प्रधानमन्त्री ओली अस्पतालबाट सिधै बालुवाटार फर्किए

बिहिबार, कार्तिक १४, २०७६



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । हिजो(बुधबार)देखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली आज(बिहीबार) साँझ ८ बजे डिस्चार्ज भएका हुन् । बुधबार र बिहीबार गरेर दुई पटक मिर्गौलाको डायलाइसिस गराएका ओलीले अस्पतालबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएकाे बताएका हुन् ।

प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार पुगेका हुन् । यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका थिए ।

प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन डायलाइसिस गर्नु परेकाे उनले जानकारी दिएका थिए । बुधबार र बिहीबार गरेर दुई पटक डायलासिसअन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गरेर उपचार गरिएकाे अस्पताल स्रोतले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीलगायतको टोलीले उपचार गरेकाे हाे ।

बिहीबार दिनभर प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री तथा नेताहरु अस्पताल पुगेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata