जसराज किराँती साहित्य पुरस्कार कवि वीरूलाई

शनिबार, चैत्र २४, २०७४



काठमाडौँ । भारतको सिक्किम निवासी नेपालीभाषी कवि वीरु बाङ्देल काठमाडौँमा ‘जसराज किराती साहित्य पुरस्कार–२०७४’ बाट पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त पुरस्कार बाङ्देललाई प्रदान गरेका हुन् । पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।

बेलायतमा बस्ने साहित्यकार रक्ष राई लगायतको सक्रियतामा जीवित कवि जसराज किराँतीको नाममा स्थापित सो पुरस्कार साहित्यको जीवन्तता, स्रष्टाको क्रियाशीलता र लामो समय साधना गर्दै आइरहेका लेखकलाई दिँइदै आएको पुरस्कार हो । उक्त पुरस्कारबाट यसअघि कवि मनु मन्जिल र श्रवण मुकारुङ पुरस्कृत भइसकेका छन् ।

प्रमुख अतिथि बैरागी काइँलाले जसराजजस्ता अब्बल कविको नामा स्थापित पुरस्कार वीरु बाङ्देलजस्तो सशक्त र प्रतिभाशाली कविलाई प्रदान गरिएकोमा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘भारतीय नेपाली कविताका क्षेत्रमा वीरु प्रतिनिधि नाम हुन् । उनलाई यो पुरस्कार प्रदान गरिनु आफैँमा सुन्दर पक्ष हो ।’

कवि जसराज किरातीमाथि डा. बिष्णु राईले बोल्दै जसराजको व्यक्तित्व, कवित्व र राजनीतिक चरित्रबारे नबोलेर एक कोणबाट मात्र बोल्दा अन्याय हुने धारणा राखे । उनले सरल र चोटिला कविता लेख्ने कवि जसराज परिवर्तनकारी विचार राख्ने बताए ।

यस्तै पुरस्कृत कविमाथि बोल्न उभिएका कवि श्रवण मुकारुङले वीरुका कवितामा बोल्न गाह्रो रहेको बताउँदै श्रोता–दर्शकमाझ कविको संक्षिप्त परिचय राखेका थिए । ‘वीरुको बहुआयामिक व्यक्तित्व छ’ मुकारुङले भने– ‘नेपाल यस्ता धेरै पुरस्कारहरु छन्, जो रक्सी खाँदा उब्रेको पैसा र कालो धन सेतो बनाउनका लागि पनि पुरस्कार स्थापना भएका छन् । तर जसराज किराती पुरस्कार ती सबैभन्दा योग्य र उच्च छ । त्यसैले पुरस्कृत हुने कवि र संस्था दुवै धन्य भएका छन् ।’

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank