कविता-खाली अनुहार

सोमवार, अशोज २७, २०७६

- राकेश कार्की(लस एन्जेलस)



कति मानिसहरु

खाली अनुहार लिएर हिँडीरहे
कहीँ सुनसानमा
कोही कतै कतै
एक्लै एक्लै हिँडिरहे
कहीँ थुप्रै थुप्रै
मानिसहरुको जमात
अनि त्यही भिँडमा
कोही ठूला मान्छेहरु हिँडीरहे
कोही साना मान्छेहरु हिँडीरहे
तर सबै खाली अनुहार लिएर

आखिर जिन्दगी हो
भविष्यको अत्तोपत्तो नभएको
त्यही पनि मानिस
धेरै धेरै आशा बोकेर
सोचेर सोधेर आफैले आफैलाई
दिमागले दिमागलाई नै
धेरै धेरै प्रश्नहरूमा रूमलाइदिएर
यत्रतत्र जताततै
खाली अनुहार लिएर हिँडीरहे

मानिसको स्वभाव हो
सकेजति कमाइरहने
भेटेजति कुम्लाइरहने
खानेठाउमा भए खाइरहने
जान पाए गइरहने
त्यै पनि किन हो किन
मनमा शान्ति छ कि छैन
हाँसे जस्तो गरे पनि
सम्झनामा डुबिरहने
चित्त कहिले पनि नबुझ्ने
दुब्ला मोटा आकारका
अग्ला होचा प्रकारका
तिनै मानिसहरू
खाली अनुहार लिएर हिँडीरहे

कोही देशमै हिँडिरहे
कोही बिदेशमै हिँडिरहे
आँखामा सपनाहरू खोज्न
मुटुमा मायाहरु सँगाल्न
पसिना रगत बेचेर
मन फुटे आँशु छर्केर
थरि थरिका मानिसहरु
विभिन्न प्रयोजनको लागि
खाली अनुहार लिएर हिँडिरहे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata