिक्षकहरू त झन् सम्झनै मन छैन ।”
” तँ जा ल । ”
” मलाई छाडी दे , हामी गरिब छौ ,धेरै पढ्न भाग्यमा लेखे कै छैन । ”
एक्कासि पार्वतीले यसो भनेको सुनेर रूकु वाल्ल परी ।
किन यसो भनेको होला भनेर टोलाएर उभिइरही ।
आफ्नो मिल्ने साथी, आज सम्म पढ्ने विषयमा कहिल्यै नकारात्मक कुरा गरेकी थिइन ।
एक्कासि यसो भन्दा पार्वतीको मन त्यसै त्यसै पोल्यो ।

बाल्यकाल सम्झी ।
रूकुको बाबालाई भनौँ भनौँ भयो तर चुपै बसी ।
एक छिन एक्लै टोलाएर बसी, फेरि विद्यालय जान आग्रह गरी । पार्वती मान्दै मानिन ।

रूकु र पार्वतीले पढ्ने बेला सम्म गाउँमा अङ्ग्रेज माध्यमका स्कुल र कलेज खुलेका थिएनन् ।
त्यसै भएर रूकु र पार्वती गाउँको सामुदायिक कलेज पढ्थे ।
गाउँको सामुदायिक कलेज , विषय अनुसारका शिक्षक थिएनन् । विषय मिल्ने विद्यालयकै शिक्षकले काम चलाउने त्यहाँ पनि थियो ।

सरकारले उच्च शिक्षाका एक जना शिक्षकको लागि दिएको अनुदान पाँच जनालाई बाँडफाँड गर्दा शिक्षकको जीविकोपार्जन हुने कुरै थिएन ।

शिक्षकहरू नै कहिलेकाहीँ विरोधाभासपूर्ण तरिकाले बहस गर्दै भन्थे, ” हामी यिनीहरूको गोठालो त हैनौँ नि !
आफूलाई सिहार्न गाह्रो हुन्छ भनेर जन्मने बित्तिकै स्कुल लखेट्ने नानीहरूलाई ” भन्दै केटाकेटीलाई देखाएर झर्केका उदाहरणले बसिबियाँलो  पनि नरमाइलो हुने गरेका घटनाहरू निकै थिए ।

गाउँमा छोरीलाई पढाउने कुरामा खासै चेतना थिएन । रूकुका बाआमा वारणसी संस्कृत आश्रममा गुरूको सेवामा धेरै वर्ष बिताएर आएका कारण छोराछोरी सबैले पढ्न जरुरी छ भन्ने कुरा बुझेका थिए ।

त्यसैले रूकुका बा आमाले रूकुलाई सानै उमेरमा विद्यालयमा भर्ना गर्न खोजेको कुरा गाउँलेले निकै ठुलो विषय बनाए ।
रूकुका बा र आमालाई छोरी मत्याउने भनेर उप नाम नै राखे,
तर उनीहरूले गाउँका कुराको मतलब नै राखेनन् ।

पार्वती र रूकुका बाआमा नजिकका छिमेकी भएकोले हरेक कुरामा सल्लाह गर्ने गर्थे ।
कतिपय सल्लाह देखा गरेजस्तो देखिन्थ्यो ।

गाउँ घरतिर सामान्य रोगको उपचार खासै हुन्न र गरिन्न पनि । पोहोर मात्रै पार्वतीका पिता पनि एक्कासि पेट दुखेका कारण अस्पताल नपुर्याइ बित्ते ।
पेट दुख्यो भने देखि झारफुक र भाकल गर्दा गर्दै तीन घण्टा बित्यो । अस्पताल लैजाने कुराको होस कसैलाई आएन ।

पार्वतीको एउटा भाइ र तीन बहिनहरू !
बिहानदेखि भाइ बहिनीको हेरचाह र अन्य घरायसी कामले गर्दा पार्वतीले फुर्सद नै पाउन्न थिई ।

पारिवारिक बोझको कारण अलमल परेकी पार्वती ,रूकुका बाबाले रूकुलाई कलेज लिएर गएको देखेर पार्वती टोलाएर हेरिरही ।

रूकु विद्यालय गएको र आएको पार्वतीले नियमित हेर्ने गर्थी तर सोध्न सकिन ।

रूकु पढ्न गएको र उसका बाले कलेजसम्म पुर्‍याएको कुराले गाउँमा खैलाबैला मच्चियो ।

रूक्कुको पढाइको चहलपहलले पार्वतीको मनमा पनि छोडेको कलेज जाने चाहाना जाग्यो तर कसलाई भन्ने र ?

जीविकोपार्जनको समस्याले आक्रान्त भएकी पार्वतीकि आमाले सानो पसल खोल्ने विचार गरिन् । साँझतिर त्यही विचार विमर्श गर्न पार्वतीकी आमा रूकुको घरमा गइन् ।
पार्वती पनि आमासँग रूकुको घरभित्र छिरिन् ।
पार्वती रूकुको घर भित्र छिर्दा रूकु कलेजको गृहकार्यमा व्यस्त थिई ।

त्यो देखेर टोलाएकी पार्वतीलाई रूकुका बाले , ”
ए पार्वती तिमी पनि पढ्ने हो ? पढ्ने हो भने म भोलि विद्यालयमा लगेर भर्ना गरिदिन्छु है ! ”
भने ।

पार्वतीले इसारामा हस् भनी तर हतारिँदै पार्वतीकी आमाले ,
” कहाँ पढ्नु र बाबू ? कामकाजले फुर्सद छैन , हामी जस्ता दुखीले पढ्ने कुरा भाग्यमा ल्याएकै छैन । रहर गरेर हुन्छ र ! ”
ढाडै नकारिन् ।

हतारिँदै पार्वतीले भनी, ” आमा त्यसो नभन्नु न , म पढ्छु । पढ्दै पनि म तपाईँको काममा मदत गर्छु नि । रूकु र म साथी साथी त हौ नि ! म कुनै दिन कलेज जान भ्याइन भने रूकुले मलाई पढेको कुरा भनिदिन्छन् नि ! ”
” आमा मलाई पनि पढ्ने रहर छ । नाई नभन्नु ल ! “

पार्वतीकी आमाले पढ्ने कुरा नकारिन् तर पार्वती जिद्दी गरिरही । पार्वतीको पढाइ प्रतिको लगाव र इच्छाशक्ति देखेर भोलिपल्ट रूकुका बाबाले पार्वतीलाई कलेजमा लगेर भर्ना गरिदिए ।
पोसाक र पुस्तक सहित अन्य सबै प्रबन्ध गरिदिए ।

खाली हात कक्षाकोठामा बसेकी पार्वतीले रूकुको बाबाले यतिका सामान किनिदिएको देखेर छक्क परि ।
निकै बेर सम्म पार्वतीले रूकुको बाबाको मुखमा हेरिरही । रूकुको बाबाले सोधे,
” किन छोरी यसरी मलाई हेरिरहेकी ? तिमी पनि मेरो रूकु जस्तै छोरी त हौ नि ! “

” तिमी पढ मात्रै ! म तिमीलाई पढ्दा चाहिने सबै जुटाइ दिन्छु । ”
भने ।
पार्वतीले आँखा भरि आँसु पारेर , ” धन्यवाद अङ्कल ” भनी ।

पहिले पनि रूकुका बाले पार्वती र रूकुको पढाइ लेखाइमा निकै चासो दिन्थे तर पनि पार्वती विद्यालयमा अनुपस्थित हुने कुरा दोहोरी रहन्थ्यो ।

रूकुलाई पार्वतीको कलेजमा हुने अनुपस्थितको विषयले निकै चिन्ता लाग्थ्यो ।
कहिलेकाहीँ बाबाले पार्वतीलाई लिएर जा है भन्दा रूक्कु के गरौँ कसो गरौँ हुन्थी तर पनि अनेकौँ प्रयत्न गरिरहन्थी ।
कामको चाप नभएको समयमा त नियमित कलेज आउने पार्वती आजकाल नआएको देखेर रूकु छक्क परेकी थिई ।
आज पनि कलेजमा नदेखेपछि दिन भरको मनको खुल्दुली बेलुका पार्वती खोज्छु भन्दै कक्षाकोठा भित्र एक्लै बसिरही ।
साथीहरूले रूकुको निराशाको बारेमा जान्न खोजे ।

तर बताइन् ।
पार्वती कलेज नआएको कारण एक पछि अर्कोलाई सोधी रही ।
पार्वतीकी मिल्ने साथी रिसाले खै ! भनी,

निसा थिई फ्याट बोली,
” उ त आउन्न होला ! त्यो म्याथम्याटिक्स सरले त्यसलाई कस्तो गर्छ रे ! ”
” अस्ति मलाई भनेकी थिई तर कसैलाई भन्नू हुन्न भनेकी छ । ”
” तिमीले पनि कसैलाई नभन है । “

निसाको कुराले रूकुलाई झनै खुलदुली भयो ।
उकुसमुकुस र झटपट्टीले तिर्खा लाग्यो ।

अफिसको नजिकैको धारोमा कलकली पानी पिइ तर प्यासै मेटिएन ।

घण्टी लाग्यो , गणितकै पिरियड शुरू भयो ।
रूकु मन नपरी नपरी कक्षामा गई ।
शिक्षक कक्षा छिरे र यता उता हेर्दै , ” पार्वती आइन ? ”
भन्दै खोजीनिधि गरे ।
रूमुले हतारिँदै भनी,
” सर अब उ पढ्दिन रे , सरहरू देखेर दिक्क लाग्छ रे ! ”
रूकुले त्यति भनेकी मात्रै के थिई, सरका भाषण सुरु भए । अनेकौँ प्रसङ्ग र अनावश्यक कुराकानीले पुरै पिरियड सकियो ।
हिँड्ने बेलामा रूकुतिर हेरेर सरले भने,
” तिमीसँग भेट हुन्छ ? भेट्यौ भने मैले सोधेको छ भनिदिनु है ! म उसलाई खुब याद गर्छु ।”
रूकुलाई सरको व्यवहार पटक्कै मन परेन ।
मन नपरे पनि नबोल्नु बाहेक अरू उपाय नै थिएन ।
जसोतसो गरेर रूकुले आजको कलेजको समय गुजारेर घरतिर लागि ।

साथीहरू पनि रूकुको आजको व्यवहार देखेर अलमल्ल परे ।
साँझ पनि रूकु एक्लै घरतिर लागि ।
रूकुको मनमा सरको आजको प्रस्तुति र व्यवहारले रन्का छुटेको थियो ।

यो कुरा कसलाई भन्ने होला भनेर घर पुगी ।
घर पुगेर पनि निकै गार्‍हो भयो ।
खाजा खान बसेकी खानै पनि सकिन ।
भोकले रन्का छुटेको थियो ।
खानेकुरा एक चम्चा मुखमा हालेकी मात्रै थिई । वाक्क गरी ।
रूकुकी आमा अतालिँदै रूकुका बालाई बोलाउन गइन् ।
एकैछिनमा रूकु लत्याकलुतुक भई ।
बोली नै हराए जस्तो भयो ।

हतारीदै रूकुका बाले रूकुलाई अस्पताल लगी जाने चाँजो मिलाए ।
रूकु बिरामी परेको सुनेर पार्वती र पार्वतीकी आमा पनि रूकुलाई हेर्न आए ।

रूकुलाई देखेर पार्वतीले डाको छोडी ।
” म पनि अस्पताल जान्छु । रूकुलाई म एक्लै छोड्दिन ”
भन्दै पार्वती कराऊ थाली ।
त्यो देखेर रूकुका बाबाले ,
” जाओस् न त , मेरो पनि साथी हुन्छे ! ”
भने ।
पार्वतकी आमाले पनि,
” जाओस् न त परे हामी दुईटीले नि पालो गरौँला ! ”
” ल छिटो अस्पताल लगौँ ”
भनिन् ।
अस्पताल लगेको बिस मिनेट जति पछि रूकुले पानी मागी ।
हतारीदै पार्वतीले पानी सारेर रूकुको बाबालाई दिई ।
रूकुले पानी खाइ र सुस्केरा हाल्दै ,
” बाबा पार्वती खै ? आज पार्वती स्कुल गइन । मलाई कस्तो गाह्रो भो !”
भन्दै रून थाली ।
” बाबा म पार्वतीको घर जान्छु नि !” भन्दै जुरुक्क उठ्न खोजी ।
तर सकिन ।
बाबाले हतारिँदै भने , ” नानी तिमी त सन्चो नभएर अस्पतालमा छौ । पार्वती पनि तिमीसँगै आएकी छ । हेर त ! ”
भन्दै देखाए ।

रूकुले त्यसरी खोजेको सुनेर पार्वती पनि रोइरहेकी रहिछे ।
रूकुका बाबाले पार्वतीलाई र रूकुलाई सँगै राखे ।

” तिमीहरूलाई के भएको छ ? मैले त बुझ्नै सकिन ! ”
भन्दै सम्झाए ।

दिउसोतिर रूकुलाई अस्पतालबाट पठायो । बाटोभरि रूकुले पार्वतीको हात छोडिन ।

घर पुगेपछि दुवै परिवारका सबै जुटे । सबैको अगाडि रूकुले पार्वतीलाई सोधी,

” पार्वती तिमी किन स्कुल जान नमानेकी , तिमी कलेज नगएकोले म बिरामी भएँ । तिमीलाई त्यो गणित सरले केही नराम्रो व्यवहार गरेको छ हो ? ”
” बाबाको अगाडि नै भन् । तिमी स्कुल जाँदैनौ भने म पनि जान्न । म त तिमी नभएको स्कुलमा पढ्दै पढ्दिन । ”
रूकुको कुराले पार्वती झन् रोई । घरका सबै रोए ।

पार्वतीलाई रूमुका बाबाले काखैमा राखे ।
” के भयो छोरी तिमीहरूलाई ? तिमीहरू दुवै बिरामी हुने भयो । हामीले त तिमीहरूलाई टाढा र विभेद हुने व्यवहार कहिल्यै गरेनौ । तर तिमीहरू दुवैले हामीलाई कुरा लुकायौ । कुरा लुकाउँदा लुकाउँदै बिरामी नै पर्‍यो । “

रूकुको बाबाको कुरा नसकी पार्वती बोल्न थाली,
” अङ्कल त्यस्तो हैन, हाम्रो म्याथको सरले मलाई राम्रो व्यवहार गर्दैन । जताततै छुन खोज्छ । त्यही भएर मलाई कलेज जान मन नलागेको हो । मैले रूकुलाई भन्ने मौकै पाइन । “

रूकुका बाबाले कुराको जरो पत्ता लगाए र भने ,
ल अब पिर नगर ! म भोलि नै जान्छु र त्यो मास्टरलाई कारबाही गर्न लाउँछु । तिमीहरू कलेजको समयमा नै कलेज पुग्नु है ! ”
भने,

साँझ परिसकेको थियो । खाना खाए र सबै सुत्न तिर लागे । रूकु र पार्वती सँगै सुते । रातभरि दुवैले मनभित्रका दुखसुख पोखे । बिहान खाना खाएर दुवै सँगै कलेज तिर लागे ।

दिउँसो रूकुका बाबाले प्रहरी चौकीबाट एक जवान लिएर स्कुल गए । कलेजका प्राचार्यसँग कुरा गरे ।
प्राचार्यले कुरा सुन्नै मानेनन् ।
रूकुका बाले रूकु र पार्वतीलाई बोलाएर , राखेर प्राचार्यलाई भने ।
तर प्राचार्यले स्विकार्दै स्विकारेनन् ।
प्राचार्यले कुरा सुन्नै नमानेको देखेर रूकुका बाले प्रहरीलाई फोन गरे ।
एकैछिनमा प्रहरी भ्यान सहित आएको देखेर कलेजमा कोलाहल मच्चियो ।
प्राचार्यको कार्यकक्षमा छिरेर प्राचार्यलाई प्रहरीले हतकडी लगायो ।
अनि म्याथको शिक्षक खोज्यो र उसलाई पनि हतकडी लगाएर प्रहरी चौकीतिर लिएर हिँड्यो ।
पार्वती र रूक्कुका आँखा खुसीले रसाए । दुवैले बाबालाई अङ्कमाल गरे ।

– प्रभा बज्राचार्य

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments