उदासी समाजवाद !

सोमवार, बैशाख ९, २०७६

- दयाल बहादुर शाही



महान् लेनिनले भन्नु भयो

महिलाहरूलाई
दासी बनाउने सुनलाई
समाजवादमा चर्पीमा प्रयोग गरिने छ,
किनभने यसमा खिया लाग्दैन ।
तर राम्रै लक्ष्य र उद्देश्य भए पनि
जनताको मातहतमा रहनु पर्नेमा
ती महामानवका उत्तराधिकारीहरू
जानी वा नजानी
अधिनायकवादका प्रतीक बने।
सर्वशक्तिमान जनताभन्दा
माथि माथि बसे।

जनताको दिलमा
बस्न नसक्ने राजनीतिक शक्ति
भिरको डिलमा नपुगेको
उदाहरण कहीँ छैन ।
सही लक्ष्य, लय र गति नरहेपछि
आखिर
लेनिनको भूमिबाटै
कम्युनिष्टहरू बढारिए ।

 

जो जति उचाइमा छ
उसले त्यति नै टाढासम्म देख्छ
सगरमाथाको देशबाट
टाढा हेर्दै र लामो सोच्दै
जननेता मदन भण्डारीले
बिगतका गल्तीहरूको दही मथनी गरी
मार्क्सवाद र संसदवादलाइ जोड्नु भयो ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई
दिलैदेखि अंगाल्नु भयो ।
कम्युनिष्ट पार्टी र
यसका नेता कार्यकर्ताहरू
जनताको परीक्षणको विषय बन्नु पर्ने
सही लिकमा उभ्याउनु भयो ।
फलतः बरू महान् लेनिनका
इतिहास बोकेका ति नढल्नु पर्ने
शालिकहरू उखेलिए

तर नेपालका कम्युनिष्टहरूले
मदनको मार्गदर्शनलाई मान्दै
जनताको अनुकम्पामा रहन जानेकोले
दासढुंगा जस्तो
अनकन्टार ठाउँमा रहेको
जननेताको शालिक
जनताकै सुरक्षा घेराभित्र
सुरक्षित रहेको छ ।
यतिमात्र कहाँ हो र ?
संसदीय प्रणालीको अवलम्वन
साम्राज्यवादी शोषणको बिरोध
सामन्तवादको अन्त्य
राष्ट्रिय पूँजीको निर्माण र
देशभक्ति र स्वाभिमानको मेरूदण्ड
जवजको यो पाँचखम्बे नीति
अब नेपाली समाजको
जीवनशैली बनेको छ।

 

विचारको यो श्रृखला अब
नेपाली जातिको चेतनाको
एक महत्वपूर्ण पाटो बनेको छ ।
बिगतमा कांग्रेस घोडा चढ्थ्यो
वामपन्थीहरू कसिंगरझै
टाँसिन्थे पुछारमा
नाकाबन्दीमा कांग्रेसले लय गुमायो
जनताको अगुवाइको भूतपूर्व मसिहा
नाङ्गो हस्तक्षेपको बेला
युवापुस्तालाइ लाज लाग्ने गरी
जागेका जनता चिढिने गरी
अरूलाइ नै खुशी पार्न
घोर कुम्भकर्ण निद्रामा निदायो ।
जनदण्ड निर्मम हुन्छ
घोडा चढ्ने कांग्रस आज
भुइमा उत्रिएको छ ।
रूनु पर्ने त यहाँ विपक्षीले हो
तर यहाँ नेकपाभित्रै काइझै जमेर रहेको
रून्चेरोग लागेको
उदासी समाजवादले
नैराश्यता पस्किनमा
एकाधिकार जमाएको छ।

 

अच्चमको छ यो
सिधै पद पुगेन भन्दैन
कमजोर तर्कको खेती गर्छ
पाँच दशकअघि चुडिएका मनहरू जोड्दै
फुटेको नेकपा जुटेकोमा हर्ष छैन उसलाई
पार्टी सकियोको धुनमा
बेसुरको बाँसुरी बजाउँछ निरन्तर ।
पार्टी फुकेकोमा सन्तोष छैन उसलाई
गुट सुकेकोमा विस्मात छ!

 

धरापबाट देश बचाएकोमा
ओलीलाई धन्यवाद भन्न गाह्रो पर्छ उसलाई
किनकी यसले गर्दा उसको
महत्वाकांक्षाको व्यापार धरापमा पर्छ
र गुटबन्दीको खेतीपाती सुक्छ ।
सानो परिवारमा बाक्लो दाल खान पल्केको उसलाई
संयुक्त परिवारमा उकुसमुकुस भएको छ
दालमा पानी थपिएको रूचेको छैन उसलाई
घरिना फेरिए यता गुटको अगेनोमा
अतिरिक्त रोटी सेक्न अबरोध आयो रे ।

जसकी आमा घरिना उसैका पोक्चे गालाको
खतरा सदाको लागि टर्यो रे ।
कम्युनिष्ट भन्न लाज लाग्यो रे उसलाई ।
आफु जस्तै सहकर्मीको शरीरबाट
दलाल पूूँजीवाद गनायो रे ।
आफु बहुमतमा रहे पार्टीको निर्णय रे
आफु अल्पमतमा परेपछि
गुटको कब्जामा पार्टी गएको लाग्छ उसलाई ।

बुढो साँढले एक साँढ मै थिएँ,
भेडीपाठो पनि तीन वर्षको भैहालेछ भनेझै
नयाँ पुस्ताको हस्तक्षेप र आँटलाई
रतिभर पनि स्विकार गर्नु छैन उसलाई ।
अरूको पनि सोच्न सक्ने मस्तिष्क छ
अरूले पनि तर्क गर्न सक्छन्

यस्ता सार्वभौम सत्यलाइ कुल्चनमा
डोजरझै पप्पिस बन्नु छ उसलाई।
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि
यो सत्य स्वीकार गर्नु छैन उसलाई।
आफू नरहे धरती शुन्य हुने
दम्भ देखाउने रहर छ उसलाई
कमलको फूल टिप्नलाइ
हिलोमा पस्नै पर्ने
सुझबुझसँग उसको कुनै साइनो छैन ।
शिकारूहरूले सीमा कुल्चिए पनि

नियत बांगो नभएकाहरूले
गल्ती सच्याउन समय नलगाउने सत्यलाई
उसले मरिगए नमान्ने कसम खाएको छ ।
एउटा खुट्टो दरिलो गरी नटेकी
हतारमा अर्को पाइला चाल्ने गल्ती नगर्ने
राजनीतिक परिपक्ववताको भाषा सिक्न
उदासी समाजवादले झिँजो मान्छ ।
किनकी उसलाइ भ्रम छ

यो संसारमा उ जति जान्ने कोही छैन ।
किनकी हरेक कुरामा जति पनि बहश गर्नमा
तम्तयार रहने उसले कुलत बोकेको छ ।
उसले त सिर्फ दुइ कुरा मात्र जानेको छ,
पहिलो उसले हाँस्दैहाँस्दै मलामी जान जानेको छ
दोस्राे उसले रूदैरूदै जन्ती जान जानेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata