रातो इतिहास (कविता)

शनिबार, फाल्गुन १९, २०७४

- -नहकुल जाेशी बाजुरा



केही दिन देखि इतिहासका पाना
पल्टाउदै गरेको मेरो छोराले
एक दिन प्रश्न गर्यो

बाबा, हाम्रो इतिहास यति रातो किन ?
म केही बेर अलमलिएर प्रतिप्रश्न गरे
कति रातो छ ?

हरेक पाना पानामा रगत लत्पतिएको छ बाबा
उसको मलिन अनुहारका राता अक्षर निहाल्न
मैले शिर घुमाए, उसका राता अक्षरमा
जवाफ खोजे मेरो मानसपटलमा

र भने,

तिम्रो इतिहास रातो देखिनुमा
पृथ्वीनारायणको तरवार,
जंगबहादुरको बन्दुक,
दर्जनौं राता पर्व,

कोत घरका पटाङ्गिनी,
सिमा क्षेत्रमा उभिएका मधुरा स्तम्भ,
सिमा रेखामा लडेका भक्ति, बलभद्र, अमरसिंह,
दरबारमा काटिने भारदार,

सात, छयालिस, बाउन्न र बैसठ्ठीका राता टाटाले
यो रातो देख्यौ होला बाबू ।

उसले आफ्नो रातो इतिहासका पाना बन्द गर्दै
म संग गर्जिन थाल्यो

बाबा किन यो इतिहासले बुद्धतब भेटाएन,
किन यो सनातन भएन,
किन यो स्वर्ण अक्षरले लेखिएन ?

यी पश्नको जवाफ त म संग पनि थिएन

जे मेरो छोराले पढदैछ मैले पनि त्यहि पढे
अब मेरा सयौं पुस्ताले यहि पढ्ने छन

र आफ्ना बाबा संग प्रश्न गर्नेछन
हाम्रो इतिहास यति रातो किन बाबा ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata