कविता- मान्छे नै मान्छेका निम्ति भाइरस बन्दै छ

शुक्रबार, जेष्ठ १६, २०७७

- दिवस खनिया



हिजोआज अस्तव्यस्त छन् देशहरू,

जडीबुटी सङ्ग्रह गर्न,
र खोपहरू तयार पार्न ।

मच्चिरहेका छन् हाहाकार
फैलिरहेका छन् चर्चाहरू
विश्व भरी ।

टिभी च्यानलका आँखाहरूले तलास्दैछन् कुनै नौलो खबरहरू
रेडियो, सञ्जाल सबै लागि परेका छन्,

सतर्कता दर्साउन ।

उपचार र रोकथामका माध्यम खोज्दै छन्
देशहरू अनि देशका वैज्ञानिकहरू ।

तर पनि लाचार र विवश छ देश!

मान्छेको एउटा भिड् दौडिँदै छ अस्पतालतिर
मान्छेको अर्को भीड दौडिँदै छ मसानतिर ।

त्यसैले डराउँछ देश !

खोकी लाग्नै हुन्न बेस्सरी डराउँछ देश
ज्वरो आउनै हुन्न मरुन्जेल तर्सिन्छ देश
हाँछ्यूँ काढ्नै हुन्न हुरुक्कै सुर्किन्छ देश ।

हुन पनि कुन- कुन भाइरस झेलोस् देशले?
कस्तो-कस्तो सङ्कटको सामना गरोस् देशले?

बर्डफ्लू झेलेकै हो
श्वाइनफ्लू झेलेकै हो

अहिले, “कोरोना भाइरस” को सङ्क्रमण झेल्दै छ
देशले………प्रत्येक देशले ।

भाइरसका साँढेहरू पसेर
मानवताको बाली मास्दै छ
पृथ्वीको खेतमा सिङ्गौरी खेल्दै ।
मान्छेको मुटु – मस्तिष्क खाँदै छ!

त्यसै पनि,
आर्थिक मन्दीको भाइरसले ग्रस्त छ देश
राजनीति अनि स्वार्थको भाइरसले त्रस्त छ देश
बेकारपनको भाइरसले ध्वस्त छ देश ।

ईर्ष्या-द्वेषको भाइरसले अचेत छ देश
महँगाइको भाइरसले बेहाल छ देश
हो सन्त्रासमा काँप्दै बाँचेको छ देश ।

नशालु पदार्थ भाइरस फैलिएको छ मान्छेको लतमा
धन अनि लोभको भाइरस सिँचिएको छ मान्छेको चेतनामा ।

वस्तुतः
मान्छे नै…….मान्छेको निम्ति भाइरस बन्दै छ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments