कविता-कोरोना

बुधबार, बैशाख ३, २०७७

- सीता ओझा



कोरोना,

चीनको वुहानमा जन्मेको
बेवारिसे हुँदै कोभिड – १९ को
नामकरणमा परेको
हरेक मानिसको स्पर्शमा
रमाउँदै रमाउँदै
सय करोडौँमा सङ्क्रमित हुँदै
श्वास प्रश्वास नै रोकिदिने
एक अर्को सँग सर्दै विश्व
भ्रमणमा दौडिएको
तिमी कस्तो विषाणु हौ ?

कोरोना,तिमीले त
बालबालिका,ज्येष्ठ,युवा र किशोर
कसैलाई पनि गनेनौँ
मातृत्व र पितृत्व पनि बुझेनौँ
कतिको घर परिवार भत्कायौ
सयौँलाई बेरोजगार बनायौ
हजारौँको छाक मार्याैं
लाखौँलाखलाई सङ्क्रमित गरायौ

कोरोना,तिमीले त
धनी र गरिब कसैलाई छोडेनौँ
उच्च र नीच पनि मानेनौँ
शक्ति राष्ट्रको अहँ मलाई पनि गनेनौँ
अमेरिका,युरोप ,अस्ट्रेलिया हुँदै
विश्वभर तिम्रै नाम र कामको
गुणगानले सयौँलाई अत्यायौं
हजारौँ,हजारलाई त्रर्सायौ,ढलायौ
लाखौँलाख मृत्युशय्यामा सडायौँ

कोरोना तिमी
मानव निर्मित हौ कि प्राकृतिक ?
लाखौँलाख अनुसन्धान कर्ता
वैज्ञानिक र मै हुँ भन्ने मानव जाती
शस्त्र र अस्त्रको प्रतिस्पर्धामा
अणु र परमाणुको फुइँ लाउने दुनियाँलाई
एक्कासि चित्त खुवाएर
तिमी मानव खोजी खोजी
पाहुना झैँ घरैभित्र छिरेर
परिवारका सबै सदस्यहरूलाई
अङ्कमाल र चुम्बन गर्दै
पियार देखाएर टाँसिएका छौ
कोरोना तिमी
कुन जातीका हौ ?
अझै तिम्रो जिनको पत्तो छैन
औँसीमा जन्मियौ कि पूर्णेमा
ज्योतिषी र वैध दुवैले
कुण्डली बनाउन खोज्दै छन्
तर
तिमी जन्मेको समयको अत्तोपत्तो नै छैन
हैन, तिमीलाई तिम्रो बारेमा पनि चिन्ता छैन र ?
तिमी कस्तो ? अलिकति पनि सुरक्षाको डर छैन
घरबार बिग्रेला भन्ने चिन्ता नभएको
यस्तो अत्याचार गर्दा पनि
छुच्चोमा परिएला कि भन्ने हेक्का नभएको
एक पटक भन त
तिमी कुन गुटमा पर्छौ र यति
जब्बर र निर्मम भएको

कोरोना,
तिमीलाई केही भन्नु छ
प्रकृति र पर्यावरण जोगाएकोमा,
कोलाहल र भिड हटाएकोमा
मानिसको अहम् र स्वार्थ तोडेकोमा
चराचर जीवको वासस्थान जोगाएकोमा
पृथ्वीमा मानवको वर्चस्वलाई चुनौती दिएकोमा
वातावरण स्वच्छ र सफा बनाएकोमा
तिमीलाई धन्यवाद है !

कोरोना
तिमी प्रति गुनासो पनि छ
तिमीले असहाय र अनाथको
पेट काट्यौँ,निहत्थाको बोली लुट्यौ
दैनिक ज्याला मजदुरीको भोटो खोस्यौँ
भोक मेट्नका लागि नागरिकता सहितको
परिचय,स्थान र सिफारिस खोज्यौँ,
अत्याउदै वासस्थान छोडायौँ र
बेजोडको आँधी जस्तै गरी
महामारी फैलाएर नरसंहार गरेकोमा

कोरोना
अब त तिम्रो पुरुषार्थले सीमा नाग्यो
त्यसैले त तिम्रो अन्त्य मानवलाई चाहिएको छ
बोलेर,खोजेर,अध्ययन र अनुसन्धान
जे जसरी भए पनि ,
हामी तिम्रो मृत्युदण्डको तयारीमा छौ
सदा सदा अन्त्यको खोजमा लागेका छौ
तिम्रो ज्यादती विरुद्ध
विज्ञान र आयुर्वेदको खोजले
तिमीले सक्न चाहेको मानवलाई बचाउन
तिमीलाई निर्मूल पारेर
अब हामी प्रकृतिसँग
हाँस्न र हातेमालोमा बाच्न चाहन्छौ ।
बाच्न चाहन्छौ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments