कविता- महोदय ज्यू अब कहिले हो त मुन्टो हल्लाउने

आइतवार, बैशाख २८, २०७७

- राकेश कार्की-लस एन्जेलस



 

ललिपप देखाउने
कहिले फकाउने कहिले फुल्याउने
महोदय ज्यू
अब कहिले हो त मुन्टो हल्लाउने
कहिले छुमन्तरले
छेउकै टेबुल कुर्सी बिलाउने
कहिले समानान्तर बस्नेले
दुरूस्त आफू जस्तै हात गोडा चलाउने
कोरोनाको महामारीमा
लामै कानेखुसी गरेर भुल्याउने
महोदय ज्यू
अब कहिले हो त मुन्टो हल्लाउने
अति द्रुत बाटोबाट
कोहीलाई कल्पनाको टुप्पामा पुर्याउने
तुरून्तै जमीनमा पछारेर
अर्कोलाई आफ्नै पक्षमा सुर्याउने
दिन्छुझैँ गरि चखाउने
कहिले जुधाउने कहिले उल्याउने
महोदय ज्यू
अब कहिले हो त मुन्टो हल्लाउने
नमान्ने आफै चाउरिने
झुके, पछी लागिराख्ने गराउने

अगुवा नै चिप्लेपछी
कराउने सबै चुपचाप हराउने
आधी बितिसक्यो
अब आधी त यसैगरी झुल्याउने
महोदय ज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments