कविता-नयाँ वर्ष

आइतवार, चैत्र ३०, २०७६

- सीता ओझा



नयाँ वर्ष

तिमी हाम्रो जीवनसँग
जोडिएर प्रत्येक वर्ष धाउँछौ
अनेकौँ रङ्ग र उमङ्गले
हरेकका जीवन सजाउने
परिकल्पनामा मग्न भएर
सपनाहरू सजाउने गर्छौ
त्यसैले त तिमी नयाँ वर्ष भयौ नि !

नयाँ वर्ष
यस वर्षको जाडो सँगै चिसिएर हो की
अङ्ग्रेजीको नयाँ वर्षसँगै संसार मडारिन
तिमी त कोभिड – १९, बोकेर हिँडेछौ
शस्त्र र अस्त्रको दुनियाँमा
अति सूक्ष्म जीवाणु उपहार बाँडेर
मानव जातीको हुर्मत लिएका छौ
त्यसैले त,यस वर्ष हामीबाट
तिमी निषेधमा परेको छौ नि !

नयाँ वर्ष
तिमीले च्यापेको जीवाणुले
चीनको वुहानमा देखिएर
युरोप,अमेरिका ,अस्ट्रेलिया लगायतका
शक्ति राष्ट्रलाई झुक्क्याइ रहेको छ
निकै मै हुँ , भन्नेहरूलाई
स्तब्ध र समाधानहीन बनाएको छ
धनी न गरिब सबैलाई तर्साइ दिएको छ
तिमी पनि सङ्क्रमणको भयले उसैसँग
लतारिएको हो की शङ्का लागेको छ !

नयाँ वर्ष
तिमीले मानव जातीको बाच्ने इच्छा माथि
अनेकौँ प्रहार गरेर धुजा धुजा बनाएका छौ
सन्तान,पति,पत्नी,जोडी सहित
कतिको त मातृ-पितृत्व खोसी दिएका छौ
सुन्दर सहर र नगरहरूलाई
मसानघाट झैँ सुनसान बनाएका छौ
हेर तिमीले लाखौँलाखलाई रुवायौ
विश्वको अतिवादलाई तर्सायौ
हुने खानेलाई खुत्रुक्कै गलायौ
हुँदा खानेलाई सर्लक्कै सुकायौ

नयाँ वर्ष
तिमीले प्रकृतिलाई त सगायौ
पशुपन्छी र किटपतङ्गको
जीवन शैलीलाई सजाइ दियौ
विश्व वातावरण जोगायौ
ध्वनि,जल,हावाको प्रदूषण
हटाएर,मानिसको घमन्डलाई
तोभा तोभा खेलायौँ
हेर त नयाँ वर्ष
तिमीले मानव जातीलाई वर्ष
सिद्धाउने कस्तो ? उपहार भित्र्यायौ !
नयाँ वर्ष
अब तिमीले
च्यापेको जीवाणु सँगै मानिसहरूको जीवन
युद्ध र शान्तिको अहम् विना
जिउन सक्ने शुभकामना बोक्नु पर्छ
श- शस्त्र युद्ध भन्दा शक्तिशाली
अस्त्रहीन युद्धको तागत बुझाउनु पर्छ
बाच्न र बचाउन सिकाउनु पर्छ
शान्ति र सन्तुष्टिको विन्दु खोज्नु पर्छ
आफू बाँचेर धर्तीमा अरूलाई बचाउनु पर्छ

नयाँ वर्ष
तिमी,हरेक वर्ष आउँदा
मानव जातीको अहम् हटाएरै
धन,दौलतप्रतिको लोभ,मोह निम्त्याएर
सद्भाव र सहकार्यको सहिष्णुता सिकाएर
जीवन र जगतको महत्त्व बुझाएरै
ठुला र सानाबिचको खाडल पुर्दै
दिएर खाने सीप सिकाएरै
लोभ,लालचा र ईर्ष्या धपाएरै
बाच्न पाउने मानवीय हक बुझाएरै आउनु पर्छ
मानव जातीको तर्फबाट तिमीलाई पनि
शुभकामना है,नयाँ वर्ष !!!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments