कविता – लकडाउनमा छ

सोमवार, बैशाख ८, २०७७

- सीता ओझा



अहिले मेरो देशमा,

भाइरस / विषाणुको महामारी छ
त्यो सजीव हो कि निर्जीव ?
धरै धेरै वाद र विवाद भा छ
निर्जीव भन्नु या सजीव भनौँ भन्ने
तर्क वितर्कमा
तथ्यहरूले भाइरस या विषाणुलाई
जीव नै हो भन्ने सन्देश देकाछन्
त्यै विषाणुको विश्व भ्रमणको कथाले
अहिले मेरो देशमा लकडाउन छ ।

अहिले मेरो देशमा,
अनेकौँ तर्क र वितर्क
सत्य र असत्य
तथ्य र तथ्यहीन पनि
सर्वत्र छरिएका छन्
सरकारदेखि जनतासम्म
भए नभएका तर्क वितर्क जन्मिएका छन्
प्रशस्तैले कोरोना सङ्क्रमणको
जानकारी पाएका छन्
त्यसैले त मेरो देश
लकडाउनमा परेको छ

अहिले मेरो देशमा,
मालिकहरू बेपत्ता भएका छन्
कामदार र छोटा साहुहरू
पैदल यात्रु भएका छन्
भएकाले सकेसम्म दिएका छन्
पाउनेले दोहोर्‍याउने तेर्स्याउने
भयसम्मको पोको कुम्ल्याउने गरेकै देखिन्छन्
नलिनेले मानवता र इमानदारी देखाएका छन्
कोरोनाको गीता गाउनेले गाएकै छन्
असुरक्षाको अनुभूति लिएर
आफ्नै स्थायी वासस्थानतिर
प्रशस्तैले बाटो तताएकै छन्
त्यसैले त मेरो देशमा
अहिले लकडाउन भा छ ।

अहिले मेरो देशमा,
सरकारलाई सरापेको सराप्यै छन्
जनताले लकडाउन लत्त्याएका छन्
आफू सुरक्षित हुन नसकेर
कोरोनाको चपेटामा परेका पर्रै छन्
कता कता भ्रष्टाचार र अराजकताको
आशङ्काले सबैको मस्तिष्क खलबल्याएकै छ
महामारीको विश्व चपेटाभित्रै पनि
कहिले मध्यावधि त कहिले अविश्वासको दोहोरी
सत्ता पक्षभित्र,प्रतिपक्षी र विपक्ष बिचमा
दोछाँया भएर मडारिएको डायरियै छ
बाच्ने र बचाउने अभियानमा पनि
सहयोग र असहयोगको चर्चो खेती
निकै मज्जैले फस्टाएको छ
त्यसैले त मेरो देश
लकडाउनले निरीह बन्ने हो कि
भन्ने चिन्ता ला छ

अहिलेसम्म मेरो देश
नीतिले हैन नेताले चलाए
कहिले राजाले हराए त
कहिले जनताले कराएर
धेरै पटक सत्ताको दोहोलो
काडेका काँडै अलमल्याएको इतिहास छ
आन्दोलन गर्न,फुटाउन जान्नेहरू
प्रशस्तै भएको यो देशमा
बिना हल्ला समस्याको समाधान
दिन जान्नेहरूको निकै कमी छ
त्यसैले त लकडाउनमा पनि
धमिलो पानीमा माछा मार्नेहरू
सामाजिक सञ्जालमा खलबलिएको पनि
प्रशस्तै देख्न ,सुन्न र हेर्न पाइन्छ

अहिलेसम्मै मेरो देशमा लकडाउन छ
मानिसहरू यताबाट उता सल्वलाउदै
बाटोभरि लर्को ला छन्
भाइरस जस्तै अस्तित्व जोगाउनेहरू
जिन बचाउन यताबाट उता सर्‍या छन्
मानव आफ्नो म्युटेसन जोगाउन खोज्छन्
भाइरस अस्तित्व बचाउन सङ्क्रमित भइरहन्छ
सरकार जनता जोगाउन अपिल गर्दै
लकडाउन बढाउन निर्देशन गर्छ
न भाइरस/ विषाणुको अन्त्य भेटिन्छ
न लकडाउन घट्ने या छोट्टिने टुङ्गो लाग्छ
त्यसैले त लकडाउनको
म्याद र याद हरदम दोहोरिने गर्छ

अहिलेसम्म मेरो देशमा
आफ्ना जनको सही तथ्याङ्क छैन
कलकारखाना र कम्पनीहरूको
वडा वडामा अभिलेख छैन
अस्थायी र स्थायी बासिन्दाको
अत्तोपत्तोको ठेगान छैन
घर साहु र भाडामा बस्नेमा मानवता छैन
कसले ? कसरी ? कहाँबाट पाउने हो
विस्तृत योजनाको अवधारणा छैन
विपत्ति र महामारीबिचको बुझाइ
संरचनाको क्रियाशीलता छैन,
व्युरोक्रेसीमा सहयोगी मन र मानवता छैन
जोगाउन खोज्दा डुबाउनेको
सकारात्मक र रचनात्मक बुझ्ने सिपै छैन
आफू बाचेर अरूलाई बचाउने हैन
राहत बाँडेर तस्बिर साट्ने होडले
मानिस जातीको भाइरस पो अहिले हाबी भा छन्
महामारीमा अनेकौँ सन्त्रासले जनता आहात भा छन्
भई गो भन्दाभन्दै महिना दिन गई गो
यसैभित्र रमाउनेहरूले पत्रपत्रिकामा
कोकोहोलो गा छन्
त्यसैले त मेरो देशमा
लकडाउनले पनि अनिकाल ल्याछ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments