कविता -परदेशीएको मान्छे

मङ्लबार, बैशाख ३०, २०७७



तिमी,

तिम्रो जीवन चलाउन
घर,परिवारको आवश्यकता
पुरा गर्दै दुई चार पैसा जोगाउन
स्वदेशमा रोजगारी नपाएर
सीप र सृजना नभेटेर
बिदेसिएको परदेशी मान्छे
————————–

तिमी,
सयौँको पटक भोकाएर
अधिकांश एक छाक खाएर
सिपको खोट लागेर
पटक पटक कामबाट निकालिएर
अपमान र गालीको
हिसाब नराखी परिवारका लागि
विदेशी भूमिमा स्वदेश सम्झेर
जिएको परदेशी मान्छे
—————————-

तिमी,
रोजी र रोटीको लागि
भोक मारेर मरुभूमि चहारेको,
गाँस छोडेर भेडा गोड साटेको,
दरवान्देखि हवलदार बनेको,
इमानले मजदुरी जोडेको
मालिकको बेइमानीमा
दशौँ पटक ज्यालै छोडेको,
जिउनको लागि परदेशीएको मान्छे
——————————–

तिमी,
परदेशीएर पनि
नेपालको नामसँग भाव जोडिएको,
सीमा र सुरक्षामा आँत लपेटिएको
वीरताको कथा सुन्दै,सुनाउँदै
चुनौतीको सामना गर्ने
वीर नेपाली कहलिएको मान्छे
अहिले जिउने सिलसिलामा
घर छोडेर र परदेशीएको मान्छे
———————————–

तिमी,
सुस्तामा जङ्गे पिलर हराउँदा कुदेको
मर्चवारमा बाढीले बगाउँदा भिडेको
चाँदनी र दोधाराको भूमि हराउँदा
कालापानी र लिपुलेकका बारेमा
धेरैलाई बुझाउँदै दौडधुप गर्न सक्ने,
सीमा र सुरक्षाको विषयमा कुद्न सक्ने मान्छे
लिपुलेक लुटिँदै गर्दा पनि तिमी परदेशतिरै छौ
———————————–

आज तिमीलाई खोजिरहेका जनमानसले
तिमीलाई सम्झँदै सोध्दै छन्
सायद,
तिम्रो जिउने बाध्यताले
भूमिप्रतिको स्वाभिमान र आत्मसम्मानको विषयमा
अब तिमी बोल्न,लेख्न नै नसक्ने भयौ कि ?
तिम्रो जीविकाको गुलामीले
तिमीलाई सित्याँइ किनि पो दिएकी !
सत्ता र शक्तिको पोस लागेर हो कि ?
आफ्नै भूमि हराउँदा पनि
किन तिमी चुपचाप छौ ?
ए, परदेशीएको मान्छे
——————————-
ए परदेशीएको मान्छे
तिमीले एक पटक सोध,
हिजो मिचिए एक सयकडौं हेक्टर
जमिनको विषयमा बोल
यहाँ तिम्रो पुर्खाको खुकुरीको डोब
तिम्रा सन्ततिलाई सम्झाउन
रगत र बुढी औँठाको निशानी देखाउन
परापूर्वको भावनात्मक सम्बन्ध ब्युँझाउने
अनेकौँ सम्झनाहरू अझै ताझै छन्

त्यसैले
भुत्ते खुकुरी साँध लाउँदै
काँगडा र निष्ठा सम्झेर
कालापानी र लिपुलेकको बाटोका
बनमाराका झाडी फाँड्न हिँड्नु छ
देउथल र भक्ति थापा सम्झेर
बलभद्र र अमरसिंहको युद्ध कौशल
पुन : प्रयोग गर्नु पर्ने दिन आएछ
आफ्नै साँध सिमाना जोगाउँदै
पुन : सीमाको सुरक्षामा लाग्न
तिमीहरू जस्ताको अति आवश्यकता छ
ए,परदेशीएको मान्छे
यहाँ पनि तिमीहरू जस्ता परदेशीहरूको
सीप र सृजनाको खाँचो छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments