आमा श्रद्धाभावका ६ कविता

शनिबार, बैशाख २१, २०७६

- राजु झल्लु प्रसाद



आज वैशाख कृष्ण औँसी अर्थात आमाको मुख हेर्ने दिन । मलाई घर पुग्न मन थियो । ३ घण्टामै घर पुग्ने बाटो भएता पनि मैले राजधानी छोड्न सकिन । कोहि घर जाने छन् कि भनेर हिजोअस्ति देखि नै बुझिराखेको भए पनि सजिलो हुन्थ्यो । अब आज आएर गर्न सकिने केहि होइन । यसैले फोन नै गरे  ।

ममीसँग बिहान आधा घण्टा फोनमा बोले । घर आउन सकिन ममी भने ।”आउछस् कि झैं लाग्याथ्यो । आइनस् । बहिनी फुरुक्कै पर्या थिई, आउँछस् भनेर । भाइले पनि फोन गर्या’थ्यो । बहिनी त छे तर तिमारु आको भए अलि मन रमाउथ्यो  । मामाघर पनि गईन् । घरमा कल्लाई छोडेर जानु ? गाउँमा खसी काट्ने भन्या छन् । तिमारु दुवै दाजुभाई आएनौँ । लेराएर खाँ तँ पनि आधा किलो । पेट नसुकाँ । काम काम मात्रै नभन् ।” ममी बोलिरहनु भयो । मेरो सास घाटीमै अड्कियो ।

फरक प्रसंगमा भन्नुभयो,”खै त ओठे, एउटा कविता पनि लेखिनिस् त आज ?” ह्याँ ममी, यस्तो कुरा त नगर्नु हाउ । ‘ख्याल गर । भिडभाड छ, साइकल लिएर हिन्छस् । क्याप लगाउनी गर् । छुट्टी मिलाउन सक्छस् भने घर आइज ।..” के बोलु बोलु भयो फोन काटीदिए ।

फोन काटीएपछी निकैबेर टोलाए । कविता लेख्न थालेको ४ वर्ष भयो । मेरो कविताहरुको श्रोता मेरो ममी पनि हो । इमोमा, फोनमा या घर पुग्दा ओछ्यानमा बसेर म ममीलाई कविता सुनाउँछु । शुरुशुरुमा ममीको डायरीबाट चोरेर कविता लेख्थे । र, स्कुलमा पुरस्कार स्वरूप, चक, कापी, फाउनटेन पेन जित्ने गर्थे । ममीले आजभोलि कविता लेख्नुहुन्न् । उहाँमा कविता लेख्ने हुटहुटी अझै पनि छ । यसैले हप्ता दश दिन भएपछी सोध्नुहुन्छ, “खै त तेरो फेसबुकमा त केहि पनि छैन ?” हो पनि, निकै भयो मैले एउटा कविता लेख्न सकेको छैन् ।

आजसम्म मैले आमाको बारेमा कविता लेखेकै रहेन’छु । पोहोर साल आगुन तपाइको बारे एउटा दामी  लेख्छु ममी  भनेको थिए। सकिन । खिन्न मनसहित फेसबुक चाहारे । आमाप्रति श्रद्धाभाव प्रकट गर्दै लेखीएका कविताहरुले सामाजिक सञ्जाल भरिएका रहेछन् । पढ्दै गए, एकएक कविता । पिडा सबैका उस्तै !

यसभन्दा अघि आफूले पढेका (मनपरेका) केहि कविताहरु पनि सम्झिए । कलरनोट भित्र ‘सेभ्ड’ यी कविताहरुले आमाप्रति श्रद्धाभाव व्यक्त गर्नुका साथसाथै मेरो खिन्नता पनि मेटायो ।

मैले सम्झिएका केहि कविताहरु यिनी हुन् :


आमाको सपना – गोपाल प्रसाद रिमाल

आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
हो र आमा ?
‘हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर, त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ
म आमा हुँ, सारा सिर्जनशक्तिको मुख भएर
म भन्न सक्छु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिनेछैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्नेछैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी संग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनु पर्नेछैन !
हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बास
त्यो आउनेछ, तिमी उठ्नेछौ !’
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।
तर, त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !’


किन आमा ? – कपिल चौंलागाई

आमा,
किन पाक्दैन मात्र हाम्रै घरमा?
दाल भात र तरकारी
कि हाम्रो छुट्टै संसार छ ?
जहाँ
हरेक रात कसौंडीमा भक्लक भक्लक
भोक उम्लने गर्दछ!

हाम्रा बा कुन देशका हुन् आमा?
कहाँ छ आमा त्यस्तो देश
जहाँ
हरेक नागरिकको आंङ्गलाई
घामको रापले कहिल्यै जिस्क्याउन सक्दैन !

झन्डा बोकेर गलिरहेका हातहरु
जब,
एकैछिनलाई विश्राम गर्न खोज्दछन
एक खुला आकाशमा बेपर्वाह झुलिरहन चाहान्छन
किन
आइपुग्छन दानवहरु
नियतिको कोर्‍रा बोकेर
आमा, झन्डा झुक्यो भने के हुन्छ?

तपाईंलेनै कुंदेको त्यो भगवानको मूर्तिलाई
किन आमा,
तपाइँ त्यो मन्दिरको बाटो भएर जांदा
जैले पनि टाढैबाट
नमस्कार गरेर फर्कनुहुन्छ?

त्यो देविको पुजा गर्ने पुजारी बाजे
किन
मलाई छोइएलाकी भनेर तर्सन्छ
तपाइँलाई भने छुन खोजिरहन्छ
बच्चाहरु राक्षस अनि ठुला चै
भगवान् हुन्छन् हो आमा?

गांउमा जे नराम्रो हुंदा पनि
किन गांउलेहरु हाम्रै घरतिर हेरेर थुक्छन?
भुन्टेको गाई मरेको दिन
तपाइँ सांच्चिकै त्यै बाटो हिडेको हो त आमा,
नत्र किन तपाईले गर्दा मरेको भनेर
तपाइलाई मान्छेको आची खुवाएको ?
मान्छेको आची कस्तो हुंदोरहेछ आमा?

स्कुलमा सर किन मलाई मतलब नै गर्दैनन्?
सरस्वती पुजाको दिन सुरुमै पुजा गर्छु भन्दा
किन हेडसरले सिन्कनोले सुम्ल्याउंछन?
मलाई हेडसर देख्नेबित्तिकै किन पिसाब आउँछ आमा?

हजुरबाले त्यतिधेरै पैसा लिएर
केके गरि भ्याएका हुन र आमा?
जस्लाई तिर्न नसकेर हरेक महिना
बा ले मालिकको थुकले नुहाउनु पर्छ
मैले पनि भोलिपर्सी त्यसै गरि
नुहाउनु पर्छ हो आमा?
अं सांच्चै
यदि मालिक मर्यो भने
मलाई मालिकको छोराले थुक्छ कि थुक्दैन ?

हाम्रो घरमा चै किन सबैजाना दुब्लो छन् आमा ?
हाम्रो देसको जनसंख्या भित्र
हामी तिनजाना बराबर एक जाना मात्रै लेख्या होला है !
हामी पनि मोटाउ न
मोटाउन के गर्नुपर्छ आमा?

यो संसारमा हाम्लाई किन कसैले मत्लब गर्दैनन
कसैको बिहेमा हामीलाई किन बोलाउंदैनन
म स्कुल गएको नगएको कसैलाई किन थाहा हुंदैन
किन आमा?
हामी मान्छे भएर जन्मेकै छैन हो?

किन आमा
हाम्रा बा बोल्न खोज्दा जैले नि अड्किने गर्छन्
किन तपाईं कैले बोल्नुहुन्न
तपाइँलाई बोल्न मन लाग्दैन हो?
आमा,
के म सधैंभरी यसैगरी बोलिरहन सक्छु होला?

हिजो राती
बा र तपाईं अंगालो मारेर किन रोएको आमा
मेरो हात दुख्ने गरेर समातेर
मलाई किन छातिमा टांसेको आमा?
आज दिउँसो भैसक्दा पनि
हामी किन नउठेको आमा?
के अब हामी
यसैगरी सुतिरहने हो?
या कोहि आउनेछ ब्युंताउन हामिलाई !!


बालुवा- रसिक राज 

साझको खाना सकेर ,पोति सके पछि भाँसाघर
गोवरको हरियो रङ सुकि नसक्दै
अगेनामा टेकाइएको छ अदानो
अदानो मुनि -सल्किरहेका छन्- सिमलका दाउराहरु
अदानो माथी- छ कालो फलामको कराई-
जसको टुटेको छ एक पट्टीको समाउने बिड।

कराईमा
आधा अँजुली बालुवा राखेर
आमा भुट्दै छिन् बदाम ।
अौलाले एक चिम्टि समाउदा थाह हुन्छ-
विस्तारै तातिदैछ बालुवा।

आमा भन्छिन-
यसरी बालुवा राखेर भुट्दा ,
बदाम – राम्रोसँग भुटिन्छ -जल्दैन र स्वादिलो पनि हुन्छ।

छेउमा काठको पिर्कामा बसेर,
म हेरीरहेछु यो सबै
हेर्दा हेर्दै लाग्छ –
म बाचेको दुनिया ठ्याक्कै कराई जस्तो
म आफू चै दुरुस्त बदाम जस्तो
जस्लाई भुटिरहेछन् ईश्वरका हातहरु
र ,मेरो जिन्दगी नजलिकनै स्वादिलो होस भनेर
आमा बनि दिएकीछिन् बालुवा ।


 आमाको पटुका – जीवन खत्री

यतिबेला म
स्मृतिको त्यही प्रेमिल काँखमा छु
जतिबेला लाग्थ्यो दुनियाकै सबसे प्रिय चिज
मेरी आमाको पटुका हो ।
घामलाई ब्यूँझाउने अलराम नबज्दै
ओछ्यानबाट बिनाअलराम ब्यूँझनुहुन्थ्यो, आमा
र कम्मरमा टमक्क बाँध्नुहुन्थ्यो सेतो पटुका
अनि पो सुरुहुन्थ्यो उहाँको दैनिकी ।
उहाँले नघुमाईदिए जाँतोको पृथ्वी
उहाँले नचलाईदिए ढिकीको जिन्दगी
उहाँले ननचाईदिए कोदालोको ताकत
खनेर चिटिक्क नबनाईदिए माटोको सौन्दर्य
चिसो अगेनाहरूले
खुब चुक्ली लगाउँथेँ भोकहरूलाई
घरको अनुहारभरि रिस पोतिन्थ्यो ।
साक्षी छ, आमाको पटुका
तर, घरका प्रत्येक भित्ता र भुईँहरूमा आमाले
अक्सर खुसी पोतीरहनु भयो ।
वनले उज्यालोको ऐेना हेर्न नपाउँदै
आमा पुगीसक्नुहुन्थ्यो वन
र हरियो घाँसजस्तो आफ्नै रहरको पाउला काट्नुहुन्थ्यो ।
घर फर्किनेबेला दुष्ट काँडाहरूलाई
चढाउनुहुन्थ्यो आफ्नै रगतको भोग
र बदलामा ऐँसलु, काफल पटुकाभरि ल्याउनुहुन्थ्यो ।
यता मेरो अनुहारमा खुसीको सुर्य उदाउँथ्यो ।
मलाई पो हेप्थ्यो, हेपाहा भोक
तर आमासँग त डराउँदै भाग्थ्यो डर छेरुवा ।
उहाँ मेला जानुहुँदा पाएको रोटीजस्तो जून
भुटेको मकै भटमासजस्ता घानका घान ताराहरू
सबै त्यही पटुकामा त अटाउँथ्यो ।
कति विशाल आकाश थियो,
आमाको पटुका ।
घरमा सुखको दियो बलिरहोस् भनेर
आमा बस्नुहुन्थ्यो तीजको व्रत
भर्नुहुन्थ्यो एकादशीको जात्रा
फर्कँदा पटुकाभरि हुन्थ्यो, जेरीको गुलियो मिठास ।
मेरो खुसीको बेलुन उसै उड्थ्यो
चङ्गा पो हावामा नाच्थ्यो,

लट्टाई त, पटुकाबाट मेरै हातमा बसाईँ सर्थ्यो नि ।
कहिलेकसो,
मेरै अनुहारमा आएर बास बस्थ्यो रातको अँध्यारो
त्यो बखत
आमा, आफ्नै मुटु च्यात्नुहुनुथ्यो कि
वा च्यात्नुहुन्थ्यो चरक्क पटुकाको एकछेउ ?
त्यो एकछेउ हतार हतार
पानसको सलेदो हुन्थ्यो र धप्प बल्थ्यो,
यता मेरो अनुहारमा उज्यालो पलाउँथ्यो ।
कति चकचके कालिदास थिएँ म
कहिले आफ्नै औँलाहरू छिनाउथेँ
र भत्काउथेँ आमाको खुसीको लय?
पटुकाको त्यो एकछेउले जोड्थ्यो औँला,
थामिन्थ्यो मुहान, रगतको ।
भरोसाको कति ठूलो अस्पताल थियो त्यो ।
म जान्दछु,
आमाले कहिल्यै भोकको गीत गाउनु भएन् ।
अनुहारमा उदासीको रङ पोखिन दिनुभएन ।
दुखको दमाह एकनाश बजेरपनि टाउकोमा
अभावको सारङ्गी हरेक पल रेटिएपनि छातीमा
मुस्कानको पछ्यौराले ढाकीरहनु भयो शिर ।
खासमा
सन्तोषका चल्लाहरूलाई के खुवाउनुहुन्थ्यो आमा?
ती आमासँगै रतिन्थे ।
म जान्दिन्,
सबैभन्दा धेरै त आमाको पटुकालाई थाहा छ ।
आँशुको समुन्द्र त आमासँगपनि थियो
एकान्तको काँखमा बसेर खुब बगाउनुहुन्थ्यो,
मेरा त हातपनि साना थिए
पुछिदिने उही पटुका त थियो ।
दु:खको पहाड एक्लै उठाउनुहुन्थ्यो पिठ्यूँमा
र त्यसैमाथि आबेगका लातहरूको बज्र बर्सिन्थे
त्यो समय ढोकै अगाडि
कस्तरी बाटो बिराउँदै आउँथ्यो पीडा
र बगाउन खोज्थ्यो कम्मरको धर्म
आमाको पटुकाले त चिनाउँथ्यो बाटो ।
मलाई चिसोका चोरहरूले लखेट्थे
म आमाको पटुकामा सुरक्षित बेरिन्थेँ ।
मलाई समयको आगोले पोल्थ्यो
सितल त आमाकै पटुकामा थियो ।
मलाई आमा देविजस्तै लाग्थ्यो !

र आमाको पटुका मन्दिरजस्तै ।
मलाई बजारको बास्ना पर्थ्यो
त्यो, आमाको पटुकामा बसेर घरसम्म आईपुग्थ्यो ।
आमाको पटुका, कति विशाल थियो,
जसमा मेरो सिङ्गो बालखा संसार अटाउँथ्यो ।
समयको कठघरामा उभिएर
आज आफ्नै स्वार्थी अनुहार हेरीरहेछु ऐनामा
कि मलाई त फेरि बालक पो बन्नुपरेको छ,
र यति हेक्कापनि छैन कि
किनिदिउँ, आमालाई एउटा पटुका !


आमाको दिक्षान्तमा – प्रज्वल अधिकारी 

क – कराई कसौडी
ख – खरबारी
ग – गाई गोरु
घ – घर ब्यवहार

छ – छोराछोरी… पढेर जिन्दगीको पाठ
ज्ञ – ज्ञान हाँसिल गरेकी आमाको
दिक्षान्त समारोह सुरु भएको छ

समारोहमा आएका
सबैको हातमा फूलको गुच्छा छ
सबैका आँखामा विशाल समुद्र बिराजमान छ
भर्खर रोएर फुलिएको
बच्चाको घुक्क घुक्क छ मानिसको घाँटीमा

आमाको सम्मानमा
मर्स्याङ्दी गीत गाइरहेको छ
छालहरू ठोकिएर ढुङ्गामा सलामी दिईरहेछन
चराहरू पखेटा फट्फटाएर बजाउदैछन शोक धून

यतिबेला आमा चुपचाप छिन
आज ऋण तिर्ने सुरमा छ – दाउरा
जसलाई आमाले जिन्दगीभर बोकिन
उसले आज आमालाई बोकेको छ

आमालाई आज कुनै हतार छैन
डाँडामाथी घाम आउदा
घामै छोपुला झै हतारिने आमा
आज घाम उदाउनु र अस्ताउनुमा उदाशीन छिन

हरेक साँझ बिहान
आमाको फोक्सोबाट सास निस्केपछी
आफुले सास फेर्ने आगो
आज आमालाई सधैँको लागि
आफ्नो बनाउने सुरमा उभिएको छ

जिन्दगीभर दु:खका घुम्तीहरू पास गर्न
घुडा धसेर पढ्ने
सन्तान मुस्काउदा पास भएको महसुस गर्ने
घरब्यवहारको अँकगणित कर्मको सुत्रले मिलाउने
आमा
आज दिक्षित भएकी छिन
र म उनको दिक्षान्तमा उपस्थित भएको छु

यतीबेला सोचिरहेछु-
जसले
देशलाई देशजस्तो बनाउन आफ्नो वास्ता गरिनन
आफ्ना ओठका लालीको पर्वाह नगरी
पहाडका खोप्चामा गुराँस फुलाउन लागीपरिन
गाउको सौन्दर्य मर्न नदिन
कमेरो र रातो माटो लिपिररहिन
सँस्कृती जोगाउन आँगनमा तुलसी हुर्काइरहिन
सरकारलाई सरकार बनाउन
आफ्ना चक्रको बलिदान दिईरहिन
उनैको दिक्षान्त समारोह
सिंहदरबारलाई थाह होला कि नहोला ?


नागरिकता – राजु स्याङ्तान


सिड्यो साब !
म मनमाया नेपाली
मेरो नागरिकता बनाइदिनुपर्‍यो
दुवै कान देखिने पासपोर्ट साइजको फोटो
मुचुल्का, सर्जिमिन र सिफारिस
केही पनि छैन मसँग
छैन मसँग बाबुको नागरिकता पनि
तर म यही धर्तीमा
१९ वर्षअघि जन्मिएको सत्य हो

नपत्याए सोध्नुस् सर
त्यो एकान्त भीरको फेदीलाई
ती वनपाखा र खोलानालालाई
मेरी आमा प्रसव वेदनामा छट्पटाउँदा
साक्षी थिए उनीहरू

नपत्याए सोध्नुस् सर
रगतको टाटा बोकेका
ती निर्दयी चुच्चा ढुंगाहरूलाई
जसले मेरी आमालाई लखेट्दै लखेट्दै
पुर्‍याएका थिए त्यहाँसम्म

त्यतिले पनि प्रमाण नपुगे
सोध्नुस् सर !
त्यो ढलेको उत्तिसको बूढो रूखलाई
ती बाँसका जर्खरिएका झ्याङहरूलाई
ती सुकेका वनमाराका पोथ्राहरूलाई
जसका बुट्टा समाउँदैसमाउँदै
धेरै दिन छट्पटाएकी थिइन् मेरी आमा

अझै पत्याउनुभएन सर ?
सोध्नुस् मेरी मृत आमाको
एक जोर दूधका लाम्टालाई
रगत र आँसुको दहमा
डुबेको चिसो काखलाई
अझै विश्वास नलागे सोध्नुस् सर
त्यो एक्लो गोठालेको आत्मालाई
बाख्राको दूध पियाउने त्यो एकलास गोठलाई

त्यसपछि सोध्नुस् सर
भाँच्चिएको गोठको चुकुललाई
र त्यो गोठालेको आँसुको थोपालाई
त्यसपछि सोध्नुहोला
सहरका अग्ला घरका झ्यालहरूलाई
आँसुले माझेका ती कचौरा र थालहरूलाई
हरेक दिन चित्कार निलेर बज्ने
डिस्कोका धुनहरूलाई
त्यसपछि सोध्नुहोला सर
बन्द कोठामा एकपछि अर्को गर्दै आउने
ती राक्षसी घोप्टे जुँगाहरूलाई

सर
यीबाहेक छैनन् मसँग
म जन्मेको प्रमाण
म यही धर्तीको एउटा अक्करे भीरमा
१९ वर्षअघि जन्मिएको सत्य हो
ठोस सत्य !

म नागरिक भएको दिन
जीवनमा पहिलो पटक
नाच्नेछु आफ्नै लागि
जीवनमा पहिलो पटक
गाउनेछु आफ्नै लागि
अनि जानेछु खोज्न
मेरी आमाको हाडखोर
र दिलाउनेछु मेरी आमाको
अनागरिक कंकाललाई
पहिलो दर्जाको नागरिकता

मेरो अस्तित्वमाथि
हजार प्रश्न गर्नु भो
अब तपाईंलाई
मात्र एउटा प्रश्न गर्छु, सिड्यो साब !
‘म नागरिक भएपछि
मेरी आमा जस्तै
के म बलात्कृत हुनुपर्ने छैन ?’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata