मलाई बमले पड्कीएर मर्ने मनछैन भगवान् !

शनिबार, फाल्गुन १९, २०७४

- शिवहरी दाहाल



sieriya

 

 

 
दैव १ मलाई कुन ठाउँमा जन्म दियौ ?

जहाँ मलाई मानवको रुपमा जन्मने अवसर दिएकोमा

तिमीलाई धन्यवाद दिनै नपाई मर्छुहोला म !

दैव १ मलाई कुन दिनमा जन्म दियौ ?

जहाँ मैले मलाई जन्म दिने मेरी आमा र बुवालाई पनि

राम्रोसँग चिन्नै नपाई,

आफ्नै आँखाको सामु उहाँहरुलाई गुमाउनु पुगेँ !

तिमीलाई थाहा छ भगवान्,

हिजै रातिमात्र मैले मेरो बुवालाई पहिलो पल्ट

“बुवा” भनेर बोलाएकी थिएँ ।

मेरो बुवा यति खुसी हुनुभएको थियो,

मेरो बुवा यति रमाउनुभएको थियो !

शायद मेरो बुवाको त्यो खुसी,

म हजारौँ सगरमाथाहरु उक्लीँदा पनि पाउँदिन होला !

तिमीलाई थाहा छ भगवान्,

मैले मेरी आमाको दुध छोडेर हिजैदेखि मात्र

मेरी आमाको आफ्नै हातले बनाएको

सर्वोत्तम पीठोको लिटो खाना थालेकी थिएँ !

मेरी आमाको हातको स्वाद र त्यो लिटोको मीठासपन,

म यस्ता सयौँ जन्म लिएपनि, बिर्सन सक्दिन होला !

मैले म जन्मिएदेखि कहिल्यै

यो आकास निलो देखेकी छैन ।

मैले राम्रोसँग त्यो जुन, तारा र घामलाई पनि चिनेको छैन ।

मैले त मेरो आकासमा काला बादल मडारीएको

र आगोका लप्काहरु उडेर माथिमाथि पुगेको देखेको छु ।

सुनेको छु जुन, ताराहरू र घाम एकदमै राम्रा हुन्छन् रे !

तर, तिनीहरुलाई पनि राम्रोसँग चिन्नै नपाई मर्छुहोला म !

शायद तिनीहरुलाई पनि देख्नै नपाई मर्छुहोला म !

मैले मेरो आकासमा कहिल्यै पनि

पंक्षिहरु लुकामारी गर्दै उडेको देखेको छैन ।

बरु ठूलाठूला काला जहाजहरुले ठूलो आवाज निकालेर

यताउता उडिरहेको देखेको छु ।

कसैले साह्रोगरी थपडी बजाउँदा त

चर्किने मेरा यी कानहरूले,

पृथ्वी नै कम्पन हुनेगरी पड्काईएका

बम र मिसाईलका आवाज सुनेका छन् ।

तिमीलाई थाहा छ भगवान्,

आज बिहानको मिसाईलले मेरो बुवा र आमालाई मात्रै लगेन,

मेरो शिर लुकाउने एउटा घर पनि

छियाछिया बनाईदियो ।

मैले मेरो भन्ने त्यै एउटा घर पनि ध्वस्त बनाइदयो ।

अब म कहाँ बसौँ भगवान्, कहाँ लुकौँ म ?

मलाई बमले पड्कीएर मर्ने मनछैन भगवान् !

मलाई मिसाईलमा उडेर मर्ने मनछैन भगवान् !

तिमीलाइ त थाहा छ नि !

मेरा यि कलिला वदनलाई छियाछिया बनाउँछन् तिनले,

यदि लैजाने नै हो भनेँ,

आउ र सुटुक्क लैजाउ मलाई !

यहाँ कसैले चाल नपाउने गरी लैजाउ मलाई !

म त्यहाँ आएर, साँचोसाँचो बताउँला तिमीलाई,

म जस्ता हजारौँलाई मार्नेहरुलाई,

म जस्ता हजारौँलाई बिचल्लीमा पार्नेहरुलाई,

के सजाय दिनु भनेर !!

482 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank