सडक नियमको उल्लङ्घन गर्ने कसैलाई सहुलियतको सुविधा नदिनु : महानिरीक्षक पोखरेल

बिहिबार, पुस २४, २०७६



काठमाडौँ । सडक नियम उल्लङ्घन गर्ने जो कोही भए पनि कानुनी कारबाही निर्दयताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै सो कुरा बताएका हुन ।  सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतक निगरानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निष्पक्ष कार्य सम्पादनले समग्र सङ्गठनको छविमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले सङ्गठनको ऐनाको रूपमा आफूलाई प्रस्तुत गर्नु पर्ने बताए ।

धुलो-धुवा, घाम-पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र सङ्गठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमाZero Tolerance को नीति अवलम्बन गर्न निर्देशन दिँदै राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी कार्य गर्नु पर्ने उनले बताए।

सबै क्षमता र ओहदाका नागरिकहरूसँग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानुन कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments